राष्ट्रपति भण्डारीद्दारा नेपालकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’ उद्घाटन
काठमाडौं ।
सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाडौं थापाथलीमा रहेको परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’ को उद्घाटन गर्नुभएको छ ।
बच्चालाई दूध नआउने अबस्था र विशेष गरि आमाले आफ्नो दूध नखुवाउने परिपाटीमा आमाको मिल्क बैंक स्थापना अमृत सरह हुने भएकाले पहिलो पटक अमृत कोषको स्थापना गरिएको हो ।
यस कोषमा सुत्केरी आमाबाट सुरक्षित रूपमा दान गरिएको दुध संकलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक परेका शिशुहरूलाई उपलब्ध गराउने सुविधा हुनेछ ।

नेपाल सरकार, युरोपियन युनियन र युनिसेफको साझेदारीमा स्थापना गरिएको अमृत कोष “बालबालिका मैत्री स्वास्थ्य प्रणाली” सुनिश्चित गर्न महत्वपूर्ण कदम हुने राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभयो ।
मिल्क बैंकले पहिलो बच्चा जन्माउने आमाको दूध सामान्यतया कम वा ढिलो आउने, समय नपुगि जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई सबैभन्दा बढी आवश्यकता परेको बेलामा अन्य आमाहरूबाट संकलित दूध उपलब्ध गराउने जनाएको छ ।