2

Logo २०८३ बैशाख १४ सोमबार
रामपुरको ७३ करोड ८५ लाख ४ हजारको अनुमानित बजेट प्रस्तुत, नगरको लोगो सार्वजनिक

रामपुरको ७३ करोड ८५ लाख ४ हजारको अनुमानित बजेट प्रस्तुत, नगरको लोगो सार्वजनिक


Sabalnews प्रकाशित मिति : बिहिबार, असार ७ २०८१
1.5K

पाल्पा ।

रामपुर नगरपालिका पाल्पाको १५ औं अधिबेसनमा आगामी आर्थिक वर्षका लागि ७३ करोड ८५ लाख ४ हजारको अनुमानित बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

बिहिबार बसेको अधिबेसनको पहिलो बैठकमा नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/०८२ को बार्षिक बजेट, आर्थिक विद्येयक र विनियोजन विद्येयक माथि छलफल भएको थियो ।

नगर उपप्रमुख थापाले आगामी आर्थिक वर्षको लागि चालु तर्फ ५६ करोड ३१ लाख ४४ हजार अर्थात् ७६.२५प्रतिशत र पूँजिगत तर्फ १७ करोड ५३ लाख ६० हजार अर्थात् २३.७५ प्रतिशत गरी कुल ७३ करोड ८५ लाख ४ हजार विनियोजन गरेको बताउनुभयो ।
प्रत्येक वडालाई समान ४२ लाखका दरले ४ करोड २० लाख रकम बिनियोजन भएको छ । नगर स्तरीय तर्फ आर्थिक विकासमा ३ करोड १५ लाख ५२ हजार, सामाजिक विकासमा ४० करोड २६ लाख ९३ हजार, पूर्वाधार विकासमा ११ करोड ८० लाख ६० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ करोड ६१ लाख ९९ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १६ करोड विनियोजन छ ।

नगरका १० वटै वडाबाट एक/एक वटा मोटरबाटो नगर स्तरीय मर्मत शीर्षकबाट समेटेर ६० लाख बिनियोजन गरेको छ ।अन्य नगर स्तरीय योजनामा १ करोड ४५ लाख रकम बिनियोजन छ । शाखागत रुपमा सबैभन्दा बढी १ करोड २२ लाख शिक्षामा बजेट बिनियोजन गरेको रामपुर नगरपालिकाले दरैठाटी नमुना बिद्यालय अनुदान ५० लाख सहित नगर खेलकुद, मेयर छात्रबृत्ति र विद्यालय भौतिक पुर्वाधार निर्माण र मर्मत शीर्षकमा १ करोड ९७ लाख बिनियोजन गरेको छ ।

कालीगण्डकी करिडोर वडा नम्बर १ र १० मा स्वागतद्धार निर्माण, रामसीताको मुर्ति निर्माण, नगर गौशाला, घाटहरुमा ट्रस निर्माण र खानेपानी, नगरस्तरीय खानेपानी, २ कर्वडहल, भलिबल रङ्गशाला, फोहोरमैला प्रभावित क्षेत्र बिशेष कार्यक्रम र सार्वजनिक जग्गा संरक्षणका लागि २ करोड ४० लाख, उपप्रमुख कोसेलीघर सञ्चालन, उपप्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम, महिला सिपमुलक तालिम बालमैत्री स्थानीय शासन, आपतालिन बालउद्धार कोषमा ४७ लाख, स्वास्थ्य शाखालाई २७ लाख, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखालाई १५ लाख रुपँया बजेट बिनियोजन छ । युवा स्वरोजगार ब्याज अनुदान, उत्पादन र क्षेत्रफलमा आधारित अनुदान, शितभण्डार तथा हाइटेक सुदृढीकरण, मागमा आधारित कृषि र पशु कार्यक्रमलाई ८० लाख, विपद् व्यवस्थापन कोषमा ५० लाख, बजार क्षेत्रमा सिसिटिभी क्यामेरा र सडकबत्ती जडानमा २५ लाख रकम बिनियोजित छ ।
यसरी नगरकार्यपालिकाले २७ करोड ७२ लाख रकम, वडाले ४ करोड २० लाख र बिषयगत शाखाहरुले सर्शत समेत गरि ४१ लाख ९३ लाख ४ हजार रुपँया खर्च गर्ने गरि बजेट अनुमान गरिएको छ ।

रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । थापाले निति कार्यक्रम प्रस्तुत गर्नुअघि अधिकांश विगतका कार्यक्रमलाई निरन्तरता दिएको बताउदै कृषि, उत्पादन र उद्यम बद्धिमा प्राथमिकता दिएको बताउनुभयो । नीति तथा कार्यक्रममा नगदेबाली रैथाने खाद्यान्न बालीको खेती विस्तार, बिज बृद्धि, स्थानीय वस्तुको उपभोग र उत्पादनमा प्रोत्साहन गर्न हाटबजार सञ्चालन, माछा पकेट क्षेत्र, महिला र युवाका लागि मेयर उपमेयर उद्यम विकास कार्यक्रम, ब्लड बैंक स्थापनाको लागि सहकार्य र पालिकाको समन्वयमा पर्यटन महोत्सब गर्ने जनाएको छ ।

रामपुर नगरपालिकाले बढीमा ३० लाखसम्मको युवा स्वरोजगार व्याज अनुदान, कालीगण्डकी तटमा पैदल तथा साइकिलिङ करिडोर निर्माण, जि.पी.स्वास्थ्य विमा, “बालबालिकासँग मेयर कार्यक्रम”, “मेयर छात्रबृत्ति कार्यक्रम”, “मेयरसँग जेष्ठ नागरिक र उमेयर सँग सुत्केरी पोषण कार्यक्रम”, “उपप्रमुखसँग बालिका कार्यक्रम”, “उपप्रमुखको कोशेली सिपबाट हुनेछ दिगो आर्थिक आम्दानी”, “उपमेयरको चिनारी मेरो नगर मेरो जिम्मेबारी”, “उपप्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम,” जस्ता कार्यक्रमले यसबर्ष पनि निरन्तरता पाएको छ ।

चालु आर्थिक बर्षको अन्त्य तिर वडा नम्बर २ बाट शुरु भएको “बालमैत्री नगर घोषणा कार्यक्रम” निरन्तरता दिदै आउदो २०८३ मंसिर ५ मा बालमैत्री नगर घोषणा गर्ने लक्ष्य लिएको छ । रजस्वलाका बखत महिला कर्मचारीलाई प्रत्येक महिना १ दिन र गर्भवती कर्मचारी गर्भावस्ताका ८ महिना अबधि भर चेकजाचका लागि ८ पटक बिशेष सुविधाले निरन्तरता पाएको छ । २०७६ श्रावणपछि जन्मेका छोरीहरुलाई सामुदायिक विद्यालय तथा क्याम्पसमा स्नातकसम्म निशुल्क शिक्षालाई निरन्तरता दिइएको नगरप्रमुख थापाले बताउनुभयो ।

सभाले विद्यायन समितिका संयोजक मीन बहादुर सिंजालीले प्रस्तुत गर्नु भएको स्थानीय युवा परिषद् विद्येयक, लेखा समितिका संयोजक तेज बहादुर राना, न्यायिक समिति  संयोजक बालकुमारी थापा, अनुगमन तथा सुशासन समितिका संयोजक मोहन बहादुर रानाले पेश गर्नुभएको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभामा रामपुर नरपालिका ३ का वडा अध्यक्ष दामोदर पाठक, वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले शुभकामना मन्तव्य व्यक्त गर्नुुभएको थियो । साथै सभाको शुन्य समयमा रामपुर ६ का वडा अध्यक्ष दिवाकर देवकोटा, ८ का वडा अध्यक्ष दिनेश आचार्य, १० का अध्यक्ष तोयानाथ सारु थापा लगाएतले आफ्नो सुझाव राख्नु भएको थियो ।

सभामा रामपुर नगरपालिकाले नगरको भुगोल, मुख्य पर्यटकीय एवं ऐतिहासिक स्थललाई समेटेर तयार गरेको लोगो सार्वजनिक गरेको छ । सुझाबपछि लोगो केही संशोधन सहित संचालनमा आउने जनाईएको छ ।

नगर सभाको अवसरमा नगरपालिकाका प्रशासन शाखा अधिकृत युवराज पन्थी, योजना शाखा प्रमुख विक्रम बस्नेत, वडा सचिव रजनी भण्डारी, वरिष्ठ प्रहरी हवल्दार तारा बहादुर सेन, सवारी चालक केशवराज गैरे, कार्यालय सहयोगी शारदा आचार्य, उत्कृष्ट करदाता चन्द्र सूर्य हार्डवयरका व्यवस्थापक दिपक आचार्य, पन्थे बरादी गैराटोल विकास संस्था रामपुर १ र पत्रकार इमान सिं राना नगद र सम्मान पत्र सहित सम्मान भएका छन् ।

सभामा प्रस्तुत भएको आर्थिक विद्येयक र विनियोजन विद्येयक माथि थप छलफलको लागि दोस्रो बैठक आगामी असार २० गते बस्ने गरी सभाको पहिलो बैठक सकिएको छ । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा नमस्ते पाल्पा होटलको सभाहलमा भएको कार्यक्रम नगर प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणको स्वागत र प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितको सञ्चालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com