तिजको मौकामा मिलापले गर्यो नारी सम्मान
काठमाडौं ।
मिलापले तीज महोत्सव तथा सम्मान समारोह सम्पन्न गरेको छ ।
‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौं’ भन्ने मूल नाराका साथ काठमाडौंको रातोपुलमा एक विशेष समारोह गरि मिलापले नारी सम्मान तथा पुरस्कृत गरेको जनाएको छ ।
नेपालकी पहिलो महिला छायाँकार तथा नेपाल टेलिभिजनकी बोर्ड सदस्य सवनम मुखियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै मुखियाले नेपालका नारीको आट मात्र नभई दोहोरो तेहेरो भुमिकामा पनि समाजमा उत्कृष्ट काम गर्न सक्षम भएको बताउनुभयो ।
कला, साहित्य र गीत–संगीत क्षेत्रका प्रवुद्ध महिलाहरूको सहभागिता रहेको कार्यक्रममा सञ्चारकर्मी भूमि पौडेललाई नगदसहित सम्मान गरिएको मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीले बताउनुभयो । अध्यक्ष अधिकारीकी माता यमकुमारीको नाममा राखिएको ‘यमकुमारी पुरस्कार’ले नगदसहित पौडेललाई पुरस्कृत गरिएको हो।
सोही सामारोहमा कलेजो दान गर्ने पहिलो महिला शान्ता पोख्रेल, साहित्यकार तथा अभियन्ता प्रतिमा राई, कल्पना थापा, अनु पराजुली, कोपिला चौधरी, मल्लिका कार्की, मञ्जु लावती थापा, अनु श्रेष्ठ, पुष्पा थपलिया, मञ्जु थापा, मुना अधिकारी, सुनिता भट्टराई, उर्मिला थपलिया लगायतलाई समाजमा उनीहरूले पुर्याएको विशिष्ट योगदानको उच्च कदर गर्दै ‘मिलाप तीज सम्मान’ प्रदान गरिएको छ ।
फाउण्डेशनका अध्यक्ष अधिकारीको अध्यक्षता, सञ्चारकर्मी दीप ज्योति थापाको संचालनमा भएको कार्यक्रममा नायिका सारिका घिमिरेले स्वागत गर्नुभएको हो ।
विगत १३ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप मासिकले नेपाली नारीको महान् पर्व तीजलाई उत्सवका रुपमा मनाउँदै आएको छ भने उनीहरूले समाजमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गर्ने गरेको अध्यक्ष अधिकारीले बताउनुभयो । सहभागीले पछिल्लो समय तीज भड्किलो बन्दै गएको र यसको मौलिकतालाई जोगाइराख्नु पर्नेमा जोड दिएका थिए । सो अवसरमा माइती घरको सम्झना गर्दै तीजको दर खानुका साथै दिदीबहिनीहरूले तीजका गीतमा छमछमी नाचेका थिए ।