पाल्पा ।

पुर्वखोला गाउँपालिका वडा नं. ६ हेक्लाङ्गमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन भएको छ ।

आम नागरिकलाई गाउँमै स्वास्थ्य सेवा दिने उद्देश्यले हेक्लाङ्मा बनेको स्वास्थ्य भवनको प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्य र प्रदेशसभा सदस्य खेम बहादुर सारुले उद्घाटन गर्नुभयो ।

भवन उद्घाटन गर्नुहुदै प्रतिनिधिसभा सदस्य आचार्यले भौतिक संरचना निर्माण र गुणस्तरीय सेवा दिन राज्य लागेको बताउनुभयो। प्रदेशसभा सदस्य खेम बहादुर सारुले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि सुरु देखिनै पुुर्वखोला गाउँपालिका लागिपरेको बताउनुभयो । सारुले गुणस्तरीय शिक्षा र मजबुत स्वास्थ्य क्षेत्रका लागि प्रदेश सरकार संग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

गत बि.स.२०७७ माघ १८ गते ठेक्का सम्झौता भएको स्वास्थ्यभवन १ करोड ७ लाख ४६ हजार ८ सय ३६ रुपैंया लागतमा बनेको हो । संघिय सरकारको ७५ लाख, जिल्ला समन्वय समितिको ३० लाख र गाउँपालिकाको २५ लाख रुपैंया बजेट र भवन मर्मतका लागि ५ लाख रुपैंया विनियोजन भएको छ ।

भवन नहुँदा बिरामीले दुख पाएका थिए भवन बनेसंगै अब सेवा दिन र लिन सहज हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयो । स्थानीय नागरिकहरु स्थानीय क्षेत्रमा गुणस्तरिय सेवा सहितको स्वास्थ्य चौकी भवन पाएपछि उत्साहित भएका छन् ।

गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले भवन बन्नु मात्र ठूलो नभई यसलाई सचेतपूर्वक उपयोग गर्नुमा जोड दिने बताउनुभयो । सोही अबसरमा पालिकाले स्वास्थ्य चौकी भवन निर्माणका लागि निशुल्क जग्गा दान गर्ने व्यक्तिलाई सम्मान गरेको छ । सोही अबसरमा बच्चाको नियमित तौल लिन आउने आमा र  बच्चाहरुलाई स्वास्थ्य तथा सरसफाईका सामग्री प्रदान गरेको छ । हेक्लाङ्गलाई पुर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ साथै सुरक्षित गर्भपतन सेवाको सुरुवात समेत भएको छ ।