परिवारको कलहले लियो ४ जनाको ज्यान
काठमाडौं ।
घर परिवारको झगडाले काठमाडौं तारकेश्वर नगरपालिका-२ मा ४ जनाको ज्यान गएको छ ।
एउटा परिवारमा समझदारी नहुदा तारकेश्वर २ काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डे र उनको परिबारको ज्यान गएको प्रहरीले जनाएको छ ।
पाण्डे सहित उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिकाको ज्यान गएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घरमूली पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आफुले आत्महत्या गरेको हुनसक्ने पाइएको छ । लामो समय कुवेतमा बसेर केहि वर्ष अघि नेपाल फर्केका पाण्डेको परिवारमा खटपट थियो ।
स्थानीयका अनुसार सामान्य कुरामा पनि कहिले काहीं झगडा हुन्थ्यो । पत्नी सुनिता घर झगडा कै कारण केही समयमा नै बेलायत जाने तयारीमा थिइन । उनले विदेश उड्ने सबै तयारी गरेकी थिइन् ।
प्रहरीका अनुसार दिनेशले चक्कु प्रयोग गरेर पत्नी, छोरा र छोरीको हत्या गरेर आफुले आत्महत्या गरे । प्रहरीले चार पेजको सुसाइड नोट फेला पारेको छ । परिवारमा हुने झगडाको व्यबस्थापन नहुँदा अकल्पनीय घटना घटेकोमा स्थानीय भने स्तब्ध छन् ।