सबल न्युजका प्रधान सम्पादक डोटेल सम्मानित
पाल्पा ।
पाल्पाको रामपुर नगरपालिकाले उत्कृष्ट पत्रकारको रुपमा सबल न्युज डटकमका प्रधान सम्पादक सीता डोटेललाई सम्मान गरेको छ ।
उत्कृष्ट र प्रभावकारी पत्रकारिता मार्फत रामपुर नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक, सास्कृतिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै नगरसभाको अबसरमा सम्मान गरेको हो । आइतबार रामपुर नगरपालिकाको नगरसभाको १७ औ अधिवेशनको अवसरमा डोटेल सहित ११ जनालाई नगरपालिकाले विभिन्न विद्यामा सम्मान गरेको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य रहनुभएका डोटेल संगै अन्य २ पत्रकार सम्मानित भएका छन् भने विभिन्न बिधामा गरि ११ जनालाई नगरले सम्मान गरेको हो । नगरले पत्रकार, उत्कृष्ट कर्मचारी, उत्कृष्ट करदाता, संघसंस्था, टोल विकास संस्था तथा उदाहरणीय कार्य गर्न सफल व्यक्तित्वहरुलाई सम्मान गरेको हो । नगर र नगरका नागरिकको विकासमा महत्त्वपूर्ण भुमिका खेलेकोमा प्रशंसा गर्दै नगरपालिकाले नगद सहित दोसला, सम्मान पत्र र मायाँको चिनो प्रदान गरि सम्मान गरेको हो ।
पाल्पा जिल्लामा झण्डै २ दशकदेखि पत्रकारिता गर्दै आउनुभएका पत्रकार सीता डोटेलले रेडियो कर्मबाट पत्रकारिता शुरु गर्नुभएको हो । रेडियो, पत्रिकामा काम गर्दै उहाँ हाल अनलाइन पत्रीका सञ्चालन गर्दै आउनुभएको छ । डोटेल पत्रिका र टेलिभिजनमा संवादताताको रुपमा काम गर्नुभएको छ । रामपुरबाट केही समय अघिसम्म प्रकाशित कालीगण्डकी खबर पत्रिकाको समेत सह सम्पादकको रुपमा काम गर्नुभएको छ ।
जिल्लाको पत्रकारितामा सक्रिय डोटेल महिला पत्रकारहरुको सस्था संचारिका समूह पाल्पाको जिल्ला अध्यक्ष हुनुहुन्छ । नेपाल प्रेस युनियनको केन्द्रिय पार्षद, खेलकुद पत्रकार मन्चको जिल्ला सदस्य समेत हुनुहुन्छ । जिल्लाका बिभिन्न संघ संस्थामा आवद्ध डोटेल केन्द्रिय र जिल्लाका विभिन्न पुरस्कारबाट पुरस्कृत र सम्मानित भईसक्नुभएको छ ।
१७ औं नगरसभामा पत्रकार डोटेल सहित सन्चारकर्मीहरु सामुदायिक रेडियो रामपुर र कन्दरा न्युज डटकमका पत्रकार रमा भण्डारी, कटुवाल खबरका सम्पादक दुर्गेश मल्ल समेत पुरस्कृत हुनुभएको छ ।

सभामा कर्मचारीहरु रामपुर नगरपालिका १ र २ का सचिव तारानाथ पोखरेल, स्वास्थ्यकर्मी रिता खण्डलुक, सर्मिला भण्डारी, सवारी चालक दान बहादुर राना,अपाङ्गता विष्णु पंगेनी, उत्कृष्ट करदाता वर्ड लिङ्क रामपुर शाखा प्रमुख मधुसुदन पंगेनी, टोल विकास संस्थाबाट संगम टोल विकास संस्था रामपुर ४, क्लबमा ज्योतिपुञ्ज युवा क्लव र अध्यक्ष सुदिप गौतमलाई सम्मान गरेको थियो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापाले सम्मानित व्यक्तित्वहरुलाई दोसला ओढाई नगद १० हजार रुपैयाँ सहित सम्मान पत्र र मायाँको चिनो प्रदान गरि सम्मान गर्नुभएको हो।