2

Logo २०८३ बैशाख १५ मंगलबार
ओझेलमा अर्जुन

ओझेलमा अर्जुन


Sabalnews प्रकाशित मिति : मंगलबार, पौस ३ २०८०
379

गुल्मी ।

  –भोजराज पाण्डेय

नेपाल विविध खालको भौगोलिक बनावटले बनेको छ । पुर्व मेची देखि पश्चिम महाकाली सम्म कहिं पनि एकै खालको भौगोलिक, सांस्कृतिक, सामाजिक र जातीय संरचना पाउन सकिदैन् । साबिक लुम्बिनी अञ्चलको ३ वटा पहाडी जिल्लाहरु मध्ये गुल्मी जिल्लामा पनि एकै खालको अबस्था रहेको पाइदैन् । यो जिल्ला भौगोलिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय र राजनैतिक हिसाबले सधै चर्चामा रहने गरेको छ । यहांको भूबनोट पनि एक नासको छैन । यस जिल्लाको सदरमुकाम तमघासको पुर्व र पश्चिममा रहेका गगनचुम्बी अग्ला पहाडहरुले गर्दा ती पहाडहरुको काखमा अबस्थित तमघास बजारको तुलना भारतको प्रमुख पर्यटकीय शहर दार्जिलिङ संग हुने गर्दछ ।

लुम्बिनी प्रदेशको बीच भागमा अबस्थित रुपन्देही जिल्लाको बुटवल बाट करिब १३८ किमी उत्तरतर्फ गुल्मी जिल्लाको सदरमुकाम तमघास अबस्थित छ । आंशिक मात्रामा भए पनि मध्ये पहाडी राजमार्ग र अन्य सहायक मार्गहरु संचालनमा आए संगै पाल्पा हुंदै मात्र गुल्मी पुग्न सकिने जुन बाध्यता थियो त्यसको अहिले अन्त्य भएको छ । बाग्लुङ र अर्घाखांची हुंदै पनि गुल्मी जिल्लाको सदरमुकाम तमघास पुग्न सकिन्छ । तर पहिले देखि नै संचालन र चलन चल्तीमा रहेको बुटवल, पाल्पा, रिडी हुंदै तमघासको सडक यात्रा नै धेरैले प्रयोग गर्ने गर्दछन् । हुनत यही बाटो हुंदै यात्रा गर्दा पाल्पा जिल्लामा रहेका बिबिध प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको रस्वसादन पनि लिन सकिने हुंदा गुल्मीबासीहरुको लागि यो सडक प्रमुख रोजाई हो भन्न पनि सकिन्छ ।

लुम्बिनि प्रदेशको प्रमुख ब्यापारिक शहर बुटवल बाट पाल्पा जिल्लाको पबित्र तीर्थस्थल सिद्धबावा मन्दिरको बाँया हुँदै तिनाउँ नदीको तिरैतिर दोभान क्रस गरि अगाडि आइपुग्दा नदीलाई छोडेर सडकले कठिन पहाडी भूगोल भएको केराबारी हुंदै तमघासको लागि अगाडी बढ्न सकिन्छ । केराबारि अगाडी जोरधारा नजिक बाट धेरै तल हेर्दा अनकण्टार खोंचमा तिनाउ नदीको प्रारुप मात्र देख्न सकिन्छ । भैरहवा पोखरा सिद्धार्थ राजमार्ग सडकको बाटो हुँदै गाडीमा अगाडी बढ्दै गर्दा बीच बीचमा पहाडको खोचबाट बगेको कञ्चन झरनाको छवाङ छवाङ आवाजसँगै सिरसिर गर्दै आउने चिसो हावाको आनन्द त्यतिबेला स्मरणयोग्य हुन्छ जतिबेला तराईको उखरमाउलो गर्मीमा पसीनाले निर्थुक्क भिजेको अनुभूति हुन्छ ।
पाल्पा जिल्ला इतिहाको कालखण्ड देखि नै कुनै न कुनै हिसाबले चर्चित जिल्ला मानिन्छ । यहां रहेका मनोरम प्राकृतिक सौन्दर्यहरुको असीम आनन्द लिदैं तानसेन बजार पार गरि बतासेडांडा मुनिको बाक्लो र घना सालघारीको माझबाट उकालो हुँदै यात्रा गर्दा आउने खुशी र आनन्दले जो कोही पनि प्रभावित नहुने कुरै आउंदैन । इतिहासको कालखण्डमा नेपाल राज्य निर्माण हुनु भन्दा अगाडि त्यतिबेला अस्तित्वमा रहेका बिभिन्न बाइसे चौबिसे र भुरे टाकुरे राज्यहरु मध्ये पाल्पा राज्य अत्यन्त शक्तिशाली मानिन्थ्यो । यो राज्य शक्तिशाली हुनुमा यहांको भौगोतिक बनावट पनि प्रमुख आधार रहेको हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।

