बगनासकाली गाउँपालिकाले गर्यो १०० दिनको प्रगति बिवरण सार्वजनिक
पाल्पा ।
स्थानीय तहको निर्वाचनपछि बगनासकाली गाउँपालिकाले “स्थानीय सरकारको एक सय दिन” को प्रगति विवरण सार्वजनिक गरेको छ ।
गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि गाउँपालिकाले निर्वाचन जितेर आइसकेपछि पालिकामा भए गरेका गतिविधिबारे जानकारी गराउनुभएको हो । गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले संघीयतापछिको दोस्रो निर्वाचबाट स्थानीय सरकारको जिम्मेवारी सम्हालेको १ सय दिनको अवधिमा गाउँपालिका मार्फत भएका महत्वपुर्ण निर्णय र कार्यक्रमहरुबारे जानकारी गराउनुभयो ।
सय दिनमा पालिकाले एउटा गाउँसभा र ७ वटा गाउँकार्यपालिकाको बैठक बसेको साथै विषयगत समितिको गठन गरिएको र बैठक पनि बसेको प्रतिबेदनमा उल्लेख छ । पालिकाले शिक्षा, स्वास्थ्य, कृषि पशुपालन लगायतका क्षेत्रमा प्रसस्त बजेट बिनियोजन गरेको र प्रभावकारी रुपमा योजना संचालन गरिने जनाएको छ ।
अध्यक्ष चिदीले पालिकाले अभिभावक बिहीन बालबालिकाको स्याहार सम्भार र शिक्षाको लागि मासिक १ हजार भत्ताको ब्यवस्था गरेको, ग र घ समूहका अपांगता भएका ब्यक्तिहरुका लागि मासिक ५ सय र ३ सयका दरले निर्वाह भत्ता साउनबाटै लागू हुने गरि प्रदान गरिने बताउनुभयो ।
पालिकाले भाषा, साहित्य तथा संस्कृति शिक्षा, स्वास्थ्य, पर्यटन युवा तथा खेलकुद, गरिबी निवारण, सहकारी, सामाजिक परिचालन, सूचना तथा संचार, बालबालिका, महिला, जेष्ठ नागरिक, आदिवासी जनजाति, अपांग, सिमान्तकृत बोटे र कुमाल, जातिलाई मध्यनजर राखि प्राप्त साधन स्रोतको दायरामा रहि सम्बोधन गरिएको अध्यक्ष चिदीले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाले लिफ्टिङ खानेपानीको बिद्युत महसुल अनुदान बृद्धि गरि ६० प्रतिशत पुर्याइएको, वर्षातको बेला स्थानीय बाटोहरु मर्मत, साविकका सबै वडाहरुमा टोल विकास समिति गठन गरिएको बताउनुभयो ।
पालिकामा जिल्ला र प्रदेश कार्यालयमा मार्फत हुने विकास योजनाहरुमा समेत चासो दिई निरन्तर रुपमा सम्बन्धित कार्यालयहरुमा पुगि ध्यानाकर्षण गराएको र सोही बमोजिम योजनाहरु पनि संचालन भएको उहाँले बताउनुभयो । यही आर्थिक बर्षको सुरुवाटै सामाजिक सुरक्षा भत्ता वडामै बैंकका प्रतिनिधि पुगेर वडासँगको सहकार्यमा वडाबाटै बितरण गरिने जसका कारण सामाजिक सुरक्षा भत्ता लिनकै लागि टाढा बैंकमा जानुपर्ने समस्या नरहने उहाँले बताउनुभयो । पालिकाले नियमित रुपमा अति बिपन्न असहाय र औषधी उपचार गर्न पर्नेहरुलाई सहयोग गर्दै आएको, विपद्का समयमा तारजाली तथा त्रिपाल तथा राहत बितरण गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले गाउँपालिकाको सेवाप्रवाहलाई थप सेवाग्राही मैत्री बनाउँदै लगिएको बताउनुभयो । गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ का अध्यक्ष टिका बहादुर थापाले स्थानीय सरकारको प्रतिनिधिको रुपमा जनप्रतिनिधिहरु जनताको सुख दु:खको सारथी बनेको बताउनुभयो ।