मकैमा गवारो लागेपछि किसान चिन्तित, खडेरीले पाल्पामा मकै उत्पादन घट्छ- कृषि प्रमुख पाण्डे
पाल्पा ।
गवारोले मकै सखाप पार्न थालेपछि पाल्पाको रामपुर क्षेत्रका किसान चिन्तित भएका छन्।
व्यावसायिक रूपमा मकै खेती गरिने पाल्पाका विभिन्न स्थानका किसान आकाशबाट पानी नपरेपछि मकैमा फौजी किराको प्रकोप, गवारो लाग्न, सुक्न थालेकोमा चिन्तित हुँदै कृषि कार्यालय र एग्रोभेट धाउन थालेका छन् ।
जिल्लाको उत्पादन भुभाग रामपुर फाटमा यतिबेला किसान नगरपालिका कृषि शाखामा मकैमा देखिएको समस्या लिएर पुग्ने गरेको कृषि शाखा प्रमुख रामहरी पाण्डेले बताउनुभयो । नगरपालिकाको मटेरी, भम्बक, बेझाडखेत, गेझा, गण्डकीढिक, भलायटार लगायतका क्षेत्रमा गवारोको प्रकोप देखिएको हो। नगरका माथिल्लो भेगमा पछि मात्र मकै छरेकोमा पानी अभावले मकैको दाना सुक्ने, पातलो उम्रीएको मकै पनि सुक्ने र किरा लाग्ने भएको छ । झण्डै २ महिनाका मकै पनि होचो, किराको प्रकोपले हराउन थालेका छन् । अहिले किसान नगरपालिकामा कृषि प्राबिधिक संग सल्लाह लिएर औषधि छर्न थालेका छन् ।
कृषि शाखामा यो समस्या लिएर आउने किसानलाई औषधि छर्न सल्लाह दिएको कृषि शाखा प्रमुख पाण्डेले बताउनुभयो । धेरै क्षेत्रफलमा मकै खेती गरिन्छ, किसानलाई धेरै औषधि दिन नसकिएपनी यहाँ आएका किसानलाई औषधि सहित छर्ने तरिका सिकाएर पठाएका छौ पाण्डेले भन्नुभयो ।

रातमा सक्रिय हुने फौजी किराले मकैको गुभाबाट खान सुरु गरेर पूरै मकैको बोट नष्ट गरिरहेको रामपुर ७ कि किसान टकादेवी भट्टराईले गुनासो गर्नुभयो । दिनदिनै किराको प्रकोप बढ्न थालेपछि आगामी बर्षलाई बिउको समस्या हुन सक्ने रामपुर ६ कि किसान सीता देवकोटाले बताउनुभयो ।
नगदेबाली मकैबाट राम्रो आम्दानी लिने सोच बनाएका किसान गवारोको आक्रमणबाट अनिकालले सताउने हो कि भनेर चिन्तित छन्।
रामपुर नगरपालिकामा २५ सय हेक्टरमा मकै खेती हुने गर्दछ । यसको आधा बढी भागमा उत्पादन कम हुने अनुमान गरिएको पाण्डेले बताउनुभयो । कृषि शाखाको टोली प्रभावित केही क्षेत्रमा पुगेको छ ।
पाल्पाका मकै उत्पादन हुने समथर भुभाग रामपुर, सगाहा, अर्गली, माडी फाट सहित पहाडी भेगमा समेत पानीको अभाबमा मकैमा किरा लागेको छ । मकै बालीबाट राम्रो आम्दानी लिने सोच बनाएका किसान गवारोको आक्रमणबाट चिन्तामा परेका छन्।
रामपुर नगरपालिकाले यसबर्ष वडा नम्बर २ र ३ मा मकै विकास पकेट कार्यक्रम चलाएको छ । नहर नलाग्ने सुख्खा क्षेत्रमा भएको यो कार्यक्रम अन्तर्गतको मकै खेतीमा पनि फौजी किराको प्रकोप गवारोले मकै फस्टाउन नसकेको मकै पकेट कार्यक्रम सेनेटारी कृषक समुह रामपुर २ भलायटारका सचिव किसन बहादुर क्षत्रीले बताउनुभयो । यहाँ ३ सय रोपनीमा मकै पकेट क्षेत्र कार्यक्रम चलेको छ । जमिन सुख्खा भयो, कही उम्रेकै छैन, फ्याट्टफुट्ट उम्रेको पनि किरा लागेको छ बोट सिधै सुक्दै गएको क्षेत्रीले भन्नुभयो- निस्दीखोलाबाट लिफ्टिङ योजनाको काम शुरु भएपनि अहिले सिचाइ नहुदा यस क्षेत्रमा आकाशको पानीको भर पर्नु बाहेक अर्को बिकल्प छैन ।
भुमिका कृषक समूह रामपुर ३ मा पनि ३०० रोपनीमा मकै पकेट कार्यक्रम नगरपालिकाले संचालन गरेको छ । डाडाभेग सुख्खा यहाँ आकाशबाट पानी पर्ने आशामा ढिलो मकै छर्न पुगेको अध्यक्ष यम कुमारी रानाले बताउनुभयो । पानी परेन छरेका मकै भुट्ने जस्तो गरि पड्किन पुग्यो हिजो आज फेरि कतिपयले छरेका छन् रानाले भन्नुभयो । झण्डै ३० किसान यो कार्यक्रममा जोडिएका छन् । पानी नपरेपछि बोट देखिएका भागमा पनि सुक्दै जाने र दाना नहाल्ने स्थितिमा पुगेको अध्यक्ष रानाको भनाई छ । यो हप्ता पानी नपरे हेर्न जान पनि पर्दैन पछि पानी परेपछि फेरि छर्न बीउको समस्या हुन्छ उहाँले थप्नुभयो ।
नगरपालिकाको रामपुर २ भलायटार र रामपुर ३ लामटाङमा मकै विकास पकेट क्षेत्र कार्यक्रम चलिरहेको छ । नगरपालिकाले मकै उत्पादन वृद्धि गर्न ५०% अनुदानमा बीउ बितरण गरि कार्यक्रम गरेको हो ।
रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेले मकै किराले खाएको समस्या लिएर आएका किसानलाई परामर्श सहित औषधि दिने, केही भागमा अबलोकन गरि सोही अनुसार किसानलाई औषधी छर्न सुझाइएको जानकारी दिनुभयो । पानी अझ नपरेको खण्डमा किराको आक्रमण बढ्दै जाने उत्पादन लिन नसकिने अबस्था आउन सक्ने बताउनुभयो ।