वाग्मतीका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने घोषणा
काठमाडौं ।
वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।
आइबार साँझ पत्रकार सम्मेलन आयोजना गरी उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो । नेपाली कांग्रेस प्रदेश संसदीय दलको नेताको हैसियत गुमाए पनि उहाँले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान राख्दै आउनुभएको थियो ।
संविधानतः आफूलाई अझै पनि मुख्यमन्त्री रहन नरोकेको भए पनि पार्टी भित्रको वृहत् छलफल पछि पार्टी भित्रको राजनीतिक मूल्य, मान्यता र विधि, पद्धति स्थापनाको लागि आफूले राजीनामा दिन लागेको लामाले बताउनुभयो । पार्टी सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री पदबाट राजीनामा दिन दिएको निर्देशनको पालना गर्दै आफूले मुख्यमन्त्री पदबाट राजीनामा दिन लागेको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री पदबाट राजीनाका लागि प्रदेश प्रमुखको कार्यालयमा जाँदै हुनुहुन्छ ।
लामाले पार्टीमा नवनिर्वाचित संसदीय दलका नेता इन्द्र बानियासँग सहकार्य गरेर पार्टी संसदीय दललाई एकताबद्ध बनाएर अघि बढाउन र वाग्मती प्रदेशलाई समृद्ध बनाउने अभियानमा आफ्नो सधैँ साथ रहने प्रतिविद्धता व्यक्त गर्नुभयो । तथापि वाग्मती प्रदेश सरकार मात्रै विगठन गर्नुको कारण बारे आफूलाई कौतुहलता रहिरहेको उहाँले बताउनुभयो ।