2

Logo २०८३ बैशाख १३ आइतबार
बुटवल उपमहानगर आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट नगर घोषित

बुटवल उपमहानगर आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट नगर घोषित


Sabalnews प्रकाशित मिति : मंगलबार, फाल्गुन २९ २०८०
1.6K

बुटवल ।

बुटवल उपमहानगरपालिका स्थानीय आर्थिक विकासमा देशकै सर्वाेत्कृष्ट घोषित भएको छ। आर्थिक वर्ष २०७९/८० मा देशभरका स्थानीय तहमध्ये बुटवलले सर्वाेत्कृष्ट भई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको हो।

नेपाल नगरपालिका संघले मंगलबार आयोजना गरेको समारोहमा बुटवललाई अवार्ड प्रदान गरेको छ। काठमाडौंमा आयोजित समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

प्रशासनविद् काशीराज दाहाल नेतृत्वको मूल्यांकन समितिले देशभरका नगरपालिकाले गरेका कार्यका ५ क्षेत्रको अध्ययन गरी मूल्यांकन प्रतिवेदन तयार गरेको थियो। तीमध्ये स्थानीय आर्थिक विकासतर्फ बुटवलले देशका सबै स्थानीय तहलाई उछिनेको हो।

नगरले सार्वजनिक सेवा सुदृढ गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायी बनाउने प्रयास गरेको नगर प्रमुख पाण्डेयले बताउनुभयो। ‘बुटवल उपमहानगरपालिका आफ्ना सबै क्षेत्र परिष्कृत गर्दै चौतर्फी विकासको मार्गमा अघि बढेको छ,’ उहाँले भन्नुभयो, ‘आर्थिक रचना र प्रणालीले मानिसको विधिपद्धति, मानव सम्बन्धमा परिवर्तन ल्याउन सक्छ।’
देशकै उत्कृष्ट नगरका रूपमा पुरस्कृत हुनुले आफूहरूको काममा हौसला थपिएको भन्दै प्रमुख पाण्डेयले नगरलाई यो अवस्थामा ल्याउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दल लगायत सबै सरोकारवालालाई धन्यवाद दिनुभएको छ। उहाँले बुटवलमा विकास र परिवर्तनको यात्रा शुरू भएको भन्दै अनुभूत गर्न समय लाग्ने बताउनुभयो। बुटवलको मार्ग स्पष्ट रहेको र स्पष्ट चित्र देखिन पनि थालेको उहाँको भनाई छ ।

‘बुटवललाई देशकै अगुवा सहरका रूपमा स्थापित गर्न शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन, रोजगार सिर्जना, उद्यमशीलतामा जोड दिएका छौं। त्यसका लागि केही योजना अघि सारेका छौं, जुन कार्यान्वयनका क्रममा छन्’-उहाँले भन्नुभयो । पाण्डेका अनुसार बुटवल उपमहानगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ।

‘हाम्रो मुख्य कार्यभार चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने, चालु योजनालाई समयमै सम्पन्न गर्ने, बुटवलवासीलाई सुशासन र विकासको अनुभूति दिलाउनु हो। संघ, प्रदेश र आन्तरिक स्रोतको अधिकतम परिचालन तथा दातृ निकायहरूबाट प्राप्त सहयोगको उच्चतम उपयोग गरी बुटवलको विकासमा नयाँ उचाइ हासिल गर्ने हो ।

सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम, बजेट र योजनाहरू अघि बढाइएको नगरप्रमुख पाण्डेयले बताउनुभयो । ‘विकास सँगसँगै नगरको सौन्दर्यीकरण, सहरी व्यवस्थापन र सेवासुविधामा सुधार ल्याउनु स्थानीय सरकारको प्रमुख दायित्व हो,’ नगरप्रमुख पाण्डेयले थप्नुभयो।

उहाँका अनुसार उपमहानगरले आफ्ना नागरिकका आवश्यकतालाई दृष्टिगत गर्दै सेवा प्रवाहलाई जनमुखी बनाउन घरदैलो सेवा सुरु गरेको छ। बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत ६० वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधी वितरण, अपांगता परिचय पत्र वितरण, सुत्केरी महिलाको स्वास्थ्य जाँच, पशुचौपायाको स्वास्थ्य परीक्षण तथा औषधी वितरणलगायतका कार्यक्रम नागरिकको घरदैलोमै पुर्‍याइएको पाण्डेले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com