प्रबासी युवाहरुको ‘‘उज्यालो गाँउ अभियान’’
पाल्पा ।
बैदेशिक रोजगारीको सिलसिलामा रहेका पाल्पाली युवाहरुले ‘‘ उज्यालो गाँउ अभियान’’ चलाएका छन् । रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्स युएई, कतार लगायतका देशमा रहेका पाल्पाका एउटै गाउँका युवाहरुको योजना अनुसार सामाजिक कार्य र गाँउको विकासका लागि अभियान चलाएको बताएका छन् ।
जिल्लाको रामपुर नगरपालिका वडा नम्बर ३ गण्डकीढिक बोटेगाउका युवाहरुको सहकार्यमा गाउँमा आबश्यकताको आधारमा बिजुली बत्ती जडान तथा गाँउलाई फाइदा पुग्ने गरि अभियान चलाएको युएईका अभियान संयोजक खगेश्वर बोटे (पाल्पाली कान्छा)ले जानकारी दिनुभयो ।
युवाले चलाएको अभियानको एक साता अबधिमा ७५ जना भन्दा बढी गाउँले युवाहरुले सहयोग जुटाएका छन् । आफ्नो लागि साथै परिवारको खुसी र सुखीको लागि राम्रो सपना बुनेर बिदेशियका युवाहरुले गाउँको सकारात्मक काममा अग्रसर भएका हुन् । गण्डकीढिक क्षेत्रबाट बैदेशिक रोजगारीमा जाने युवाको संख्या धेरै छ । भारत बाहेक तेस्रो मुलुकमा रहेका गाँउका युवाहरुले अभियानमा जोड दिएका छन् । युएई, कतार, साउदी, कुवेत सहित जापान, कोरिया, बहरायन लगायत बिभिन्न १० बढी देशमा रहेर काम गर्दै आएका युवाहरुले यसमा साथ दिएका छन् ।
यो अभियानप्रति आज हामीलाई गर्व छ, अभियान युएईका संयोजक पाल्पाली कान्छाले भन्नुभयो–गाँउप्रतिको चासोमा भएका युवा र चासो राख्न प्रेरित युवाबीच समन्वय पनि बढाएको छ । अहिलेका भर्खरका युवाहरु चिन्न पनि नसकिने अबस्थामा आफैं जोडिन आउदा रोजगारीमा रहेका युवाको डाटा पनि बनेको छ ।
“उज्यालो गाँउ अभियान” कतारका संयोजक देवराज अर्यालले बिभिन्न देशमा छरिएर रहेका युवाहरुको एउटै मुलमन्त्र गाँउको विकास हुनुमा उद्देश्य अनुरुप काम गर्दा देश र गाँउप्रति जिम्मेवारी बोध भएको बताउनुभयो । अझ थुप्रै दाजुभाइ दिदीबहिनी जोडिन चाहनुभएको छ । हामीले सहयोग गर्न चाहनेसँग जोडिने गरि रकम सङ्कलन गरेका छौं साथै लक्ष्मी बैंकको खातामा पनि पठाउन सक्ने व्यवस्था मिलाएका छौं अर्यालले भन्नुभयो ।
वैदेशिक युवाहरुको सहकार्यमा आवश्यकता अनुसार पहिलो चरणमा २० बिजुलीको पोल (खम्बा) मा बत्ती जडान गर्ने योजना छ । हाइलोजन एलईडी लाइट लगाउने गरि युवाले तयारी थालेका छन् । बाटो घाटोको पोललाई लक्षित गर्दै पहिलो प्राथमिकतामा बत्ती राखिने, दोस्रोमा गाँउ ठाँउका असुरक्षित ठाँउ र तेस्रोमा तेस्रो बिजुलीको पोल नभएको तर आबश्यक ठाउँमा आवश्यकता अनुसार बत्ती जडान हुनेछ ।
युवाहरुको यो योजना अनुसार नेपाल बिदामा आएका गाँउका युवाले गाँउमा समन्वय गर्नेछन् । योजना कार्यान्वयन चरणमा नेपालमा ‘‘उज्यालो गाँउ अभियान’’ उपसमिति गठन गरिने वा स्थानीय संस्था एंव स्थानीय क्लब मार्फत यो अभियान सफल बनाउने योजना युवामा छ ।
अभियानमा एक्यबद्धता जनाउने प्रति कृतज्ञता जनाउदै लक्ष्मी बैंकको ०६१२०००००८१ खातामा पनि सहयोग जुटाउन सकिने व्यवस्था अभियानले गरेको जनाएको छ ।