डढेलो सबैको चुनौती, नियन्त्रणमा प्रतिबद्ध होऔं
पाल्पा ।
हिउँदको समय डढेलो सबैको चुनौती रहेको पाल्पाको रामपुरमा भएको एक कार्यक्रमका बत्ताहरुले बताएका छन् । डढेलो नियन्त्रण गर्न र लागि हालेको खण्डमा यसको रोकथाममा प्रतिबद्ध रहन उनीहरुले जोड दिएका छन् ।
डिभिजन बन कार्यालय पाल्पा र रामपुर सब डिभिजन वन कार्यालयको आयोजना तथा सामुदायिक वन उपभोत्ता महासंघ रामपुरको व्यवस्थापनमा रामपुर ५ रेशम हलमा भएको कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बनकर्मी र उपभोत्ताको प्रयासले रामपुर क्षेत्र डढेलोको रेड जोनमा नपर्ने तर कही कतै डढेलो लाग्ने गरेको बताउनुभयो ।

डढेलो नियन्त्रणका लागि सामुदायिक वन र उपभोत्ता चनाखो हुदै पात पतिंगार सफा गर्न, फायर लाइन बनाउन उहाँले आग्रह गर्नुभयो । जिल्लामा डढेलो नियन्त्रणको लागि संयन्त्र बनेको बताउदै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी सहितको सामुदायिक वन समुह र उपभोत्ताले रेखदेख र चनाखो हुने गरि जिल्लामा डढेलो नियन्त्रण गर्नमा सहकार्य गर्ने उहाँको भनाई थियो । अघिल्लो बर्षको तुलनामा गतबर्ष जिल्लामा डढेलो कम लागेको रेकर्डले देखाउछ भट्टराईले भन्नुभयो–यसबर्ष छिटो पानी नपरेको र प्रायः सालको बाक्लो पात सहित पात पतिंगार हुने भएकाले यसबर्ष डढेलोको जोखिम बढी छ । आर्थिक मन्दीको डरलाग्दो स्थिति नेपालीमा पनि देखिएकोले वनले पनि एकैपटक ठुला र धेरै योजना नगराई क्रमशः कार्यक्रम गर्ने र जिल्लाबाट पनि यसबर्ष तोकिसकिएको बाँकी कार्यक्रम सक्ने र आगामी बर्र्ष पुरा बजेटलाई व्यवस्थित गरि कामको प्रतिफलमा जोड्ने गरि अभियान जिल्लाभर नै लैजाने उहाँको भनाई थियो ।
कार्यक्रममा सामुदायिक वन महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले डढेलो नियन्त्रणमा सामुदायिक बनका उपभोत्ताको योगदान नेपालमै उत्कृष्ट रहेको बताउनुभयो । सरकार र सामुदायिक वन बिच वनको जस कसले लिने बिषयमा सदैव द्धन्द रहेको उल्लेख गर्दै श्रेष्ठले सामुदायिक वन महासंघले समुदायलाई अधिकार दिनुपर्छ भनेर राज्य सँग लडिरहेको बताउनुभयो । उहाँले रामपुर नगरपालिकामा महासंघ र उपभोत्ता बसेर स्थानीय वन ऐन बनाएपनि लागु गर्न स्थानीय सरकारले कन्जुस्याई गरेको बताउनुभयो । स्थानीय सरकारलाई ऐनले दिएको अधिकार लिन पनि सकिरहेको छैन उहाँले भन्नुभयो ।

रामपुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष दुर्गा प्रसाद पोखरेलले सामुदायिक वनका उपभोत्ता र सरकार मिलेर हरियाली रामपुर बनाउने खाकामा यसबर्ष काम गर्ने बताउनुभयो । कार्यक्रममा सामुदायिक वन महासंघका प्रदेश सदस्य बिन्दु श्रेष्ठ, ज्याग्दी सामुदायिक वन उपभोत्ता समुहका सचिव विष्णुमाँया ढकालले बन संरक्षण, लेखा व्यवस्थापन, समयमा नै नवीकरण, वनमा समान सहभागिता र निर्णायक तहमा महिला उपभोत्ताका बिषयमा बोल्नुभएको थियो ।
सव डिभिजन वन कार्यालय रामपुरका प्रमुख सुजन राजभण्डारीले डढेलो बिषयमा सहजीकरण गर्दै नेपालमा प्राकृतिक भन्दा पनि मानव कै कारण प्रायः डढेलो हुने गरेको बताउनुभयो । डढेलोबाट वन सहित बस्ती र जिउज्यान जोगाउन, हुनसक्ने डढेलो नियन्त्रणको पुर्व तयारी, संभावित क्षेत्रको सर्तकता, मानवको लापरवाही र नियन्त्रणको प्रयासबारे जानकारी दिनुभएको छ ।

रामपुर सव डिभिजन वन कार्यालय अन्तर्गत रहेका वन मध्ये राम्रो अनुभव लिएका र उत्कष्ट कार्य गरेका वनको प्रतिवेदन सहित राम्चे सामुदायिक बन अध्यक्ष दयाराम गैरे, बडवान् सामुदायिक बन अध्यक्ष प्रेम बहादुर पोखरेल, बन अन्तर्गत दुनाटपरी उद्योग सञ्चालन गरेको चेतना आमा समुहका सचिव सदिक्षा बराल लगायत १ दर्जन बढी बन उपभोत्ताले बनले गर्दै आएको झाँडी सफाई, कटानी छटानी, विधान चुस्तदुरुस्त, लेखा प्रतिवेदन, डढेलो नियन्त्रणमा खेलेको भुमिका, पर्यटन प्रर्वद्धन, गिद्ध संरक्षण, पार्क निर्माणका बिषयमा सिकाई आदानप्रदान गरेका थिए ।
सामुदायिक वन उपभोत्ता महासंघ रामपुरका अध्यक्ष मित्रा ढकालको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ रामपुरका महासचिव लक्ष्मी थापाले स्वागत गर्नुभएको थियो भने सञ्चालन वन कार्यालयका कर्मचारी केश बहादुर खण्डलुकले गर्नुभएको हो ।
