मंसिर देखि रोकिएको मतदाता नामावली संकलन आजदेखि सुचारु
पाल्पा ।
निर्वाचन आयोगले रोकेको मतदाता नामावली सङ्कलन कार्य आजदेखि पुनः सञ्चालनमा ल्याएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा गत मङ्सिर ६ गतेदेखि स्थगित गरेकोमा आयोगको चैत १८ गतेको निर्णयअनुसार पुनः नामावली संकलन शुरु गरेको हो ।
यसपटक आयोगले नयाँ दर्तासँगै विवरण अद्यावधिक प्रक्रियालाई पनि सहज बनाएको छ । नामावलीमा भएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु भएका वा बसाइँसराइ गरेका व्यक्तिको विवरण अद्यावधिक गर्नसमेत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
त्यसैगरी, नाम, थर र ठेगाना सच्याउने, एउटै वडाभित्र विभिन्न मतदानस्थलमध्ये आफूलाई पायक पर्ने स्थानमा नाम सार्ने तथा नागरिकतासँग नमिलेका विवरण सुधार गर्ने सुविधा पनि प्रदान गरिएको छ ।
निर्वाचन आयोगले सबै योग्य नेपाली नागरिकलाई आफ्नो मताधिकार सुनिश्चित गर्न मतदाता नामावली सङ्कलन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।