आज मध्यराती देखि मौन अबधि ” मौन अबधिमा के गर्ने/नगर्ने?”
पाल्पा ।
यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट शुरु हुँदैछ । आज मध्यराति १२ बजेदेखि वैशाख ३० गते राती १२ बजेसम्म मौन अवधि रहनेछ । यो अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन निर्वाचन आयोगले आग्रह गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलकाअनुसार मौन अवधि सुरु भएपछि कुनै पनि दल वा उम्मेदवार भएका व्यक्ति, नागरिक समाज, मतदाता तथा सञ्चार माध्यमहरुले समेत चुनाव प्रचार–प्रसार गर्न पाइनेछैन । एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाइएको प्रवक्ता पौडेलले बताउनुभयो ।
सामाजिक सन्जालहरुबाट चुनाव केन्द्रित प्रचार सामग्री हटाउन पनि राजनीतिक दलहरुलाई आयोगले निर्देशन दिएको छ । निर्वाचन सामग्री हटाए/नहटाएको तथा नयाँ प्रचार सामग्री राखे/नराखेको सम्बन्धमा निगरानी गर्ने जिम्मेवारी प्रहरी र सेनाको साइबर व्यूरोलाई दिइएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो।
त्यस्तै मौन अवधीमा उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन टोपी, स्टिकर, लोगो, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न पनि आयोगले रोक लगाएको छ ।
निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ ।
मौन अवधिमा सञ्चारमाध्यमहरुले पनि उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन प्रसारण गर्न नपाउने आयोगले जनाएको छ ।