नगर बाल संजाल गठन, अध्यक्षमा वडा नम्बर ५ का शारदा
पाल्पा ।
रामपुर नगरपालिकामा नगर स्तरीय बाल भेला शुक्रबार सम्पन्न भएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन कार्यक्रम अन्तर्गत नगर बाल सञ्जाल गठनका लागि भेला भएको हो ।
१० वटै वडामा गठन भएको वडा स्तरीय बाल संजालको पदाधिकारीहरुको उपस्थितिमा भएको भेलाले सारदा प्रसाद श्रेष्ठको अध्यक्षतामा नगर बाल सञ्जाल गठन गरेको छ । भेलाले श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय बाल संजाल सर्वसम्मत रुपमा गठन गरेको हो । भेलाले संजालको उपाध्यक्षमा विपना नेपाली, अंगिता खनाल, सचिवमा सिमरन के.सी., कृष्ण गौतम, सहसचिवमा अञ्जली आचार्य र कोषाध्यक्षमा मुना अस्लामीलाई चयन गरेको छ ।

समितिको सदस्यहरुमा सलिना थापा, आइस्मा थापा, रन्जु राना, प्रिन्स कुँवर, सुवास पोखरेल, अनुप ओस्ती, प्रसान्त बस्याल, आबस श्रेष्ठ, सनराइज बास्तोला, सुजता नेपाली, शाहिद शेख, सुहाना भट्टराई, सन्ध्या वि.क. र रिजन खाँणलाई चयन गरेको छ ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि नगरपालिका बालमैत्रीस्थानीय शासन लागु गर्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । बालबालिकाको अधिकारको पूर्ण प्रत्यभूति दिलाउन नगरपालिका प्रतिवद्ध भएर लागेको बताउँदै बालबालिकाको क्षेत्रमा बालबालिका संग राय संकलन गरेर अघि बढ्ने बताउनुभयो । बालभेलामा बालबालिकाले उठान गरेका सवालको विषयमा प्रस्ट पार्दै बालबालिकाको खेल प्रतिभा प्रस्फुटनका लागि अहिले भलिबल र फुटबल प्रशिक्षण सञ्चालन भैरहेको बताउनुभयो । आगामी दिनमा क्रिकेट लगाएतका अन्य खेलकुदको प्रशिक्षण संगै खेल पूर्वाधार निर्माणमा ध्यान दिने बताउनुभयो । बालप्रतिभाको उजागर गर्न तथा बालबालिकाको संरक्षणमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले रामपुर नगरपालिकालाई कस्तो बनाउने भन्ने कुरा बालबालिकाको क्षेत्रमा लगानी महत्वपूर्ण रहेको बताउनुभयो । नगरपालिकाले २०८३ मंसिर ५ गते भित्र बालमैत्री स्थानीय शासन लागु गर्ने लक्ष्य नगरले लिएको छ ।
रामपुर ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले सभ्य र समृद्ध समाज निर्माणमा बालबालिकाको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले बालबालिकाहरुको सक्रिय सहभागीताको लागि बालसंजालले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । भेलामा वडा स्तरीय बाल सञ्जालका पदाधिकारीहरु वडा नं. १ का अध्यक्ष कुसुम थापा, वडा नं. २ का अध्यक्ष विपना नेपाली, वडा नं. ३ का अध्यक्ष आयुस्मा खनाल, वडा नं. ४ का सचिव सिमरन केसी, वडा नं. ५ का अध्यक्ष शारदा प्रसाद श्रेष्ठ, वडा नं. ६ का सहसचिव अंगित खनाल, वडा नं. ८ का अध्यक्ष कृष्ण गौतम, वडा नं. ९ का अध्यक्ष मुना अस्लामी र वडा नं. १० विवेक गाहाले बालबालिको समस्या र अपेक्षा सुझावका रुपमा राखेका थिए ।

भेलाले अवसरमा नगरपालिकाले आपतकालीन बालउद्धार कोष मार्फत विभिन्न समस्याबाट पिडित बालबालिकाको पोषणयुक्त आहार तथा शैक्षिक व्यवस्थापनका लागि नगर भित्रका ६ जना बालबालिकालाई राहत स्वरुप ७/७ हजार रुपैयाँ सहयोग गरेको छ ।
त्यस्तै नगरपालिकाले भेलाको अवसरमा पृथ्वी नारायण क्याम्पस पोखरामा विएड तेस्रो वर्षमा अध्ययनरत रामपुर ६ का दृष्टिविहिन विद्यार्थी विपना खनाललाई अध्ययनमा थप सहजता प्रदान तथा उत्प्रेरणा प्रदान गर्न एक थान ल्यापटप समेत हस्तान्तरण गरेको छ ।
ल्यापटप ग्रहण गर्दै खनालले ब्रेललिपीको माध्यमबाट अध्ययन गर्न कठिनाई भैरहेको सन्दर्भमा ल्यापटपले धेतै सिकाउने बताउनुभयो अपाङ्गता भए पनि खुल्ला प्रतिस्पर्धा बाटै उनी सरकारी सेवामा प्रवेश गर्ने लक्ष्य रहेको बताउँदै नगरपालिकाको साथ र सहयोगको लागि आभार व्यक्त गरिन् । साथै वडा स्तरिय बाल सञ्जालका पदाधिकारीहरुलाई डायरी प्रदान गरि सम्मान गरिएको थियो ।
भेलाको अवसरमा इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख राम बहादुर नेपालीले बालविवाह, लागुऔंषध दुर्व्यसनी र आत्महत्याको न्यूनिकरणका लागि बालबालिकाको भुमिकाको विषयमा सचेतना प्रदान गर्नु भयो । दरैठाँटी माविको सभाहलमा भएको कार्यक्रम नगर प्रमुख तथा नगर बाल संजाल संयोजक रमण बहादुर थापाको अध्यक्षता, उपप्रमुख बालकुमारी थापाको स्वागत र महिला तथा बालबालिका शाखाका प्रमुख पुजा परियारको सञ्चालनमा भएको हो।