नागपञ्चमीदेखि श्रावण महिनाभर रामपुरमा शिवमहापुराण ज्ञान महायज्ञ एवं श्रावणी महोत्सव चल्ने
पाल्पा ।
संगित पाठशाला सञ्चालन सहयोगार्थ पाल्पाको रामपुर नगरपालिका ६ पुर्वटारमा श्रीमद्भागवत शिवमहापुराण ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव शुरु भएको छ ।
रामपुर भजन मण्डली भजनकृर्तन समाज रामपुरको आयोजनामा श्रावणको दोस्रो सोमबार नागपञ्चमीदेखि श्रावण महिनाभर चल्ने गरि यज्ञको शुरुवात गरिएको हो । यज्ञको रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले मन्दिरको उद्घाटन तथा दिप बालेर यज्ञ शुरुवार गर्दै धार्मिक तथा आध्यात्मिक चिन्तनको अभाव अहिलेको पुस्तामा खड्किएको बताउनुभयो ।

“भौतिक विकास भएपनि सकारात्मक सोचको विकास अझ हुन सकेको छैन,थापाले भन्नुभयो- अध्यात्मिक बिचारका लागि यस्ता कर्महरु हुनुपर्छ” । उहाँले संस्कार सहितको जीवन उपयोगी शिक्षाको अभावमा संस्कार र संस्कृति भुल्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । संगित पाठशालाको लागि सञ्चालन भएको यज्ञलाई आवश्यक साथ र सहयोग गर्ने उहाँले बताउनुभयो । नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले संगीत जिवन जीउने कला भएको बताउनुभयो ।
जेष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकाल, नेपाली कांग्रेस रामपुरका उपसभापति देव बहादुर थापा मश्राङ्गी, नेकपा एमाले रामपुरका सचिव लोकनाथ भट्टराई, नेकपा एकीकृत समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी रामपुरका अध्यक्ष राजेन्द्र प्रसाद ढकाल, राष्ट्रिय जनमोर्चा रामपुर नगर कमिटी अध्यक्ष राम प्रसाद गैरे, वडा नं. ६ का अध्यक्ष दिवाकर देवकोटा, शहीद बहुमुखी क्याम्पसका अध्यक्ष राम प्रसाद ढकाल, श्रावणी महोत्सव मूल आयोजक समितिका सल्लाहाकार विष्णुमाया ढकाल र नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेलले शुभकामना व्यक्त गर्नुभयो । वक्ताहरुले बाजा सम्बन्धी सीप नयाँ पुस्तामा हस्तान्तरणमा पाठशालाले महत्वपूर्ण टेवा दिने बताए । पछिल्लो समय मानसिक समस्याका विरामी बढ्दै गैरहेको सन्दर्भमा उपयुक्त उपचारको माध्यम संगित रहेको धारणा उनीहरुको थियो।

यसैबीच, रामपुर नगरपालिकाको सहयोगमा रामपुर भजनकीर्तन मण्डलीले निर्माण गरेको राधाकृष्ण मन्दिरको रामपुर नगरप्रमुख रमण बहादुर थापाले यज्ञ कार्यपुर्व वैदिक विधि पूर्वक समुद्घाटन गर्नुभयो । श्रीमद्भागवत महापुराण/शिवमहापुराण ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव मूल आयोजक समिति अध्यक्ष कृष्ण प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रम समितिका उपाध्यक्ष केशव पोखरेलको स्वागत र सचिव लेखनाथ शर्मा मरासिनीको सञ्चालनमा भएको हो ।
महायज्ञमा प्रमुख वाचकमा नरोत्तमशरण नेत्र प्रसाद पराजुलीले संगितमय शैलीमा कथा वाचन गर्नुभएको छ । श्रावण महिना आफैमा पवित्र महिना रहेको बताउँदै पण्डित पराजुलीले पुण्यकार्यमा सरिक हुन सबैलाई आग्रह गर्नुभयो । महोत्सवको उपबाचक पण्डित हरि प्रसाद खनाल रहनु भएको छ ।
संगित पाठशाला चलाउनको लागि आयोजित यज्ञमा ५० लाख दान संकलन गर्ने लक्ष्य आयोजकको रहेको मुल आयोजक समिति अध्यक्ष कृष्ण प्रसाद अर्यालले बताउनुभयो । यज्ञका संकल्पकर्ता एवं रामपुर भजनकीर्तन मण्डलीका अध्यक्ष टिकाराम ढकालले मौलिक बाजाको संरक्षण संगै नयाँ पुस्तालाई बाजाको विषयमा प्रशिक्षण तथा आवश्यक संगित कक्षा सञ्चालनको लागि संगित पाठशाला स्थापनार्थ महायज्ञको थालनी गरिएको बताउनुभयो ।
शुभारम्भ कार्यक्रम पूर्व झाँकी सहित १६ भन्दा बढी विभिन्न संघ, संस्था र समूहको उपस्थितिमा शोभाकलश यात्रा निकालिएको थियो ।