स्याङजा, गुल्मी र पाल्पा जिल्लाको संगम स्थलको रुपमा रहेको प्रसिद्ध तीर्थस्थल रहेको रिडी क्षेत्रको पश्चिमी साँध सीमाना भएर बग्ने रिडी खोलामाथि एक पटकमा एउटा गाडी मात्र अट्ने गरि बनाइएको साँघुरो पुललाई पार गर्नासाथ गुल्मी जिल्लामा पाइला टेक्न सकिन्छ । रिडी बजारबाट उकालो यात्रा सुरु गरी करिब ४५ किमी साँघुरो र घुमाउरो सडकको यात्रा पार गरेपछि अर्जुन लेक र तपोभूमी रेसुङगा लेकको काखमा अबस्थित रमणीय तमघास बजार पुग्दा जो कोहीलाई पनि भारतको प्रसिद्ध पर्यटकीय स्थल दार्जिलिङ पुगेको अनुभुति हुन्छ । पूर्वमा रेसुङगा र पश्चिममा अर्जुन लेकको काखमा अबस्थित रमणीय तमघास बजार देखेर मन नलोभ्याउने सायदै कोही होला ।

गुल्मी जिल्लालाई नेपाली मानचित्रमा परिचित गराउने बिभिन्न भौगोलिक र धार्मिक तथा सांस्कृतिक सम्पदाहरु रहेका छन, रिडी क्षेत्र, सत्यवती लेक, धुर्कोट गुफा, गुल्मी चारपाला दरवार, रेसुङगा, अर्जुन, आँपचौर कफी खेती आदि हुन भने प्रत्येक बर्षको दशैंमा देवीका मन्दिरहरुमा खेलिने सरायँ नाच गुल्मीको अलावा अर्घाखाँचीमा मात्र खेलिन्छ । तर जति रेसुङगाको बारेमा गुल्मेली माझ र नेपाली मानचित्रमा चर्चा हुन्छ त्यति चर्चा संगै पारी पाट्टी करिब करिब समान उचाई लिएर उभिएको अर्जुनको हुने गर्दैन ।

जिल्ला सदरमुकाम तम्घासलाई पश्चिम तर्फबाट छपक्कै काखमा छोपेर रहेको अर्जुनको महिमाले गुल्मी जिल्लाको सानलाई अझ ममतामयी र ज्वाजल्यमान बनाउनु पर्ने हो तर यसो हुन सकेको छैन् । छिमेकी जिल्ला अर्घाखांचीको पुर्वी प्रस्थान बिन्दुको रुपमा रहेको अर्जुन लेकको बारेमा गुल्मेली दाजुभाई तथा दिदी बहिनीहरु पनि यधपी साक्षात्कार हुन नसकेको अबस्था छ । बिकासको कुरा गर्दा पनि जिल्लाको कुनै पनि तहबाट तमघासकै पश्चिमी शीरमा अबस्थित अर्जुनलाई प्राथमिकतामा राखेको देखिदैन् । धार्मिक,ऐतिहासिक, जैबिक र पर्यटकीय महत्वले भरिपूर्ण अर्जुनको महत्व र यसको प्राचीन इतिहास खोज्ने हो भने यो एउटा स्वर्णरुपी किताब बन्न सक्छ ।

