सिटिइभिटीको गाडी सुनकोशी नदीमा खस्दा ३ जना अझै बेपत्ता
सिन्धुली ।
सिटिइभिटीको गाडी सुनकोशी नदीमा खस्दा ३ जना अझै बेपत्ता भएका छन्। एक जनाको उद्धार गरिएको छ।
खोटाङका लागि हिडेका उनीहरु सवार गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ लौकुनबाट सुनकोशी नदीमा खसेको हो। सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी बिहान करिब ११:३० बजे नदीमा खसेको प्रत्यक्षदर्शीको भनाई छ ।
गाडी सडकबाट झण्डै १ सय ५० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ।
गाडीमा ४ जना सवार थिए। चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरीको उद्धार गरिएको छ। सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव सहित अन्य ३ जना बेपत्ता छन्।
सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक भानु पौडेल बेपत्ता छन् उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिनुभएको छ ।
उद्धारको लागि नजिकका सशस्त्र प्रहरी बल, गुल्म र नेपाल नं. २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा ७ जना गोताखोर टोली खटिएको डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ।