म्यादी प्रहरीको तालिम सम्पन्न
पाल्पा ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सुरक्षार्थ पाल्पामा सञ्चालित म्यादी प्रहरीको तालिम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले गत असोज ३० गतेबाट सञ्चालन गरेको म्यादी प्रहरी तालिम कार्तिक ८ गते सम्पन्न भएको हो ।
तालिम समापनका अबसरमा पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले तालिम प्राप्त म्यादी प्रहरीलाई निडरताका साथ चुनावी वातावरण चुस्तदुरुस्त बनाउन कुनै कसर नछोड्न निर्देशन दिनुभएको छ ।

पाल्पाका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले प्रायः गत निर्वाचनमा खटिईसकेकाहरु यो पटक पनि म्यादी प्रहरी भएकोले तालिममा सिके सिकाए अनुसार निर्वाचन अबधिभर टट्कारो रुपमा लाग्न अनुरोध गर्नुभयो । सोही अबसरमा राष्ट्रिय अनुसन्धान कार्यालय पाल्पाका प्रमुख, न. ३५ गुल्म पाल्पाका सशस्त्र प्रहरी नायव उपरीक्षक सहित श्री दि फेमस महेन्द्र दल गण पाल्पाका प्रमुख सेनानी लगायतको उपस्थिति रहेको थियो ।
पाल्पा जिल्लामा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि १ हजार २ सय १५ जना म्यादी प्रहरी पाल्पामा कार्यरत छन् । जसमध्ये ९ सय २३ जनाको तालिम तानसेन बन्धिपोखराको लक्ष्मी माध्यमिक विद्यालयमा र २ सय ९२ जनाको इलाका प्रहरी कार्यालय रामपुरमा तालिम चलेको थियो ।
