तानसेनमा रोजगार संवाद मञ्चको गठन, पहिलो बैठक पनि सम्पन्न
पाल्पा ।
पाल्पाको तानसेन नगरपालिकामा रोजगार सम्वाद मञ्चको गठन भएको छ । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा रोजगार सम्वाद मञ्च संञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० को नियम ३ बमोजिम विभिन्न संघ संस्थाका पदाधिकारीको सहभागितामा बैठक बसेको हो।
प्रधानमन्त्री रोजगार कार्यक्रमका कामहरु कमसल भैरहेको गुनासो निरन्तर आइरहेको हुदा अबका दिनमा त्यस्ता गुनासा नआउने गरि काम गर्नुपर्नेमा प्रमुख श्रेष्ठले जोड दिनुभयो ।
बैठकमा तानसेन नगरपालिकाका रोजगार संयोजक राधा घिमिरेले प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन पक्षलाई व्यवस्थित बनाउन ,प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार खोजिरहेका बेरोजगार जनशक्ति र रोजगारदाताहरुबीच समन्वय गर्न, नगरपालिका क्षेत्रमा रोजगारीको अवसर तथा सम्भावनाको पहिचान गर्न,समस्याहरुको निदान र रोजगारी सिर्जना गर्न, रोजगारी सिर्जनाका नविनतम उपाय एवं ढाँचाको विकास गर्न ,नगरपालिकाले अन्य सरोकारवालाको समन्वयम र सहकार्यमा रोजगाारीका क्षेत्र पहिचान गर्न रोजगार संवाद मञ्चको गठन गरेको बताउनुभयो।
रोजगार सम्वाद मञ्चमा नगर–प्रमुख संयोजक रहने गरी ११ सदस्यीय समिति गठन गरिएकोे छ। जसको सदस्यहरुमा उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाको आर्थिक विकास समिति संयोजक, नगरपालिकाको सामाजिक विकास समितिको संयोजक, नगरपालिकामा कार्यरत गैरसरकारी संस्थाहरु मध्ये संयोजकले तोकेको प्रतिनिधि एक जना, नगरपालिकामा आवद्ध कार्यरत निर्माण व्ययवसायीहरु मध्ये संयोजकले तोकेको प्रतिनिधि एक जना, नगरपालिकास्तरीय सहकारी संजालको संयोजकले तोकेको प्रतिनिधि एक जना , नगरपालिकाको उद्योग बाणिज्य संघको प्रतिनिधि एक जना, घरेलु तथा साना उद्योग संचालक अथवा तालिम प्रदायक संस्थाको संयोजकले तोकेको प्रतिनिधि एक जना र रोजगार संयोजक सदस्य सचिव रहने गरी गठन गरिएको छ।
बैठकमा प्रधानमन्त्री रोजगार कार्यक्रमको सञ्चालन तथा हाल सम्मको गतिविधिको समिक्षा ,आगामी दिनमा कार्यक्रमलाई व्यवस्थित सिर्जनशिल तथा दिगो बनाउन,रोजगारी सिर्जनाका क्षेत्रका बारेमा छलफल भएको थियो। आगामी दिनमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहभागीले दिगो कार्यक्रम तथा आयोजनाको छनौट गर्ने, सिमित श्रोत साधनले साझेदारी संस्थासंग समेत समन्वय गर्ने, कृषि, निमार्ण व्यवसायी, उद्योग बाणिज्य संघ, लगायतका क्षेत्रमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत रहेका बेरोजगारहरुलाई जोड्न पहल गर्ने बताउनुभयो ।
बैठकमा मञ्चको काम, कर्तव्य र अधिकार विषयमा तानसेन नगरपालिकाका रोजगार शाखाका प्राविधिक सहायक टिकाराम गाहाले जानकारी दिदै स्थानीय तहभित्र रहेको रोजगारीका अवसर तथा सम्भावनाहरुको पहिचान गर्ने,बेरोजगारीको समस्या समाधान गर्न रोजगारी सिर्जना उपाय, ढाँचा तथा विधिहरुको विकास गर्ने, बेरोजगारीको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न रोजगारी सम्बन्धी विषयमा आवश्यक नीति, रणनीति, कार्यनीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न परामर्श दिने र सहयोग गर्ने बताउनुभयो ।
आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न स्थानीय तथ्यांक संकलन, प्रशोधन, अध्ययन, अनुसन्धान तथा प्रकाशन गर्ने गराउने, स्थानीय तहमा रहेका रोजगारदाताको प्रोफाइल निर्माण गर्न आवश्यक सहजीकरण गर्ने, सीपमूलक तालिम सञ्चालन गर्न आवश्यक समन्वय र सहकार्य गर्ने,स्थानीय तहमा रोजगारी सिर्जना, सरकारी, गैरसरकारी संघसंस्था, निजी क्षेत्र र अन्य निकायद्वारा सञ्चालित कार्यक्रमहरुसँग समन्वय र सहकार्य गर्न राय, परामर्श दिने समेटिएको छ ।
“श्रमको सम्मान, राष्ट्रको अभियान” सञ्चालनमा आवश्यक समन्वय र सहजीकरण गर्ने,रोजगार प्रदायक निकाय वा सीपमूलक तालिम प्रदायक निकायहरुको बिचमा तालिम सञ्चालन गर्न आवश्यक समन्वय गरी श्रम बजारको माग र आफूर्ति बिच सन्तुलन कायम गर्न सहयोग गर्ने, रोजगार सेवा केन्द्रलाई आवश्यक राय, सल्लाह सुझाव तथा निर्देशन दिने,श्रम बजारमा आवश्यक जनशक्ति विकासका लागि तालिम प्रदान गर्ने, रोजगारदाता तथा कामदारका बिचमा सिर्जना हुने विवाद समाधानमा सहजीकरण गर्ने ,रोजगार विनिमय सेवा, उद्यमशिलता विकास, सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई पुनःएकीकरण लगायतका विषयमा एकीकृत रुपमा सेवा प्रवाह गर्न स्थानीय तहलाई आवश्यक सल्लाह सुझाव दिने लगायत रहेको छ ।
तानसेनमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गतबर्ष भएगरेका काममा उठेका जिज्ञासाको बारेमा संयोजक घिमिरेले स्पष्ट पार्नुभएको थियो। बैठकमा बोल्नेहरुले प्रधानमन्त्री रोजगार कार्यक्रमका काम दिगो र देखिने गरी गर्नुपर्नेमा सुझाउदै दिगो काम कम हुने गरेकाले अब फरक तरिकाले काम गर्नुपर्नेमा जोड दिएका थिए।
रोजगार संयोजक घिमिरेले प्रधानमन्त्री रोजगार कार्यक्रम पहिलो वर्ष झाडि सफाइ र विगतका ५ वर्षदेखि साझेदारीमा राम्रा कामहरू हुँदै आएको बताउनुभयो। यो वर्ष पनि साझेदार गरेर अगाडि जान चाहने संघ सस्थासंगै सहकार्य गरेर काम गर्ने बताउनुभयो ।