छैठौं मण्डली कपको उपाधि स्याङ्जाको चापाकोटलाई
पाल्पा।
पाल्पाको पूर्वखोला गाउँपालिका १ सिलुवामा सञ्चालन भएको छैठौं मण्डली कपको उपाधि स्याङ्जाको चापाकोटले हात पारेको छ ।
मण्डली स्पोर्ट्स क्लबको खेलमैदान सिलुवामा गत कार्तिक १६ गते देखि सञ्चालन भएको प्रतियोगितामा चापाकोट भलिवल टिमले श्रीनगर भलिबल क्लब तानसेन माथि जित हासिल गरेको हो ।
फाइनलमा प्रबेश गरेको श्रीनगर भलिबल क्लब तानसेनले उपविजेतामा चित्त बुझाएको छ । खेलमा चापाकोटले २५-२०,२७-२५,२५-१७ र १८-२५ को अन्तरमा जित आफ्नो पक्षमा पारेको थियो ।
यसैगरी आयोजक मण्डली स्पोर्ट्स क्लबलाई पछि पार्दै मणिमुकुन्द भलिबल क्लबले तेस्रो स्थान प्राप्त गरेको छ । खेलमा मणिमुकुन्दले आयोजक टीमलाई २१-२५,२७-२९ र १५-२५ अंकको सोझो सेटमा जितेको हो । बिजेता समूहले नगद १ लाख रुपैयाँँ र ट्रफी, उपविजेताले नगद ७० हजार र ट्रफी, तृतीय हुने समूहले नगद ४० हजार, ट्रफी र सान्त्वना हुने समूहले नगद २० हजार,ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । बिजयी टिम र विभिन्न विधागत पुरस्कार प्रदान गरिएको छ भने समापनमा सहयोगी दाताहरुलाई सम्मान गरिएको छ ।
समापनका अबसरमा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नून बहादुर थापाले बिजयीलाई बधाई दिदै क्लबले खेलकुदको बिकासमा राम्रो गरेको बताउनुभयो ।
क्लबका अध्यक्ष अनन्त प्रसाद श्रेष्ठको अध्यक्षता, पूर्वखोला खेलकुद समितिका सचिव नविन आचार्यको स्वागत र सचिव कृष्ण पंगेनीको सञ्चालनमा कार्यक्रम चलेको हो ।