जिल्ला सदरमुकाम तमघास बाट पश्चिम फर्किएर हेर्दा चारैतिर घना जङगलले भरिएको पुर्वी रेसुङगाको हाराहारि उचाईको सलक्क लतमन्न परेर हरियो च्यादर ओढेर सुतेकी शुन्दर महिला जस्तै गरि अर्जुन लेक देख्न सकिन्छ । हुनत केहि बर्ष अगाडि सम्म अर्जुन लेकमा प्रशस्त हरियाली र ठूला बनस्पती तथा बोट बिरुवाहरु देख्न पाइदैनथ्यो । यसले चर्चेको ईलाकामा ऐशेलु, चुत्रो र स-साना कांढेदार बोटबिरुवा तथा सीमित मात्रामा बनस्पतीहरु पाइन्थ्यो । जङगलको एक भागबाट अर्को भागमा निस्कनको लागि यदि बिना बाटो प्रयास गर्ने हो भने कांढेदार बुट्यान र बनस्पतीको कारण शरीररमा लगाएको लुगा च्यातिएर कुन लुगा लगाएको हो भन्ने भेउ पाउन मुश्कील हुन्थ्यो । तर नेपालमा सामुदायिक बनको बिकाश भए संगै काढेदारयुक्त बुट्यान र बनस्पतीले भरिएको लेक अहिले घना जङगलमा परिणत भएको छ । यहां सल्लो र उत्तीस, कटुंश, लालीगुरास लगायतका बनस्पति तथा बिबिध खालका अन्य जडिबुटियुक्त बोटबिरुवाहरुले गर्दा बन हरियाली मात्र भएको छैन, मनमोहक र आकर्षक समेत भएको छ । बन जङगलमा आश्रित जनावरहरुको लागि अहिले गतिलो बासस्थान समेत भएको छ ।

तमघास स्थित रहेको अर्घाखाची जाने बसपार्क बाट अर्जुनको यात्रा प्रारम्भ गर्दा कारिब सवा घण्टाको पैदल यात्रामा सहजै अर्जुन लेकको चुचुरोमा पुग्न सकिन्छ । यसो भन्दै गर्दा त्यहां सम्म पुग्नको लागि सडकको सुबिधा नभएको भन्ने चाहिं होइन । तमघास बाट देउराली हुंदै र अर्घाखांची जीप पार्क समेत बाट गाडी तथा मोटर साइकल बाट समेत अर्जुन लेकको लागि यात्रा गर्न सकिन्छ । गाडी तथा मोटरसाइकल बाट यात्रा गर्दा पनि अर्जुन लेकसम्म पुग्न सकिन्छ । तर अर्जुन लेकको लागि पैदल यात्रा सुरु गर्दा भुजेलखर्कको बीचमा रहेको प्रसिद्ध भगवती मन्दिरको दर्शन गर्न भने छुटाउनु हुंदैन । हुनत भगवती मन्दिरमा पूजाआजाको लागि अन्य मन्दिरमा जस्तो दैनिक श्रद्धालु भक्तजनहरुको घुंइचो भने हुंदैन् । अर्जुन डांडामा रहेको भगवती मन्दीर र भुजेलखर्कमा रहेको भगवती मन्दिर केहि अघि मात्र नव निर्मित मन्दिरको रुपमा रहेका छन् । भुजेलखर्कको भगवती मन्दिरको दर्शन गरि उकालो लाग्दै गर्दा अलि पर माइकास्थानमा रहेको प्रसिद्ध शिवालयको दर्शन गर्दा आउने आनन्दको सीमा रहन्न । त्यहां रहंदै गर्दा मन्दिर दर्शनको अलावा उत्तरमा नजिकै देखिने शीरमा सेतै हिउंको ढिक्का बोकेर गजधम्म परेर अटल भई बसेका धवलागिरी लगायतका हिम श्रृंखलाहरुको मनमोहक दृश्यहरुले जो कोही लाई मन्त्रमुग्ध बनाउंछ ।

