रम्भा १ न.वडाले गर्यो कला संस्कृति जगेर्नाका लागि कार्यक्रम
पाल्पा ।
रम्भा १ पाल्पाले स्थानीय कला संस्कृति जोगाउन तथा त्यसको प्रचारप्रसार गर्नका लागि वडा स्तरीय कार्यक्रम गरेको छ ।
विभिन्न भेषभुषा कला संस्कृति प्रवर्द्धन र संरक्षणका लागि दशैको अबसरमा आयोजित भव्य कार्यक्रममा बिभिन्न समुहले आधा दर्जन बढी स्थानीय मौलिक संस्कृति देखाएका थिए ।

रम्भा मगर समुदायको बाहुल्यता रहेको गाउँपालिका हो । यहाँका च्यान्लिङ, बैरादीको लोक सास्कृतिक झाम्रे, सहित स्थानीयले मौलिकपन झल्कने कौरा नाचेका थिए ।
चाडपर्वको शुभकामना सहित आयोजित कार्यक्रमको उद्घाटन गर्दै रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले रम्भा गाउँपालिकाले स्थानीय पहिचान झल्कने मौलिक सस्कार संस्कृतिको जगेर्नाको लागि निरन्तर काम गर्दै आएको बताउनुभयो । “हामीले पालिकाका हरेक वडा र बस्तीमा स्थानीको मौलिकतालाई जोड दिदै कला सस्कृतिको जगेर्नामा लागि रहेका छौ, यसको शुरुवात १ नम्बर वडाले गर्यो” उहाँले भन्नुभयो । यसले निरन्तरता पाउने बताउदै आफ्नो ५ बर्षे कार्यकालमा विकास र कामको चरणले नागरिकमा स्थानीय सरकारको अनुभूति भएकोमा अबका ५ बर्ष नागरिकको जीवन संग जोडिदै सामाजिक र सकारात्मक परिवर्तनमा थप भुमिका खेल्ने बताउनुभयो ।

गाउँपालिकाका प्रशासकीय अधिकृत भक्तुजङ्ग रानाले गाउँपालिकाले एकीकृत विकास ध्यान दिएको बताउदै स्थानीय आफ्नो ठाउँ विकास र चिनारीको लागि सदैव लाग्नुपर्नेमा जोड दिनुभयो । कला संस्कृति जोगाउने पालिकाको यात्रा छ रानाले भन्नुभयो- १ नम्बरले शुरु गर्यो त्यसको लागि वडालाई धन्यवाद दिन्छु ।

वडा नम्बर ३ का अध्यक्ष वडा अध्यक्ष थमन बहादुर गाहाले सस्कृतिलाई माया गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
वडा नम्बर १ का निवर्तमान वडाध्यक्ष कृष्ण प्रसाद रेग्मीले संघीयता पछिको पहिलो जनप्रतिनिधिको रुपमा रहदा नीति नियमको अभाव, सिकाई, कोभिड लगायतको विभिन्न चुनौती भएपनी वडामा उल्लेख्य काम गरेको बताउदै जिर्ण स्कुल भवन, अपुरो भवन, पुल पुलेसा सहितको कामलाई जोड दिनुपर्ने बताउनुभयो ।
सोही अबसरमा राष्ट्रिय कलाकार रामजी खाणले अफ्नो प्रस्तुतिले दर्शकलाई नचाएका थिए । जिम्माल बाउकी छोरी, दुई -दुई मिले, चौतारीको वर, फुलको बोटैमा, तिम्ले देको चिनो हरायो….. लगायतका दर्जनौ गीत गाएका थिए । उनलाई साथ दिन दर्शक मन्च क्षेत्रमा मै झुम्मिएका थिए ।

रम्भा गाउँपालिका १ का वडा अध्यक्ष इश्वरी काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लेले चाडपर्वमा स्थानीयपन झल्काउदै एकआपसमा जमघट हुने शुभकामना आदानप्रदान गर्ने र यस्ता मौलिकतालाई जोगाउनुपर्छ भन्ने सन्देश सहित वडाले कार्यक्रम गरेको बताउनुभयो ।
यसैबीचमा वडाले गत बर्षको परीक्षामा वडाबाट उत्कृष्ट नतिज ल्याउने ३ विद्यार्थीलाई सम्मान गरेको छ । गतबर्ष २०७८ को एसईई परेमा वडाभित्रबाट उत्कृष्ट नतिजा ल्याउने छात्रा निशा पछाई, छात्र शोभाकर पाण्डेय र कक्षा १२ मा सर्वोउत्कृष्ट अंक ल्याउने देवी पछाईलाई नगद सहित सम्मान गरिएको हो ।
वडा सदस्य डिल्लिराम अर्यालको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन वडा सचिव हरि प्रसाद भण्डारीले गर्नुभएको हो।


