रामपुर मधुकोटको आगोलागी पुर्ण नियन्त्रणमा, उद्धारमा २ जना घाइते,५ घर जले
पाल्पा ।
जंगलमा लागेकाे आगोले बस्तीका ५ घर समेत जलेपछि अहिले रामपुर नगरपालिका ९ मधुकाेटमा आगो पुर्ण नियन्त्रणमा आएको छ । आगोलागीबाट ५ घर र गोठहरु पुर्ण रुपमा जलेको हो ।

सोमबारदेखि फलिएको आगो मंगलबार अबेर बस्तीमा सल्किन पुगेको थियो । बस्ती सखाप पार्ने भयले आगोलागी निभाउन गएका २ जना घाइते भएका छन् ।

आगो निभाउने क्रममा आगोलागी पिडित दल बहादुर साठीघरे र उहाँको बुहारी लक्ष्मी साठीघरे घाईते हुनुभएको हो ।
जङ्गलमा लागेको आगो मंगलबार दिउँसो साढे ३ बजे बस्तीमा पसेको थियो । आगोलागीबाट दल बहादुर साठीघरे, ऎतुराम साठीघरे, खेम बहादुर साठीघरेको १/१ वटा र लोक बहादुर साठीघरेको दुई वटा घर जलेर नष्ट भएको रामपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष डिल बहादुर रानाले जानकारी दिनुभयो। लोक बहादुरको दुई घर मध्य अर्को घरमा भने आंशिक क्षति पुगेको छ । आगोले ५ वटा गोठ तथा टहरा पनि जलेको छ ।

मधुकोट जंगलको आगो सुरुमा दल बहादुर साठीघरेको घर नजिकैको कटेरोमा लागेको थियो । दिउँसोको समयमा घरमा कोही नभएको अवस्थामा एक पछि अर्को गर्दै घर तथा गोठहरुमा आगो सल्केको स्थानीयको भनाई छ ।
घरमा भएको आगोलागि बाट अन्न, लत्ताकपडा, नगद तथा गरगहना सबै जलेर नष्ट भएको छ । स्थानीयबासी र युवा स्वरोजगार कार्यक्रम अन्तर्गत सडक मर्मतमा खटिएको टोलीले आगोबाट केही सामान र वस्तुभाउको उद्धार गरेको थियो ।

स्थानीयबासी, जनप्रतिनिधि, प्रहरी, नेपाली सेनाले आगो निभाएका हुन् । आगोलागी बाट पिडित परिवार मध्ये केही छिमेकी र केही सिद्ध प्राथमिक विद्यालयमा बसेका छन् ।
आगो लागेको होहल्ला र खबर संगै नजिकका बस्तीका नागरिक, रामपुर नगरपालिकाका जनप्रतिनिधि सहित कर्ममचारी तथा सरोकारवालाहरु मधुकोट गाउँ पुगेका थिए ।
तस्बिर- राजन सुनार