माइकोस्थानबाट देखिने मनमोहक दृश्यहरुको रस्वसादन लिई सके पछि उकालो समात्दा करिब ४५ मिनेटमा दुरिखोला, चौपारी (हाल सो स्थानमा टावर निर्माण भए पश्चात सेल्फी टावरको नामले परिचित) राजाको पंधेरो ( बाइसे चौबिसे राजाहरुको शासनकालमा भुरे टाकुरे राजाहरु मध्ये अर्जुन किल्लामा रहेका राजाले पानी पिउन प्रयोग गर्ने पंधेरो) हुंदै गाडी गुड्ने मोटर बाटो समातेर प्रसिद्ध भगवती मन्दिर रहेको समथर वरिपरि पर्खालले घेरिएर बनेको अर्जुन लेकमा पुग्न सकिन्छ ।
प्राचीन काल देखि नै अर्जुन लेकमा स्थापित अर्जुन भगवती मन्दिर, छत्रस्थान, नागस्थान, सिद्धस्थान र शिवस्थानमा पूजाआजा चलिआएको परम्परा छ । उक्त मन्दिरमा स्वच्छ ह्रदयले मागिएका बरदानहरु पुरा हुन्छन भन्ने बिश्वास समेत रहि आएको छ । यहां प्रतेक बर्षको बडा दशैंको अवसरमा घटस्थापनाको दिन देखि नवदुर्गा देवीको पूजा गर्न श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । सप्तमीको दिनमा मन्दिरमा बिधिपुर्वक फूलपाती भित्रयाउने, अष्टमीको दिन कालारात्री पूजा गरि बिभिन्न प्रकारका बस्त्र पहिराई देवीको रुपमा बाहिर मण्डपमा देवी निकाली राखिन्छ । नवमीको दिन टाढाटाढा बाट श्रद्धालु भक्तजनहरुले ल्याएका तथा मनोकाक्षां पुरा होस भनि भाकल गरेका रांगा, बोका र कुखुराको बली चढाइन्छ भने दशमीको दिनमा देवीलाई टीका चढाई आफूले पनि टिका ग्रहण गरे पश्चात बेलुका तमघास, भुजेलखर्क, कुंडापानी, बेतुखर्क, सोता र अन्य स्थानका भक्तजनहरु समेत ठूलो संख्यामा भेला जम्मा भई बाहिर मण्डपमा निकालिएका देवी देउतालाई मन्दिरमा भित्राई गुल्मी जिल्लामा प्रख्यात सरायं नाच खेली बिसर्जन गर्ने चलन छ ।

अर्जुन लेकमा बि.सं. १८५० भन्दा अगाडी बाइसे चौबिसे राजाहरु अन्तरगत भुरे टाकुरे राजाहरुको शासनकालमा राजाले शासन गरेका केहि भग्नावशेषहरु यधयी देख्न सकिन्छ । महाभारत कालखण्डमा पांच पाण्डव मध्येका एक भाई अर्जुन घुम्दै फिर्दै सो स्थानमा आई पुगेको र सोही स्थानबाटै गीताको तत्व ज्ञान प्राप्त गरेको हुंदा उहांकै नाम बाट उक्त लेकको नाम अर्जुन रहेको भन्ने बिश्वास रहि आएको छ । यसै लेकको भिरपाखामा अं १०० मीटर लामो अनौठो किसिमको गुफाको साथै छुट्टै ठूलो रुपमा भएको ओढार, राजाले पानी पिउने पंधेरो, बाजा जस्तै बजाउन सकिने फलामे शैलीको दमाहा आकारको ढुङगा, त्यहां भएका राजालाई दुस्मनले आक्रमण गर्न नसकुन भनेर वरिपरि बनाइएको ढुङगाको पर्खाल भग्नावशेषको रुपमा रहेको छ । सो किल्लाको उत्तर पश्चिम भागबाट लेकमा प्रवेश गर्ने नाकामा ढुङगाकै कपेरोमा कोपेर बनाइएको तगारो लगायतका संरचनाहरु यधपी देख्न सकिन्छ, जुन उचित संरक्षण र प्रचार प्रसारको पर्खाईमा छन् ।

