चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सेवा बन्द गर्ने
नेपाल चिकित्सक संघले भोलि (आइतबार)देखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ । संघले शनिबार विज्ञप्ति जारी गरी त्यस्तो जानकारी गराएको हो ।
गत भदौ २७ गते मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा आन्दोलन थालिएको संघले जनाएको छ ।
डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले उल्लेख गरेको छ । घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो । दोषीमाथि अझै कारबाही नगरिएको भन्दै संघले सेवा बन्दको कार्यक्रम सार्वजनिक गरेको हो ।
संघले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्ने लगायत माग पनि संघले गरेको छ ।

