दर्शकको भिडका कारण गल्याङ महोत्सव ३ दिन थप
गल्याङ स्याङ्जा ।
दर्शकहरूको चाप बढ्दै गएपछि स्याङ्जाको गल्याङ बजारमा जारी “तेस्रो गल्याङ औद्योगिक, ब्यापार तथा कृषि महोत्सव” तीन दिन थपिएको छ ।
‘गल्याङ महोत्सवको आधार कृषि, उद्योग, पर्यटन नै हाम्रो पूर्वाधार’ भन्ने नारासहित गल्याङ उद्योग वाणिज्य संघले २०८० चैत्र २९ गतेबाट बैशाख ९ सम्म महोत्सव आयोजना गरेको थियो । ३ दिन थपिए संगै अब महोत्सब बैशाख १२ सम्म चल्नेछ ।
गल्याङ उद्योग वाणिज्य संघका महासचिव ऋषि बस्याल (जिम्वाल कान्छो)ले दर्शकको भिड र नगरवासी, उद्योगी, व्यापारी, व्यवसायीहरूले महोत्सवको समय लम्बाउन आग्रह गरेकाले यही आउँदो वैशाख १२ गते सम्मलाई समय थप गरिएको जानकारी दिनुभयो । पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यापार साथै यहाँका मौलिक कला संस्कृतिहरूको संरक्षण र सम्वद्र्धन गर्न महोत्सव आयोजना गरिएको हो, अहिलेसम्म दर्शकको भिडभाड र किनमेल पनि राम्रो छ, बस्यालले भन्नुभयो- मेला बढाउन आवाज आएसंगै केहीदिन थपेका हौ ।
महोत्सवमा हरेक दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, बाल उद्यान, जिल्ला स्तरीय भलिबल प्रतियोगिता, हस्तकला, कृषि, खाना लगायतका अन्य व्यापारिक स्टलहरू महोत्सवका आकर्षक रहेका छन् ।
महोत्सवमा कूल १ सय ४० स्टल छन् । महोत्सवमा डेढ करोडको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ । स्थानीय व्यापारी व्यवसायीलाई स्टल भाडामा २५ प्रतिशतसम्म छुट दिइएको छ । उद्योग वाणिज्य संघको सदस्यता लिएकाहरूले कृषि र हस्तकलाका स्टल निःशुल्क राखेका छन् ।