ओमानमा २०९ औं भानुजयन्ती कार्यक्रम सम्पन्न
ओमान ।
नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान च्यापटरको आयोजनामा आदिकवि आचार्यको सम्झनामा रचनावाचन गरेर सम्पन्न भएको छ ।
अनेसासका अध्यक्ष सुशिल पुनको अध्यक्षतामा भएको कार्यक्रम नेपाली राजदुतावास ओमानका कार्यवहाक राजदूत सोमेस थापाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले भानुभक्तको सम्झना गर्दै यस्ता कार्यक्रमले मनोरञ्जनका साथै नेपाली साहित्य र कृति बचाउने, नयाँ पुस्तालाई साहित्यमा प्रोत्साहन गर्ने बताउनुभयो । नेपाली साहित्यलाई बचाउन र जर्गेना गर्नका लागि यस्तो कार्यक्रमको आयोजना गरेकोमा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज ओमान च्यापटरलाई धन्यवाद र शुभकामाना दिदैै आगामी दिनमा दूतावासबाट विशेष साथ र सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा एन.आर.एन. सोसल क्लवका पूर्वअध्यक्ष दिपक श्रेष्ठले भानुभक्त र नेपाली साहित्यबारे बिचार राख्नुभएको थियो ।
ओमानमा रहेका विभिन्न संघ–संस्थाका प्रमुख तथा सदस्य, वुद्धिजिवी समाजसेवी, साहित्यकार, पत्रकार गरि करिव ७० जनाको उपस्थिति रहेको कार्यक्रमा १८ जनाले गित, कविता, मुक्तक, गजल गरि विभिन्न बिद्यामा आफ्नो रचनावाचन गरेका थिए ।
भानुजयन्ती असार २९ (जुलाई १३) गते बुधबार भएतापनि ओमानमा प्रायः धेरैको छुट्टी पारेर शुक्रवार कार्यक्रम गरिएको अध्यक्ष सुशिल पुनले बताउनुभयो ।
अजौवा होटल मस्कटमा भएको कार्यक्रम अनेसासका सदस्य तोलाकान्त भट्टराईको स्वागतबाट शुरु भएको थियो भने कार्यक्रमको संचालन अनेसासका सदस्य रञ्जित आचार्यले गर्नुभएको हो ।