लेकको पश्चिम पट्टि आडैमा टोपीफाले भन्ने स्थान रहेको छ । जहां जतिबेला पनि हावा तिब्र गतिमा चलिरहन्छ । जुन स्थान बाट जति जोडले टोपी, पछ्यौरा तथा अन्य साना तिना कपडाहरु तल फाले पनि हावाले ती कपडाहरु जहांबाट फालेको थियो सोही ठाउंमा फर्काइदिन्छ । यसलाई अनौठो नै मान्नु पर्ने हुन्छ । जैबिक बिबिधताले भरिपूर्ण यस लेक र लेकले चर्चेको इलाकामा हाल करिब १०० भन्दा बढी प्रजातीका चांप, ओखर, लालीगुंरास, कुरिलो, तेजपत्ता, चिराइतो लगायतका बनस्पतीहरु पाइन्छन् । बाघ भालु, मृग, स्याल, बांदर, ढेढुवा र दुम्सी आदि जनावरहरु पनि यस क्षेत्रमा पाइन्छन् । यसको तल्लो भागमा गाउं र गाउं माथि दक्षिण पश्चिममा करिब १६५ हेक्टर भीर पाखा, बुट्यान जुङगल र पुर्व उत्तरमा करिब १०० हेक्टर समथर जङगल पाइन्छ ।

तमघासको पुर्वी शीरमा रहेको तपोमूमी रेसुङगाको ब्यापक मात्रामा रुपमा प्रचार प्रसार भएको छ, पर्यटकहरु आकर्षित गर्नको लागि बिभिन्न खालका संरचनाहरु निर्माण भएका छन । तर ठ्याक्कै पश्चिमी शीरमा रहेको अर्जुनको उचित संरक्षण र सोही अनुरुप प्रचार प्रसार हुन सकेको छैन् । यसको चुचुरो बाट बिहान उदाउन लागेको लाल वर्णको सूर्य,अन्नपूर्ण, माछापुछ्रे, धवलागिरी, जस्ता हिमश्रृखंलाहरु, गुल्मी, अर्घाखांची,प्यूठान, वाग्लुङ, पर्वत, स्याङजा र पाल्पा जिल्लाका बिभिन्न स्थानहरुको अवलोकन गर्न सकिन्छ । जिल्लाको सदरमुकामको पश्चिमी शीरमा रहेको यस्तो रमणीय र मनमोहक लेक जहां परापुर्व कालदेखि देवीको शक्ति भएको, चारैतर्फ गाउं बस्ती भएको शुन्दर स्थल अर्जुन लेकलाई एउटा प्रमुख पर्यटकीय स्थलको रुपमा बिकास गर्नु अपरिहार्य रहेको छ ।
यस क्षेत्रलाई पर्यटकीय स्थलको अलावा पिकनिक स्थलको रुपमा पनि बिकाश गर्न सकिन्छ । जसले गर्दा स-शुल्क पिकनिक स्थलको रुपमा ब्यबस्थित गर्न सकेमा सम्बन्धित निकायको आय आम्दानीमा समेत टेवा पुग्न गई रोजगारीको अबसर समेत श्रृजना गर्न सकिन्छ । तर यहांको प्रमुख समस्या भनेको नै पानी नहुनु हो । अर्जुन लेक तथा यसको आसपासको क्षेत्र घना जङगलले घेरिएको हुंदाहुंदै पनि यहां यथेष्ठ पानीको श्रोत भने छैन् । तसर्थ पानीको उपलब्धता हुन सकेको खण्डमा यस क्षेत्रलाई पर्यटकीय स्थलको अलावा पिकनिकको स्थलको रुपमा पनि बिकाश गर्न सकिन्छ । जैबिक बिबिधताले भरिपूर्ण पुरातात्विक, ऐतिहासिक तथा धार्मिक देवस्थल समेत भएको र प्रशस्त पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको संरक्षणमा सरोकारवालाहरु लागेको खण्डमा अर्जुन लेकलाई ओझेलमा पर्न बाट बचाउन सकिन्छ ।
(तमघास कुडापानी निवासी माधब पन्थीको सहयोगमा)

लेखकः जिल्ला प्रहरी कार्यालय मुस्ताङका कार्यालय प्रमुख तथा प्रहरी नायव उपरीक्षक हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com