आजको संसदमा प्रधानमन्त्री नियुक्त बारे जानकारी दिईने, सबै दलका नेतालाई बोल्ने समय छुट्टयाइयो
काठमाडौं ।
आज संघीय सरकारको दुबै सदनको बैठक बस्दैछ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो बैठक बस्न लागेको हो ।
बैठकमा दलका नेता तथा शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले ४० मिनेट समय पाउनेछन् । उनले २५ मिनेटमा सक्ने भनेकाले २५ मिनेट तय भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसबाट नेता भिष्मराज आम्दाङेले १० मिनेट, नेकपा एमालेले ८ मिनेट नेकपा, राप्रपा, श्रम सस्कृति र स्वतन्त्रले ७/७ मिनेटको समय पाउनेछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त हुनुभएको संसदलाई जानकारी गराउनुहुनेछ । शाह नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूबारे पनि सदनलाई जानकारी गराइनेछ । सभामुखको भूमिकामा रहेका केसीले प्रतिनिधिसभाले नयाँ नियमावली नबनाएसम्म प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम संसद्का कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि सभामा राख्ने कार्यसूची छ ।
बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची पनि तय भएको छ ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाबाट १ सय ८२ सांसद छन् । कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन् । प्रतिनिधिसभामा महावीर पुन एक्ला स्वतन्त्र सांसद हुन् ।