असार १५ धान दिवस, पानी आयो मल आएन
कार्यक्रमका रौनकले किसानलाई छोएन
पाल्पा ।
पाल्पामा १९ औं राष्ट्रिय धान दिवस मनाइएको छ ।
जिल्लाका स्थानीय तहले विभिन्न स्थानमा धान दिवस मनाएका छन् । ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ मनाइएको राष्ट्रिय धान दिवसले भने किसानलाई छुन सकेको छैन ।

कृषि ज्ञान केन्द्र पाल्पाले यस बर्ष जिल्लाको पूर्वखोला-३, रिङ्नेरहमा धान दिवस मनायो । पुरानै रोपाईको सस्कृतिलाई अबलम्बन गर्दै खेतारे, बाउसे र पञ्चे बाजाको धुनमा रोपाई भएको छ । स्थानीय महिलाले हिलो खेतमा उभिएर असारे भाका झिक्दा सबै सहभागीले साथ दिएका थिए । रमाइलोका लागि हिले दौड प्रतियोगिता र उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभयो ।
बर्षैपिच्छे रोपाई हुने भएपनि कृषि केन्द्र र पालिकाको समन्वयमा भएको कार्यक्रमले धेरै हौसला मिलेको स्थानीयको भनाई छ । हिलोमा सधै काम गरेपनि प्रतियोगितात्मक रुपमा राखिएको हिले दौडले रमाइलो संगै उत्साह थपेको हिले दौडका प्रथम पुरस्कार बिजेता सम्झना न्यौपानेले बताउनुभयो । पुर्वखोलाको धान दिवसमा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, पूर्वखोला गाउँपाकिाका अध्यक्ष नुनबहादुर थापा उपाध्यक्ष भागिरथी भट्टराईलगायत सरकारी र गैरसरकारी सस्था र स्थानीयको सहभगिता रहेको थियो ।

त्यस्तै जिल्लाको रिब्दीकोट गाउँपालिकाले भैरवस्थान- हाड्थोक तल्लो क्षेत्रमा दिवस मनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण कार्की, उपाध्यक्ष कान्ता अधिकारी सहितको सहभागिता थियो । कृषिको लागि गाउँपालिकाले प्राथमिकता दिएर काम गरेको अध्यक्ष कार्कीले बताउनुभयो ।
रैनादेबी छहरा गाउँपालिका कृषि शाखाको आयोजनामा “धान बालिमा जैबिक बिबिधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग” भन्ने मुल नाराका साथ दिवस मनाएको छ । रैनादेबी गाउपालिका ३ भुवनपोखरी बल्गामा गाउपालिका अध्यक्ष रुक्मागत भट्टराई, उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकिय अधिकृत राजीव पन्थी सहित खेतमा पुगेर रोपाई गरेका छन् ।
यता, अखिल नेपाल किसान महासंघले जिल्लाको माडी फाटमा धान दिवस मनाएको छ। अखिल नेपाल किसान महासंघ पाल्पाका अध्यक्ष यम बहादुर राउतका अनुसार नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्र राज घिमिरे, अखिल नेपाल किसान महासंघका केन्द्रिय स्थायी कमिटी सदस्य कृष्ण प्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख काशीका गैरे, नेकपा एमाले तानसेन नगर कमिटी अध्यक्ष गुराँस आत्रेय, तानसेन नगरपालिका ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष निरञ्जन भुसाल, निजी वनका केन्द्रिय सदस्य कल्पना भण्डारी सहितले धान दिवस र अहिलेको परिस्थितिमा धानबाली लगाउने अबस्थाबारे बोलेका थिए ।
धान रोप्न यसबर्ष पानी आएपनि मल नआउदा किसान चिन्तित छन् । मल बिना खेती गर्न नसकिने बताउदै धानबाली लगाउन किसानमा अन्योल छ ।




