समुदायमा शान्ति स्थापनार्थ सबैको सहकार्य आबश्यक- प्रहरी निरीक्षक नेपाली
पाल्पा ।
इलाका प्रहरी कार्यालय रामपुरमा सरुवा भई आउनुभएका प्रहरी प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपालीले समुदायमा शान्ति सुरक्षा अमनचयन दिन आफु प्रतिवद्ध भएर लाग्ने बताउनु भएको छ ।
यही हप्ता सरुवा भएर आउनुभएका नेपालीले सरोकारवाला संग परिचयात्मक छ्लफल तथा सुझाव संकलनका लागि राखिएको कार्यक्रममा समाजमा शान्ति स्थापनार्थ प्रहरी हरेक क्षण खटिने बताउदै सबैको साथ र सहयोगले नै सेवा चुस्त हुने बताउनुभयो ।

रामपुर क्षेत्र भौगोलिक अबस्थाले सुन्दर उपत्यका र धेरै जिल्लाको संगम चुनौती पनि रहेको उल्लेख गर्दै मिलेको समाजलाई अझ राम्रो गराउन आफू आएको र सदैब लाग्ने र सहयोग सहकार्यको अभिलाषा लिएको बताउनुभयो ।
“म काम गर्न आएको हुँ । कुनै घटना भएमा तत्काल उपस्थित हुन तयार छु” जुनसुकै समयमा पनि फोनबाट जानकारी दिन सक्नुहुन्छ उहाँले भन्नुभयो-यहाँहरुको पूर्ण साथ र सहयोग लिएर काम गर्नेछु।” प्रहरी निरीक्षक नेपालीले कसैको प्रभाव र दवाबमा नपरी कानुन अनुसार अघि बढ्ने उल्लेख गर्नुभयो।
घटना घटेर उद्दार र उपचारमा लाग्नुभन्दा घटना र अबस्था सिर्जना हुनै नदिन जनचेतनामुलक कार्यक्रमलाई जोड दिने उहाँले बताउनुभयो । रामपुरलाई अध्ययन गर्दा र बिगतको तथ्यांक हेर्दा आत्महत्या घटना बढ्दो देखिएकोले यस संगै लागुऔषध दुर्व्यसनी, ट्राफिक नियम लगायत अपराध नियन्त्रण र चाड पर्वको अवसरमा हुन सक्ने अपराधिक घटना न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम गर्ने बताउनुभयो । उहाँले ट्राफिक प्रहरी संग संयुक्त रुपमा चेकिङ्ग बढाउने, नगरमा स्थापना भएका प्रहरी पोष्टमा प्रहरीलाई ड्युटीमा खटाउने वातावरण मिलाउन प्रयत्न गर्ने बताउनुभयो ।
नागरिक र प्रहरीको नङ र मासुको सम्बन्ध रहेको बताउदै उहाँले सुचना दिन र सुचना लिन कन्जुस्याई नगर्न अनुरोध गर्नुभयो । उहाँले मुद्दा चल्ने गरि जनशक्ति बढाउने कुरामा आफुले निकायमा जानकारी गराउने बताउनुभयो । उहाँले आएका सकारात्मक सुझावलाई आत्मसात गर्दै, स्थानीय सरकार र सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

इलाका प्रहरी कार्यालय रामपुर परिसरमा भएको परिचयात्मक कार्यक्रममा रामपुर नगरपालिका जनप्रतिनिधि, राजनैतिक दल र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
सरोकारवालाहरुले चार जिल्लाको संगम रामपुरमा बस्ती बढ्दो क्रममा रहेकाले शान्ति सुरक्षाका लागि गस्ती बढाउनुपर्ने, बजारमा सवारी पार्किङ व्यबस्थित गराउनुपर्ने, सवारी चेकिङ बढाउनुपर्ने, लागुपदार्थ दुर्व्यसनी न्युनिकरणमा ध्यान दिनुपर्ने, घरेलु हिंसा न्यूनीकरण, प्रहरीको पहुँच नपुग्ने ठाउँमा अस्थाई प्रहरी पोष्ट स्थापना गर्नुपर्ने, मोडीफाई गरेर ठूलो आवाज निकाल्ने मोटरसाईकल सञ्चालनमा रोक लगाउन र ढुङ्गा, गिट्टी बालुवा, वन पैदावर चोरी निकासी रोक्न सक्रियताका साथ प्रहरी लाग्न सुझाब दिएका थिए ।