रामपुर बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न
पाल्पा ।
रामपुर बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । साधारण सभाको उट्घाटन गर्दै संविधान सभा सदस्य राधाकृष्ण कंडेलले सहकारी जनमुखी देखि आश देखाएर भाग्नेसम्मका हुने गरेको बताउदै व्यापार व्यवसाय र स्वरोजगार बनाउने लक्ष्यप्राप्तिलाई चुम्दै अगाडी बढ्न सहकारीलाई शुभेच्छा व्यक्त गर्नुभयो । आम सदस्यलाई दिगो विकास र आर्थिकोपार्जन हुने गरि बचत र क्रृण लगानी मात्र नभई उद्योगी व्यापारीलाई औधोगिक व्यवसायिकता तर्फ बढाउदै रोजगारी सिर्जना गर्न सहकारीलाई सुझाव दिनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेलले सहकारीले वित्तिय सेवा प्रदान गर्नुका साथै आर्थिक चलायमानमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । नेकपा एमाले रामपुर नगर कमिटि अध्यक्ष विष्णु प्रसाद रेग्मीले सहकारीले शेयर सदस्यहरुको भावना अनुरुप हितमा लाग्नुपर्ने बताउनुभयो । नेकपा एकिकृत समाजवादी रामपुर नगर कमिटि अध्यक्ष फणेश्वर गौतमले सहकारीहरु जनताको मर्म अनुरुप अर्थतन्त्र बलियो बनाउदै जनताकै हितमा लाग्नुपर्नेमा जोड दिनुभयो । सोही अबसरमा आधारभूत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराई, ग्लोबल आईएमई बैंक रामपुर शाखा प्रबन्धक बाबुराम लम्साल, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटा, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सिर्जना घिमिरे, शेयर सदस्य शम्भु प्रसाद अर्याल र नारायणी सुवेदीले सहकारी र शेयर सदस्यको सफलताको शुभकामना दिदै सहकारी निति, बिधि र प्रविधियुक्त भई सेवामा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष श्रेष्ठले सहकारीलाई प्रविधिमय बनाउदै झनै व्यवस्थित रुपमा अगाढी बढाउने बताउनुभयो ।

यस्तै सहकारीले साधारण सभाको अवसरमा सहकारीले उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विद्यामा पुरस्कृत गरेको छ । असल ऋणी सदुपयोग तर्प पूर्ण बहादुर कुमाल, असल ऋणी निरोज श्रेष्ठ र कमला पाण्डे, बालबचत कर्ता अर्पण श्रेष्ठ र ओमकला आले, नियमित बचतकर्ता फत्त बहादुर थापा र दमकली ठाडा राना, असल बचत कर्ता माधव प्रसाद घिमिरे र करमौती वि.क.लाई भाग्यमानी पुरस्कारबाट पुरस्कृत गरेको हो । सहकारीले ७० वर्ष पुरा भएका ३४ जना जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।

साधारण सभाको अवसरमा सहकारीले शेयर सदस्य दुर्घटना विमा अन्तर्गत दुर्घटनामा मृत्यु हुनुभएका शेयर सदस्य रामपुर ५ का सूर्य प्रसाद श्रेष्ठको परिवारलाई दुर्घटना विमा वापतको रकम प्रदान गरेको छ । सगमाथा इन्स्योरेन्स कम्पनी रामपुर शाखामा सहकारीले शेयर सदस्यहरुको सामुहिक दुर्घटना विमा गरेकोमा दुर्घटना विमा वापतको दाबी रकम प्रमुख अतिथि संविधान सभा सदस्य कडेंल, सहकारीका अध्यक्ष श्रेष्ठ र सगरमाथा इन्स्युरेन्स रामपुरका प्रमुख डोलराज श्रेष्ठले मृतक शेयर सदस्यका छोरा हरि श्रेष्ठलाई १ लाख दावी रकम भुक्तानी प्रदान गर्नु भएको हो । संस्थाका उपाध्यक्ष नगिलाल पौडेलको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव लेखनाथ शर्मा मरासिनीले गर्नु भएको हो । सभामा डि एण्ड जि कलाकेन्द्रका कलाकारले नाच प्रस्तुत गरि रमाइलो बनाएका थिए ।

वि.स.२०६५ सालमा रामपुर बचत तथा ऋण सहकारी र चन्द्रज्योति बाल बचत एकिकृत भई सञ्चालनमा रहेको सहकारीमा हाल ४ हजार १ सय ९२ शेयर सदस्य छन् । संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा १ करोड ५१ लाख ७८ हजार बढी मुनाफा गर्न सफल भएको थियो । सहकारीको चौथो अधिबेसनको नयाँ समिति गठन प्रक्रियामा गएको छ । केही समयमा नै अधिबेसनले नयाँ नेतृत्व चयन गर्ने सहकारी संस्थाले जनाएको छ ।
