ओभरटेक गर्ने क्रममा पाल्पामा मोटरसाइकल दुर्घटना, २ घाइते
पाल्पा ।
पाल्पाको डुम्रेमा मोटरसाइकलले टिप्परलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा रामपुर नगरपालिका–१, हाँगेपीपल बस्ने १८ बर्षका प्रविन उचई र सोही स्थानका २२ वर्षका नारायण उचई ठकुरी रहेका छन् ।
मोटरसाइकल पछि बस्ने नारायणको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मङ्गलबार बेलुकी पौने ७ बजेतिर सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पातर्फ आइरहेको लु ३१ प ६५०७ नम्बरको मोटरसाइकल तानसेन–८, डुम्रेमा सोही दिशातर्फ आइरहेको लु २ ख ४६३१ नम्बरको टिप्परलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते दुबैजनाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिनुभयो ।