बनको डढेलो बस्तीमा फैलदा रामपुरमा ८ घरगोठ जले, नियन्त्रणको प्रयास जारी
पाल्पा ।
रामपुर नगरपालिका वडा नं. ४ र ५ मा फैलिएको आगोले ८ घरगोठ जलेर नष्ट भएको छ ।
वडा नं. ५ को गैरागाउँ क्षेत्रमा फैलिएको आगोले वडा नम्बर ४ को समानसिङ, रेवती पोखरा माथिल्लो भेगमा आगोलागी हुँदा ८ घरगोठ सहित कुखुरा फार्म जलेको हो । जंगलको आगो बस्तीमा पसेपछि ८ घर तथा गोठ पूर्ण रुपमा जलेको छ ।

गैरागाउँको ५ र समानसिङको ३ वटा घर गोठ जलेको छ । गैरागाउँमा सन्तमान श्रेष्ठ, राम प्रसाद श्रेष्ठ र धन प्रसाद श्रेष्ठको घर गोठ पूर्ण रुपमा जलेको छ । त्यस्तै विष्णु कुमार श्रेष्ठ र श्याम कुमार श्रेष्ठको घर तथा गोठमा क्षति पुगेको छ । मध्यान्ह चलेको हावाहुरीले बनको आगो समानसिंङ रेवतीपोखराका बस्तीमा पनि पुर्याएको थियो । जहाँ माउ कुमारी श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठको घरगोठ र सूर्य प्रसाद श्रेष्ठको घर संगै कुखुरा फर्म जलेको छ ।
बस्ती नजिक रहेको लक्ष्मी आधारभूत विद्यालय रेवती पोखराको भवन जोखिममा रहदा रहदै पनि बुधबार अबेरसम्म सुरक्षित गराउन सफल भएको प्रध्यानध्यापक नर बहादुर रानाले बताउनुभयो ।

डढेलो नियन्त्रणमा प्रहरी, आर्मी, स्थानीय, बजारबासी र बनका उपभोक्ता निरन्तर लागेका छन् । डढेलो चारैतिर फैलिएकाले नियन्त्रण बाहिर गएको हो ।
अहिले पश्चिम तर्फ रामपुर ५ राम्चे सामुदायिक वनको माथिल्लो भेगमा फैलिएको आगो नियन्त्रणको प्रयास भईरहेको छ । स्थानीय, उपभोक्ता सहितको संयन्त्र आगो थप बस्तीमा फैलन नदिन स्याउलाले आगो रोक्ने प्रयास गरिरहेका छन् । राती बनको फेदमा रहेका बस्तीमा आगो फैलनसक्ने त्रासले सबै उपभोक्ता र स्थानीय बजारबासी आगो नियन्त्रणमा लिन लागिपरेका छन् ।
वडा नं. ४ को समानसिङ, छतिवन डाँडा, गिजिन डाँडा लगाएतका बस्ती पनि जोखिममा रहेको छ । रेवतीपोखरा हुुँदै पुर्व फैलिएको आगोले बस्ते जोखिममा छ । केही सामान सारिएको र सतर्कता अपनाइएको छ । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले निरन्तर आगो रोक्ने सबैको पहल भईरहेको र तथापी केही घर गोठमा क्षति भएको जानकारी दिनुभयो ।
नेपाली सेना, प्रहरी संगै स्थानीयहरु बस्ती जोगाउन जुटिरहेका छन् । गाबुडाँडा सामुदायिक बन, देउराली डाँडा सामुदायिक वन क्षेत्रमा फैलिरहेको छ ।