पाल्पा महोत्सवमा दर्शक बढ्दै, शुक्रबार खुमन देखि इन्द्र जि.सि.को प्रस्तुति रहने
पाल्पा ।
१३ औं ‘पाल्पा महोत्सव’मा दर्शकको संख्या बढ्दै गएको छ । महोत्सवको दिन घर्किदै जादा मेलामा किनमेल गर्ने र कलाकारको रमाइलो प्रस्तुतिमा भुल्नेहरु बढ्दै गएका छन् ।
अन्य दिन भन्दा बिदाको दिन बालउद्यनमा खेल्न रमाउन पुग्ने बालबालिका, उनिहरुका अभिभावक र युवाहरुले खचाखच भरिने गरेको छ । महोत्सवमा पानीले केही दिन प्रभावित भए पनि सफलता उन्मुख रहेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो ।
मेलामा किनमेल गर्न पुग्नेहरु पनि उत्तिकै स्टलमा झुम्मिएका देखिन्छन् । फलफुलका बिरुवाका स्टल, फेन्सी, भाडा देखि जिल्लाका उत्पादन र कलाका स्टलमा पुग्ने र किन्नेहरु बढी भेटिन्छन् ।
बैशाख २२ गते (शुक्रवार) चर्चित गायक खुमन अधिकारी, ईन्द्र जिसीदेखि गायिका शिलु भट्टराई लगायतको एकल र दोहोरी प्रस्तुति रहने प्रचार-प्रसार समिति संयोजक बिदुर घिमिरेले जानकारी दिनुभयो । स्थानीय कलाकेन्द्र र कलाकारको गीत नाचले दर्शकको ध्यान खिच्ने गरेको छ । आयोजकले दैनिक चर्चितगायक गायिका तथा कलाकारलाई आकर्षणको केन्द्र बनाएर मेला संचालन गरेको छ । गायक हुम गैरे र गायिका तथा उद्घोषक मन्जु पौडेल, गायिका लक्ष्मी नेपालीको सांगीतिक प्रस्तुति पनि शुक्रबार रहनेछ। कलाकार किरण चित्रकार र सुमित कुमार घिमिरेको हास्य व्यङग्य प्रस्तुति पनि दर्शकका लागि आकर्षण हुने सास्कृतिक संयोजक भिम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
सार्वजनिक विदा परेकाले पनि भोलि दर्शकको उपस्थिति बाक्लो रहने अपेक्षा आयोजक उद्योग वाणिज्य संघको छ । गत बैशाख १४ गतेबाट सुरु भएको महोत्सव २४ वैशाखसम्म चल्नेछ ।