2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मनायो ३४ औं स्थापना दिवस

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मनायो ३४ औं स्थापना दिवस


Sabalnews प्रकाशित मिति : शनिबार, पौस १९ २०८२
190

पाल्पा ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले स्थापना दिवस मनाएको छ । २०४९ साल पुस १९ गते मेघराज शर्माको सभापतित्वमा २० सदस्यहरुको सहभागितामा स्थापना भएको शाखाले शनिबार ३४ औं स्थापना दिवस बनाएको हो ।

पत्रकारिताको विगत, वर्तमान र भविष्यका विषयमा केन्दित रहेर छलफल, अन्तरक्रिया गरि दिवस मनाएको छ ।  कार्यक्रममा वक्ताहरुले पत्रकारले जनतालाई सूचना मात्र नदिई मुलुक गंभिर स्थितीमा रहेकाले सहि दिशा निर्देश गर्नमा जोड दिए । पत्रकारहरुले सत्य, तथ्य, बस्तुनिष्ट, सन्तुलित भएर, दलिय आस्था भन्दा माथी उठेर समाचारहरु दिनुपर्ने, सोही अनुसार मिडिया हाउसहरु सञ्चालन हुनुपर्नेमा बक्ताहरुले जोड दिए ।

स्थापना दिवसमा प्रमुख अतिथी पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष, बरिष्ठ पत्रकार, प्रेस स्वतन्त्रता सेनानी  मेघराज शर्माले मिडियाहाउस र पत्रकारको अवस्था  दिनहुँ संकटमा पर्दै गएकोमा चिन्ता व्यक्त गरे । सरकार, राजनितिक दल, नागरिक समाजले मिडिया र पत्रकारलाई दोष मात्र लगाउने र उनीहरुलाई बचाउन भाषणमा मिठो कुरा गर्ने, व्यबहारमा वेवास्ता गर्ने प्रबृत्तिको कारण मिडिया हाउस र पत्रकार संकटमा पर्दै गएको उनको भनाई छ ।  २०४९ साल देखी नै जिल्लामा समानुपातिक विज्ञापन लागु गर्न दवाव दिदै आए पनि हालसम्म कार्यान्वयन नभएको, समानुपातिक विज्ञापन वितरण भए मात्र जिल्लामा सञ्चालनमा रहेका मिडियाहरु दिगो रुपमा सञ्चालन हुने, त्यहाँ कार्यरत पत्रकारको रोजी रोटी चल्ने बरिष्ठ पत्रकार शर्माले बताए । छलफल अन्तरक्रियामा आएका सबैका सुझावहरुलाई पालना गरी पाल्पाको पत्रकारितालाई स्वच्छ, निष्पक्ष, बस्तुनिष्ठ बनाउन महासंघ प्रतिवद्ध रहेको शर्माले उल्लेख गरे ।

कार्यक्रममा विशिष्ट अतिथी लुम्बिनी प्रदेस सभा सदस्य एवं पुर्व मन्त्री विर बहादुर रानाले मुलुक भयावह अवस्थामा गुज्रिरहेकाले पत्रकारहरु व्यक्तिगत स्वार्थ भन्दा माथी,  दलिय आस्था भन्दा माथी उठेर, दलहरुका गलत क्रियाकलापहरुलाई जनताबिच सार्वजनिक गरेर कलम चलाउनु पर्नेमा जोड दिए । अहिले नेता, नेतृत्व र कर्मचारीप्रति जनताको वितृष्णा बढेकाले भदौ २३ र २४ गते घटेनको घटनाबाट सबै पक्षले आ–आफ्ना कमीकमजोर सच्चाएर मुलुक निर्माणमा योगदान गर्नुपर्नेमा पुर्व मन्त्री रानाले बताए । स्थापना दिवसमा पत्रकार महासंघ पाल्पाले आफ्नो संस्था, संस्थासँग जोडिएका व्यक्तिहरुको विगत देखी वर्तमान र भविष्यको बारेमा निर्मम समिक्षा गरेर भएका कमिकमजोरीहरुलाई सच्चाएर जानुपर्नेमा उनले जोड दिए ।

 पूर्व सांसद तथा नेपाली कम्युनिष्ट पार्टीका नेता यादवबहादुर रायमाझीले अहिले सूचनाहरु सामाजिक सञ्जालबाट त छिटो छिटो पाएका छौ तर कुन सहि कुन गलत छुट्टाउन जनतालाई कठिन हुने गरेकाले जनता मित्थ्या, गलत सूचनाको बाढीमा फसेको बताए । यस्ता गलत सूचनाहरुलाई रोक्न पत्रकारहरुको अहम भुमिका हुने पुर्व सांसद रायमाझीको भनाई छ । स्थापना दिवस कार्यक्रममा महासंघका पुर्व अध्यक्षहरु गोविन्द भट्टराई, झपेन्द्र गहिरेले पत्रकार महासंघ स्थापनाकाल देखी हालसम्म आउँदा कठिनाई, चुनौती, अवसर, सहकार्य, समाज विकासमा खेलेको भुमिकाको बारेमा चर्चा गरे । कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष भगवान भण्डारीले जनप्रतिनिधीविहिनको अवस्थादेखी सरकार र तत्कालीन विद्रोही माओवादीको समयमा दुवैपक्षलाई मानवअधिकार रक्षाको लागि खेलेको भुमिका, जिल्लाको विकास निर्माणमा राजनितिक दल, निजी संघ संस्था तथा सरकारी निकाय बिच समन्वय गरी गरेका कामहरुको बारेमा चर्चा गरे ।

पत्रकार महासंघका पुर्व अध्यक्ष राजेश कुमार अर्यालले पत्रकारिताको विगतको अवस्था, वर्तमान अवस्थामा सामाजिक सञ्जालले पारेको असर, भोलिका दिनमा एआई ले पार्ने प्रभावको बारेमा चर्चा गरे ।   कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सह संयोजक सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष रमेश विरजंग राणा, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ,  बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामी, माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदी, निमित्त प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी,  पत्रकार महासंघका सल्लाहकार कृष्ण दर्नाल, सस्थापक सचिव भरत शर्मा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की लगायतले पत्रकार महासंघको महासंघले खेलेको योगदानको  चर्चा गर्दै समाजलाई  मर्यादित, जिम्मेवारयुक्त बनाउन , सत्य, तथ्य, निष्पक्षमा आधारित पत्रकारिता जरुरी रहेको बताए ।

पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाको अध्यक्षता, उपाध्यक्ष मुक्ति न्यौपानेको स्वागत, उपाध्यक्ष बन्दना पोखरेलको धन्यवाद ज्ञापन र सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com