2

Logo २०८३ बैशाख १३ आइतबार
नयाँ दलमा पनि ५० बर्ष माथिकै उमेरको नेतृत्व

नयाँ दलमा पनि ५० बर्ष माथिकै उमेरको नेतृत्व


Sabalnews प्रकाशित मिति : शुक्रबार, कार्तिक २९ २०८२
197

काठमाडौं ।

पछिल्लो समय जेन-जी आन्दोलनले नेपालको राजनीतिक वृत्तमा भ्रष्टाचार अन्त्य, सुशासन र पुस्तान्तरणको सशक्त आवाज बुलन्द गरेको थियो । यस आन्दोलनको रापबाट नयाँ सरकार गठन भएसँगै आसन्न निर्वाचनको तयारीले राजनीतिक सरगर्मी बढाएको छ । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिनेको लर्को लागे पनि नेतृत्वमा युवा पुस्ताको प्रतिनिधित्वको प्रश्न भने अनुत्तरित नै देखिएको छ ।

फागुन २१ मा हुने निर्वाचनका लागि आयोगमा हालसम्म २० नयाँ दल दर्ताका लागि निवेदन परेका छन् । अनौठो त के छ भने, जेन-जीले परिकल्पना गरेको ‘नयाँ नेतृत्व’ को आकांक्षाविपरीत अधिकांश दलको कमान ५० वर्षमाथिका अनुभवी नेताहरूकै हातमा छ । यद्यपि, राष्ट्रिय परिवर्तन पार्टीको २८ वर्षभन्दा कम उमेरका अजयकुमार राई र राष्ट्रिय जेन-जी पार्टीका ३२ वर्षीय हिराप्रसाद सेती भने युवा उमेरकै देखिएका छन् ।

आयोगमा दर्ता प्रक्रियामा रहेका दलहरूको नेतृत्व केलाउँदा परम्परागत राजनीतिको निरन्तरता स्पष्ट देखिन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको अगुवाइमा घोषणा भएको उज्यालो नेपाल पार्टीको नेतृत्व पूर्वसचिव अनुपकुमार उपाध्याय (६५ वर्ष) ले गरेका छन् । यस्तै, जनयुग पार्टी दर्ताका लागि निवेदन दिएका पूर्वराजदूत नवराज सुवेदी (६५ वर्ष) र नेपाल लिबरल पार्टीको नेतृत्वमा रहेका गोपीलाल न्यौपाने (६१ वर्ष) पनि ५० वर्षमाथिकै हुन् ।

कम्युनिष्ट पार्टी नेपालका नेत्रविक्रम चन्द (५८ वर्ष), राष्ट्रिय उर्जाशील पार्टीका योगेन्द्र मण्डल (५४ वर्ष), आवाज पार्टीका सुन्दरराम बोहरा (५३ वर्ष) र जनादेश पार्टी नेपालका रमणकुमार कर्ण (५० वर्ष) जस्ता नेताहरू पनि यही उमेर समूहमा पर्छन् ।

४० वर्षमुनिका युवा नेतृत्वको उपस्थिति भने न्यून छ। राष्ट्र निर्माण दलका अकबर खान र हाम्रो पार्टी नेपालका खगेन्द्र सुनार यस समूहमा पर्छन् । सबैभन्दा रोचक पक्ष त के छ भने, ‘राष्ट्रिय जेन-जी पार्टी’ को नाममा दल दर्ताको निवेदन दिएका हिराप्रसाद सेती स्वयं ३२ वर्षका छन् । तर, उनले नेतृत्व गरेको पार्टीले जेन-जीको व्यापक प्रतिनिधित्व गर्न सक्ला वा नसक्ला, त्यो भने हेर्न बाँकी नै छ ।

यति धेरै दल दर्ताका लागि निवेदन परे पनि कुनै पनि दलको नेतृत्वमा महिला नहुनु लैंगिक समावेशिताको दृष्टिकोणले निकै निराशाजनक अवस्था हो । यसले नेपाली राजनीतिमा महिला सहभागिताको सवालमा अझै लामो यात्रा तय गर्न बाँकी रहेको देखाउँछ ।

हालसम्म पाँच दलले दर्ताको प्रमाणपत्र प्राप्त गरिसकेका छन्। तीमध्ये रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको नेतृत्व मात्र २७ वर्षीय कविर सोबले गरेका छन्, जो जेन-जी पुस्ताका प्रतिनिधि हुन् । यसबाहेकका गतिशील लोकतान्त्रिकदेखि श्रम संस्कृति पार्टीसम्मको नेतृत्वमा पनि जेन-जी युवाको प्रतिनिधित्व देखिएको छैन ।

जेनजी आन्दोलनले राजनीतिक पुस्तान्तरणको चर्को माग गरे पनि नयाँ दल दर्ता प्रक्रियामा परम्परागत नेतृत्वकै वर्चस्व कायमै देखिनु विरोधाभासपूर्ण छ । युवा र विशेष गरी महिला नेतृत्वको अभावले नयाँ राजनीतिक परिवेशमा पनि पुरानै संरचनाको छायाँ परेको संकेत गर्दछ । के आसन्न निर्वाचनले जेन-जीको अपेक्षा र वर्तमान नेतृत्वको यथार्थबीचको खाडल पुर्न सक्ला ? यो प्रश्नको जवाफ भविष्यले नै दिनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com