१५ शैयाको रामपुर आयुर्वेद अस्पताल रामपुर नगरपालिकालाई हस्तान्तरण
पाल्पा ।
३ बर्षमा निर्माण सम्पन्न पश्चात् पाल्पाको रामपुर आयुर्वेद अस्पतालको भवन सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले स्थानीय सरकार रामपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
नेपाल सरकारले १५ शैयाको अस्पतालसम्म स्थानीय सरकारले संचालन गर्ने नीति लिए संगै संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले बुधबार स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो । शिवशक्ति कन्स्ट्रक्सन प्रालिले ११ करोड ३३ लाख ४९ हजार ९३ रुपैयाँ ७६ पैसाको लागतमा निर्माण गरेको भवन सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीका प्रमुख विदुर खड्का र आयोजना प्रमुख बिक्रम भण्डारीले रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापालाई हस्तान्तरण गर्नुभएको हो ।

१०६७ बर्ग मिटर क्षेत्रफलमा फैलिएको जग्गामा निर्मित ६८ कोठे तीनतले भवनमा कार्यालय प्रयोजनका लागि आवश्यक भौतिक संरचना छ । जहाँ योगा हल, अपरेशन कक्ष, एक्सरे कक्ष, बैठक हल, पुर्व र पश्च कक्ष, ल्याब कक्ष र डाक्टरको २ वटा क्याबिन रुम ४४ शौचालय रहेको साइट इन्जिनियर सुन्दर बस्यालले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले स्थानीय तहले संचालन गर्ने प्राबधान भएपनि ३ वटै सरकारले व्यबस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । आयुर्वेदिक उपचारले कुनै साइड इफेक्ट गर्दैन श्रेष्ठले भन्नुभयो- निर्धक्क भएर उपचार गर्न यस क्षेत्रको अभिभावक सस्था भएर आयुर्वेदिक अस्पताल लाग्नेछ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले आयुर्वेद अस्पतालबाट आयुर्वेदिक र आधुनिक पद्धतिबाट सेवा प्रदान गर्न सके देशकै नमुना आयुर्वेदिक औषधालय बन्ने बताउनुभयो। ‘रामपुरमा लुम्बिनी प्रदेशकै उत्कृष्ट भौतिक संरचना बनेको छ,पन्तले बताउनुभयो- स्थानीयले यसको व्यबस्थापनमा हिम्मत गर्नुपर्छ ।

रामपुर आयुर्वेद अस्पतालका प्रमुख चेमनप्रकाश पोखरेलले तीन तहको सरकारबीच समन्वय गरेर यसको सञ्चालन र व्यवस्थापन गर्नु पर्ने बताउनुभयो। आयुर्वेद उपचार पद्धति प्रति मानिसको जनविश्वास बढेकाले गुणस्तरीय सेवाका लागि पहल गर्नुपर्ने पोखरेलको भनाई छ ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले भौतिक संरचना प्राप्त गर्नु गौरव भए पनि सञ्चालन, व्यवस्थापन र संरक्षणमा चुनौती थपिएको बताउनुभयो । ‘नगरपालिकाको आन्तरिक स्रोतको अभाव छ, करोडौको इकुभमेण्ट र जनशक्ति व्यबस्थापन गर्नुपर्छ स्थानीय र सरोकारवाला बिच छलफल गरेर अघि बढ्छौ उहाँले भन्नुभयो । उहाँले १/२ करोड छुट्याएर काम गर्न सहज छ तर करोडौंको सामान किनेर उपयुक्त सेवा दिन नसकिने जस्तो भए नियमित प्रक्रियाअनुसार १५ शैयाबाट २५ शैयामा स्तरवृद्धि गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने विकल्पतिर सोच्नुपर्ने अवस्था भएको बताउनुभयो ।

पाल्पाको रामपुरमा वि.सं. २०१७ सालमा रामपुर आयुर्वेद औषधालयको रुपमा आयुर्वेद स्थापना भएको थियो । औषधालय २०२९ सालमा लुम्बिनी अञ्चल औषधालयको रुपमा सञ्चालनमा आएकोमा २०४३ माघपछि रामपुर आयुर्वेद औषधालय बनेको हो ।
२०७५/०७६ को पुषमा ठेक्का लागेपनि लकडाउनले १ बर्ष काम हुन नसकेकोमा २०७७ मंसिरबाट द्रुत गतिमा काम भई २०७९ पुषमा भवन निर्माण सम्पन्न भएको हो ।