ऎतिहासिक केलादीमा एकादशीमा १०८ तुलसी रोपण
स्याङ्जा ।
आषाढ शुक्ल एकादशी (हरिसयनी एकादशी) को अवसरमा चापाकोट नगरपालिका वडा नं ६ साखरमा तुलसी रोपिएको छ । ऎतिहासिक क्षेत्र साखरमा संगसंगै जनप्रतिनिधि सम्मान कार्यक्रम पनि भएको छ ।
कार्यक्रममा चापाकोट नगरपालिका वडा नं ६ केलादि मन्दिर परिसरमा निर्माण गरिएको १०८ तुलसीको मठमा तुलसी रोपण तथा जनप्रतिनिधिलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख देव बहादुर खाँड (ईश्वर) ले धार्मिक पर्यटनमा उच्च महत्त्व बोकेको यस क्षेत्रको प्रचार-प्रसार र विकासका लागी आफू प्रतिबद्ध रहेको र गौ सेवाका लागी तत्काल व्यवस्था गर्ने बताउनुभयो । असारे एकादशीमा पबित्र धामको दर्शन गर्ने मौका पाए खाणले भन्नुभयो- यो धार्मिक स्थलको लागि राधादामोदर मन्दिर विकास समिति निकै लागिपरेको छ ।

नगर उपप्रमुख इशा रानाले ऐतिहासिक महत्त्व राख्ने सम्पदाहरुको प्रचार-प्रसार तथा संरक्षण हुनुपर्ने बताउदै वडावासीको सरसल्लाह र सुझाव अनुसार केलादिघाटसगैँ यस क्षेत्रको विकासका लागी सधैं तत्पर रहने जानकारी दिनुभयो ।
चापाकोट नगरपालिका वडा नं ६ का वडा अध्यक्ष तारादेवी पोख्रेलले मन्दिरको समस्यामा जानकार रहेको उल्लेख गर्दै अझ विकासका लागि समन्वय गर्दै जनतासगँको प्रत्यक्ष छलफल, सल्लाह र सुझाव अनुरुप खट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा चापाकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दामोदर सुवेदी, नेपाली काँग्रेसका नगर सभापति विक्रम सारु, मन्दिरका पीठाधीस महन्त गोपाल शरण महाराज जी लगायत सामाजिक तथा राजनैतिक व्यक्तित्वको उपस्तिथि रहेको थियो ।
संस्थाका अध्यक्ष लेखनाथ बस्ताकोटिको अध्यक्षता संस्थाका उपाध्यक्ष तिर्थ अधिकारीको स्वागत र सचीव घनश्याम खनालको संचालनमा कार्यक्रम भएको हो ।
मन्दिर परिसरमा सहरी विकास बिभाग अन्तर्गतको गुरुयोजना आर्थिक वर्ष २०७८-०७९ को बजेटबाट प्रवेशद्वार निर्माण, तारबार, गौशाला निर्माण, तुलसी मठ निर्माण र बिरुवा रोपण, निम्वार्क स्तम्भ निर्माण लगायतका काम भैरहेको छ ।