रगत अभाब हुने रामपुरमा १ सय ९३ जनाको रक्त समुह पहिचान
पाल्पा ।
जिल्लाको शहर उन्मुख रामपुरमा ५० शैयाको रामपुर अस्पताल छ । ब्लड बैंक नहुदा सधै रगतको अभाव हुने रामपुर क्षेत्रमा स्वास्थ्य सस्था र स्थानीय सस्थाको समन्वयमा रक्त समूह पहिचान गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाको आयोजना र रामपुर अस्पतालको प्राबिधिक सहयोगमा रामपुरका ३ स्थानमा रक्त पहिचान शिविर राखिएको हो ।

रामपुरको वडा नं. ५, ६ र ७ का छुट्टाछुट्टै ३ स्थानमा राखिएको शिविरबाट १ सय ९३ जनाको रक्त समुह पहिचान गरिएको रामपुर अस्पतालका ल्याव असिस्टेन मनोज सुवेदीले बताउनुभयो ।
ब्लड बैंक नहुदा रक्त पहिचान गराउनेहरु पनि कम भएको जस्तो लाग्छ सुवेदीले भन्नुभयो- कुनै ठूलो बिरामी र केही जागिरकै लागि रक्त पहिचान गरिने भएपनी स्थानीयमा अभियान नै चलाएर रक्त परिक्षण नहुदा आफ्नो रगत कुन हो भन्ने पनि जानकारी नहुने र रगत चाहिएपनि तत्काल ब्लड ग्रुपको मानिस नपाइने समस्या भएको हो ।
ब्लड बैंक नभएको अवस्थामा विरामीलाई समय मै आवश्यक रगत उपलब्ध गराउनका लागि रक्तदाता पहिचान गगिएकोले यसले निकै फाइदा पुग्ने नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाका सभापति मनोरथ भट्टराईले बताउनुभयो ।

रेडक्रसले अस्पताल संगको समन्वयमा रामपुरको मुख्य बेझाँड बजारको रामपुर युवा क्लवको मञ्चमा भएको शिबिरमा ५३ जना, दरैठाँटी मावि विजयपुरमा ८४ जना र रामपुर विरेन्द्रटारको आधारभूत स्वास्थ्य केन्द्रमा ५६ जनाको रक्त समुह पहिचान गरिएको भट्टराईले जानकारी दिनुभयो ।
शिविरमा रामपुर अस्पतालका हेल्थ असिस्टेन पवन के.सी., ल्याव असिस्टेन मनोज सुवेदी र कञ्चन पोखरेल लगायतको टोलीले रक्त समुह पहिचान गरेको थियो । नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाले केही समय पछि रामपुर नगरपालिका अन्य क्षेत्रमा पनि शिविर सञ्चालन गर्ने जनाएको छ । रक्त पहिचान परिक्षण बढाउदै लगेर ब्लड बैंक स्थापना गर्ने गरि अगाडि बढेको र ब्लड बैंक स्थापनाको माग गरिएको अध्यक्ष भट्टराईको भनाई छ ।