पाल्पा सिद्दबाबामा पहिरोले जिप च्याप्दा ३ घाइते
पाल्पा ।
पाल्पाको सिद्दबाबा क्षेत्र अन्तर्गत सिद्धार्थ राजमार्गमा आज बिहान पहिरोले गुडिरहेको जिपलाई च्याप्दा तीन जना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको जिपलाई एक्कासी माथिबाट झरेको पहिरोले च्याप्दा तीन जना घाइते भएका हुन् ।
जीपमा तानसेन नगरपालिका १४ अर्गलीका ४० वर्षीय दिलीप न्यौपाने, सुद्धोधन गाउँपालिका ४ रुपन्देहीका २४ वर्षीय चन्दन कार्की र नवलपुर विनयी त्रिवेणी७ का ३२ का विवेक कार्की सवार रहेको प्रहरीले जनाएको छ ।
घाइते तीन जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।
राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका ३ दोभान सिद्धबाबा नजिकै नाग मन्दिरको आइडमा माथिल्लो भागबाट ढुंगासहितको पहिरो खसेर जिप च्यापेको हो ।
पहिरोले केही समय अवरुद्ध राजमार्ग ढुंगा फालेर एकतर्फी खुलाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।