अपाङ्गता महिलालाई शिक्षा, रोजगारदेखि सामाजिक सुरक्षाकै चिन्ता
बुटवल ।
अपाङ्गता महिला तथा बालबालिकालाई शिक्षा, रोजगार, प्रजजन तथा पारिवारिक र सामाजिक सुरक्षाकै बढी चिन्ता रहेको सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
एक्सेस प्लानेटले रुपन्देहीमा आयोजना गरेको अपांगता भएका महिला तथा बालबालिकाहरुका सवाल विषय कार्यक्रममा सहभागीले पीडामा परेका महिलाहरु बोल्नसमेत डराउने भएकाले न्यायमा पहुँच बढाउन आवश्यक रहेको बताए । अपांगता भएका र त्यसमा पनि महिला तथा बालबालिकाहरु धेरै आफ्ना अधिकारबाट बन्चित भएकाले लुम्बिनी प्रदेशमा त्यसको आधिकारिक तथ्यांक निकालेर उनीहरुका विशेष सुविधा र संरक्षणका विषयमा काम अघि बढाउन संस्थालाई सहभागीले सुझाएका छन् ।
एक्सेस प्लानेटका कार्यकारी निर्देशक लक्ष्मी नेपालले प्रदेशभरमा यसको तथ्यांक निकालेर उनीहरुको अधिकार प्रत्यायोजनका लागि वातावरण बनाउने बताइन् । उनले अपांगता भएका ब्यक्तिमाथि सकारात्मक दृष्टिकोणको खाँचो रहेको बताउँदै अपांगताको परिभाषा र तथ्यांकका विषयमा समाजलाई सचेत पार्नुपर्ने जनाइन् । नेपालमा अपांगता भएका व्यक्तिका लागि सीप अवरोध भएकोले वास्तविक समस्या पहिचान गर्ने उनको भनाइ छ । नेपालमा अपांगतालाई १० प्रकारमा बिभाजन गरेको भएपनि राज्यबाट पाउनुपर्ने कतिपय सेवा सुविधा र अधिकारबाट बञ्चित हुनुपरेको, बौद्धिक अपांगता ,अपांगता भएका महिला वालवालिकाहरुको सवालमा सञ्चारमाध्यमले अझैबढी आवाज उठाउन आवश्यक रहेको, सञ्चार माध्यमले अपांगता सम्बन्धी मर्यादित शब्दहरुको प्रयोग गर्नुपर्ने, दयामुखी अवधारणा भन्दा अधिकारका बिषयमा बृहत जानकारी दिने काममा साथ दिन उनको आग्रह थियो ।
कार्यक्रममा सहभागीले प्रदेशमा अपांगता समस्या के छ ? अपांगता भएका ब्यक्ती कति छन् ? भनेर तथ्यांक संकलन गरेर अगाडि बढ्न सुझाव दिएका थिए ।
त्यस्तै संचारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले अपांगता भएका ब्यक्तिका प्रजनन स्वास्थ्य र पारिवारिक सुरक्षाका बिषयमा ध्यान नगएकोले यो बिषय उठानमा आगामी दिनमा सुधार गर्नुपर्ने सुझाव दिइन् ।
कार्यक्रममा एक्सेस प्लानेटका फाईनान्स अफिसर सन्जु श्रेस्ठ, एशिया फाउन्डेसनका रघुनाथ राना, पत्रकार उषा किरण पन्थ, अस्मिना पाण्डेलगायतले अपांगता भएका नागरिकको अधिकार प्रत्याभूतका लागि सबै क्षेत्रको सहयोगको साथ आवश्यक रहेको बताएका थिए ।
नेपालको जनगणना २०७८ का अनुसार २ दशमलब २ प्रतिशत जनसंख्यामा अपांगता रहेको जसमध्ये ४५ दशमलब ८ महिला र ५४ दशमलब २ प्रतिशत पुरुषको संख्या छ । विश्व स्वास्थ्य संगठनको प्रक्षेपण अनुसार विश्वमा १६ प्रतिशत गम्भिर अपांगता भएका व्यक्तिहरु छन् । नेपालमा करिब १० प्रतिशत व्यक्तिमा अपांगता रहेको आकलन गरिएको छ। अपाङ्गता भएका पुरुषभन्दा महिलामा शिक्षा, रोजगार, प्रजजन तथा पारिवारिक र सामाजिक सुरक्षाकै बढी समस्या रहेकोले यसमा ध्यान सहभागीले सुझाएका थिए ।