रामपुर नगरसभाको १२औं अधिवेशन शुरु, विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि२०७९ पारित
पाल्पा ।
रामपुर नगरपालिका नगरसभाको १२ औं अधिवेशन शुरु भएको छ । नगरसभा उद्घाटन सहित पहिलो बैठक सम्बोधन गर्दै नगरप्रमुख रमण बहादुर थापाद्धारा चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरुबारे प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेलाई राख्न अनुरोध गर्नुभयो ।

न्यौपानेले योजना समयमै सम्पन्न गर्ने तर्फ नगरले ध्यान दिएको बताउनुभयो । नगर सभामा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनाभित्र गरेको कार्य सम्पादन, योजना र कार्यक्रमहरूको प्रगति विवरण राख्नुभयो ।
रामपुर नगरपालिकाको आर्थिक बर्ष २०७९/०८०को कुल अनुमानित बजेट ६५ करोड २७ लाख ५० हजार ९ सय मध्ये हालसम्म अनुदान, राजश्व र आन्तरिक स्रोत गरि २७ करोड ४७ लाख ९५ हजार ६ सय रुपैयाँ प्राप्त भइसकेको बताउनुभयो । जहाँ चालु खर्च ३३.६९ प्रतिशत र पुजीगत खर्च ७.२६ प्रतिशत भएको र हालसम्म कुल २३ दशमलव ७१ प्रतिशत रकम खर्च भएको छ ।

नगरका विषयगत शाखा तथा वडागत कार्यालयको प्रगति विवरण पेस गर्दै न्यौपानेले हालसम्म नगरभित्रका ५ सय ५४ योजनामध्ये १ सय ५८ को लागत अनुमान भएको र ५२ योजनाको सम्झौता सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पशु, वन वातावरण, महिला बालबालिका तथा जेष्ठ नागरिक, न्यायिक समिति,पञ्जीकरण सहितका बिषयगत शाखाबाट चालु आर्थिक वर्षमा हासिल भएका उपलब्धि र प्रयासहरुको प्रगतिबारे जानकारी दिनुभएको थियो ।
यस आवमा ५० नयाँ घर दर्ता भएको, ९० वटा घरको सम्पन्न प्रमाणपत्र दिईएको, ११४ वटाको नयाँ घर अभिलेखीकरण र १९ वटाको पुरानो घर अभिलेखीकरण प्रमाणपत्र दिएको जानकारी दिईएको छ । उहाँले आईईई गरेर खयरबोट, भलायटार, बहखोला, पाँचसय खोला घाटको ठेक्का लागिसकेको, लिप्सिमझुवा र मठारघाटको पुनः टेण्डर प्रक्रियामा रहेको, खरको छानो रहित घरका लागि जस्तापाता पुनः टेण्डर प्रक्रिया अघि बढेको, रामपुर नगरपालिका वडा नम्बर ३, ७ र ८ का वडा कार्यालय निर्माणको चरणमा रहेको न्यौपानेले जानकारी दिनुभयो ।
२० लाख माथिका नगर तथा वडाका ठुला योजना टेण्डर प्रक्रियाबाट निर्माण गर्ने नगरको निर्णय अनुसार १६ वटाको टेण्डर प्रक्रियामा गएको उहाँले बताउनुभयो । शिक्षा तर्फ ५८ प्रतिशत आर्थिक प्रगति भएको, न्यायिक समितिमा आएका ३७ निवेदन मध्ये २० वटा मेलमिलापद्धारा विवाद समाधान गरिएको, ३ वटा अदालत पठाईएको, अन्य छलफल प्रक्रियामा रहेको, नगरका कुल ३ हजार ९ सय ६९ जनाले सामाजिक सुरक्षा भत्ता अन्तर्गत पहिलो त्रैमासिक रकम लिएको जानकारी दिइएको छ ।
नगर सभा बैठकका अबसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नगरका जनप्रतिनिधि र कर्मचारीले अधिकतम समय योजना सम्पन्न गर्न र व्यवस्थित सेवा प्रवाह गर्नतर्फ ध्यान दिने बताउनुभयो । उहाँले नगरलाई व्यवस्थित र समयमा नै काम सक्ने गरि अघि बढाउन सबैमा अनुरोध गर्नुभयो ।

नगरसभाको बैठकमा “विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९” विपद् व्यवस्थापन समितिका संयोजक दिलबहादुर रानाले टेबुल गर्नुभएको कार्यविधि पारित भएको छ । कार्यविधि पारित गरेपछि माघ ९ गते बैठक डाकेर बैठक स्थगित भएको छ ।

