पाल्पाको तानसेनमा मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको लागी यातायात सेवा संचालन
पाल्पा ।
विभिन्न किसिमका मस्तिष्क पक्षघात भएका वालवालिकाहरुको लागी डे केयर सम्म आउन जानको लागी पाल्पाको तानसेनमा यातायात सेवा संचालन भएको छ ।
तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले मस्तिष्क पक्षघात भएका बालवालिकाहरुलाई सबै पक्षबाट सहयोग जरुरी रहेको बताउदै नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।
तानसेनमा ७ किलो मिटर टाढादेखि दैनिक हिडेर डे केयर सम्म आउने गरेका मस्तिष्क पक्षघातका वालवालिकालाई मध्यनजर गर्दै यातायात साधनको सेवा संचालन गरेको हो । मस्तिष्क पक्षघात स्वावलम्वन समुह काठमाडौको मुख्य सहयोगमा र सिविआर पाल्पाको संयोजनमा विगत ६ बर्ष देखी तानसेनमा डे केयर संचालन हुदै आएको छ ।
मस्तिष्क पक्षघात भएका वालवालिकाहरु दैनिक रुपमा शारिरिक रुपमा फिजियो थेरापी, दैनिक पठन पाठन, खेल्दै सिक्दै, दैनिक रुपमा प्रयोग हुने जिवन उपयोगी सिपहरु सिक्न, डे केयर पुग्ने गरेका छन्। मस्तिष्क पक्षघात केही वालवालिकाहरु लठ्ठीको सहायतामा डे केयर पुग्ने गरेका छन भने केही वालवालिकाहरु अभिभावकको सहायतामा डे केयरमा लैजाने गरिएको छ । डे केयरमा आउने मस्तिष्क पक्षघातका वालवालिकाहरु दिनभरी नै फिजियो देखि खाने बस्ने र खेल्ने व्यबस्था मिलाईएको डे केयरका कार्यक्रम संयोजक कृष्ण गहतराजले बताउनुभयो ।
यातायातको लागी तानसेन नगरपालिका वडा नंं २, तिमिसंग आन्विका सहयोग कार्यक्रम, मस्तिष्क पक्षघात स्वावलम्वन समुह काठमाडौ, सुमेत रत्न बज्राचार्य जर्मनी, नरेश प्रसाद प्रधान अमेरिका, पाल्पा सिविआर, श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि. लगायत व्यक्ति र सस्थाले सहयोग गरेको छ ।
कार्यक्रममा तानसेन नगरपालिका वडा नंं २ का वडाअध्यक्ष महेश्वर श्रेष्ठले आफ्नै वडामा भएको यस्तो महान अभियानलाई आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्दै जाने बताउनुभयो । कार्यक्रममा पाल्पा जेसिसका अध्यक्ष अर्जुन कार्कीले पाल्पा जेसिसले सन १९९५ साल देखी नै यस क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा डे केयरलाई प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि.का कम्पनी सचिव भविन्द्र गौतमले सबै काम नाफाबाट नहेरी सामाजिक सेवा र उत्तरदायित्वको भावनाले हेरेमा डे केयर जस्ता संस्थाहरु राम्रो संग संचालन हुने बताउनुभयो ।
कार्यक्रमममा अभिभावक चन्द बहादुर रानाले पाल्पा सिविआरका पदाधिकारी तथा सदस्यहरुले मासिक रुपमा वालवालिका तथा अभिभावकहरु संगको भेटघाट लाई बढाउनु पर्ने, बालवालिका लाई चाहिने आवश्यक सरसमानहरु बढाउनु पर्ने सुझाव दिनुुुभयो। डे केयरका कार्यक्रम संयोजक कृष्ण गहतराजले लामो प्रयास र खटाई पछी मस्तिष्क पक्षघात बालबालिकाहरुको लागी यातायातको सुविधा प्रदान गर्न सफल भएको बताउनुुुभयो।
कार्यक्रम पाल्पा सिविआर अध्यक्ष हेमन्तराज शाक्यको अध्यक्षता र सिविआरका सदस्य शैलेन्द्र भट्टराईको संचालनमा भएको थियो । डे केयरमा हाल १२ जना मस्तिष्क पक्षघातका वालवालिका र ८ जना अन्य वालवालिका खेलकुद, घुमफिर र नियमित रुपमा पठन पाठन समेत गर्दै आएका छन् ।