पशुउद्यमशीलताबाट व्यवसायिक बाख्रापालनमा सघाउदै किसानलाई घाँसको बिरुवा वितरण
पाल्पा ।
व्यवसायिक पशुपालनलाई जोड दिदै कृषि तथा पशुउद्यमशीलता परियोजनाबाट पाल्पाको रामपुर नगरपालिकाका किसानलाई उन्नत जातका घाँसको बिरुवा वितरण गरिएको छ ।
नगरपालिकाभित्रका यस कार्यक्रममा आबद्ध भएका करिब १ हजार १ सय किसानलाई समूहमार्फत बिरुवा उपलब्ध गराएको हो । नगरपालिकाले सञ्चालन गरेको रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत विभिन्न वडामा गठन भएका स्वावलम्वन समूह र युवा समूह गरी ५१ समूहलाई घाँसका बिरुवा वितरण गरेको परियोजना संयोजक सञ्जु परियारले जानकारी दिनुभयो ।
गुल्मीको इस्माबाट बिरुवा खरिद गरी नेपियर (रातो र सेतो), राइ खनियु, बडहर, किम्बु जातका घाँस ल्याइएको थियो । ढुवानीसहित करिब ६ लाखको लागतमा बिरुवा खरिद गरेर वितरण गरिएको हो ।
परम्परागत पशुपालनलाई व्यवस्थित र व्यवसायिक बनाएर आत्मनिर्भरतर्फ किसानलाई अगाडि बढाउन नगरपालिकाले उन्नत जातका घाँसका बीउ निःशुल्क वितरण गरेको हो । रामपुर क्षेत्रमा पुरानो रुखहरु खोक्रो हुने ढल्ने र नयाँ रुख कम मात्रामा रोपिने र उन्नत विरुवा नहुँदा गाई बस्तु बाख्रापालनमा समस्या हुदै गएपछि कार्यक्रमबाट उन्नत जातको विरुवा ल्याइएको छ ।
विरुवा वितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले मासुमा नगरलाई आत्मनिर्भर बनाउनका लागि परियोजना चलाइएको बताउनुभयो । पशुपालनका लागि रामपुर उपयुक्त छ, थापाले भन्नुभयो–परम्परागत पशुपालन छाडेर आधुनिक प्रविधिबाट उन्नत कृषि र पशुपालन गर्न हामीले किसानलाई प्रेरित गर्दैछौ । पशुपालनमा विभिन्न अनुदान, औषधी, सीपमूलक तालिम, प्रविधि सहयोग गरेको छ ।
समूहमा आबद्ध सदस्यलाई उन्नत जातका माउ बाख्रा र समुहमा एउटा बोका वितरण, विभिन्न तालिम, बाख्रालाई जुका माटेको औषधी तथा भिटामिन र प्रविधि दिइएको छ ।