पाल्पामा मनाइयो ३०२ औं पृथ्वी जयन्ती
पाल्पा ।
पृथ्वी जयन्तीको अवसरमा पाल्पामा राष्ट्रिय एकता दिवश मनाइएको छ । पाल्पाका सबै राजनीतिक दलहरु मिलेर ३ सय २ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको आयोजनामा भएको दिवसमा लुम्बिनी प्रदेश सभा सदस्य, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी, विभिन्न संघ संस्था, बुद्धिजिविहरु, तथा नागरिक अगुवाहरुको सहभागिता थियो ।
कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उप–प्राध्यापक महेन्द्र पन्थीले राष्ट्रनिर्माणमा पृथ्वी नारायण शाहको योगदानको बारेमा चर्चा गर्दै उहाँको योगदानलाई भुल्न नहुने बताउनुभयो ।
कार्यक्रममा राप्रपाका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य नारायण कोईराला, लुम्बिनी प्रदेश सदस्य खेमबहादुर सारु, एमाले पाल्पाका अध्यक्ष धनेन्द्र घिमिरे, माओवादी केन्द्रका संयोजक राजेन्द्र विक, राप्रपा जिल्ला अध्यक्ष डुलबहादुर कुवँरले पृथ्वीनारायण शाहलाई देश तथा राष्ट्र निर्माताको रुपमा सबैले मान्ने, उनका उपदेशलाई राज्यले कार्यान्वयन गर्दै जाने, हामी नेपाली हौं भन्नेमा गर्व बोध गराउने अभियानमा सबै पार्टी, जनताहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा जिल्लाका राजनीतिक दल, जनप्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार नागरिक समाजका क्रियाशिल व्यक्तिहरुप्रति राप्रपा पाल्पाले जलपान कार्यक्रम गरेको हो । राप्रपा पाल्पाका सचिव हरिप्रसाद बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।