एसईईमा उत्कृष्ट विद्यार्थीलाई नगद सहित महिला समुहको सम्मान
पाल्पा ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक सहित उत्तिर्ण हुन सफल पूर्णिमा लक्ष्मी कुँवरलाई आत्मनिर्भर महिला समुह रामपुर नगरपालिका ६ प्याकलुक पाल्पाले सम्मान गरेको छ । एसईईमा समुदाय बाट जिल्ला मै उत्कृष्ट अंक ४ जीपीए सहित उत्तिर्ण हुन सफल कुँवरलाई समुहले विहिबार एक कार्यक्रम गरी सम्मान गरेको हो ।
वडा नं. ६ कै दरैठाँटी माध्यमिक विद्यालय विजयपुर बाट सहभागी हुनु भएको कुँवरलाई समुहले समुदायका व्यक्तित्वहरुको उपस्थितिमा सम्मान पत्र, पाल्पाली करुवा र खादा सहित सम्मान गरेको हो । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य एवं आत्मनिर्भर महिला समुहका सल्लाहाकार विष्णु मायाँ ढकालले पूर्णिमाको मेहेनतले समुदाय मात्र नभै सिङ्गो पूर्वी पाल्पाको नाम उच्च राख्न सफल भएको बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रमा प्रगति गर्दै राज्यको उच्च तहमा पुगेर सेवा गर्न सक्नेछ भन्नेमा विश्वस्त रहेको बताउँदै अझ सफलताको शुभकामना दिनुभयो ।

ज्याग्दी बृहत पार्कका अध्यक्ष ओम प्रकाश बस्यालले अभिभावक तथा शिक्षकहरुको साथ विद्यार्थीको लगनशिलता र मेहेनत भएमा समुदायिक विद्यालयमा अध्ययनर गरेर पनि राम्रो नतिजा प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण पूर्णिमाले दिन सफल भएको बताउनुभयो । आत्मनिर्भर महिला समुहका उपाध्यक्ष ममता भट्टराईले अझ सफलताको शुभकामना व्यक्त गर्नुभयो । सम्मानित विद्यार्थी पूर्णिमा लक्ष्मी कुँवरले सम्मान ग्रहण गर्दै सबैको साथ र सहयोगले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो । आगामी दिनमा पनि सबैको साथ र सहयोग लिएर अघि बढ्ने बताउँदै उहाँले समाजको शिर कहिल्यै झुक्न नदिने बताउनुभयो ।
ज्याग्दी बृहत पार्कमा भएको कार्यक्रममा पूर्णिमाको बुवा मान बहादुर कुँवर, आमा विष्णु कुँवर र भाई प्रिन्स कुँवरलाई पनि समुहले सम्मान गरेको थियो । आत्मनिर्भर महिला समुहका अध्यक्ष सीता थापाको अध्यक्षतामा भएको कार्यक्रम पूर्व अध्यक्ष उमा भट्टराईको स्वागत र पूर्व सचिव यशोदा पंगेनीको सञ्चालनमा भएको थियो ।