पाल्पाली सेवा समाज दोहा–कतारद्वारा शिवशक्तिमा अक्षयकोष स्थापना
पाल्पा ।
पाल्पा जिल्लाको रामपुर नगरपालिका–१, खटाङ्गमा रहेको शिवशक्ति आधारभूत विद्यालयको शैक्षिक उन्नयनका लागि पाल्पाली सेवा समाज दोहा–कतारले ५१ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको छ।
वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका नेपालीले मातृभूमिको शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै समाज मार्फत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग हस्तान्तरण गरेको हो।
अक्षयकोष रकम समाजसेवी तथा पाल्पाली सेवा समाज कतारका पूर्व अध्यक्ष इश्वर काफ्लेले हस्तान्तरण गर्दै यसको सदुपयोगको लागि आग्रह गर्नुभयो। काफ्ले सन् २०१७ देखि २०१९ सम्म समाजको अध्यक्ष रहनुभएको थियो।
कार्यक्रममा काफ्लेले पाल्पाली सेवा समाज दोहा–कतारले गरेका काम तथा गतिविधिबारे जानकारी दिदै सबै सहयोगीलाई धन्यवाद व्यक्त गर्नुभयो । सोही अबसरमा यो सहयोगी भूमिका निर्वाह गर्ने दोहा कतार समाजलाई विद्यालय परिवारले धन्यवाद व्यक्त गरेका थिए । विद्यालयले पाल्पाली सेवा समाज दोहा–कतारलाई प्रधानाध्यापक शिवराज पोखरेल र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु थापाले सम्मान–पत्र प्रदान गर्नुभयो ।
पाल्पाली सेवा समाज दोहा–कतारका अध्यक्ष विश्वनाथ भट्टराईले आगामी दिनमा अन्य विद्यालयहरूलाई पनि शैक्षिक तथा भौतिक सहयोग निरन्तर प्रदान गर्दै जाने जानकारी दिनुभएको छ ।