2

Logo २०८३ बैशाख १४ सोमबार
थोरङलाको सिरेठोको स्पर्श 

थोरङलाको सिरेठोको स्पर्श 


भोजराज पाण्डेय प्रकाशित मिति : मंगलबार, जेष्ठ १४ २०८२
512

–भोजराज पाण्डेय

नेपाल बिबिध भौगोलिक, सामाजिक तथा जातजाति युक्त सदभाव सहितको साझा फुलवारी मानिन्छ । भौगोलिक र सामाजिक एवं सांस्कृतिक असमानता बीच पनि यहांको रहनसहन र रितिरिवाजमा असमन्जस्यता र बेमेल कतै पनि देखिदैन । त्यसकारण यसलाई साझा फूलवारी पनि भनिएको हो । हामी नेपाली भएको कारणले मात्र देशको बखान गरिएको चाही कदापी होइन । फूललाई कसैले कति नराम्रो भनेको सायदै सुनिदैन, चाहे त्यो पहेलो रङको होस वा रातो नै किन नहोस ? फूल आखिर फूल नै हो । फूलमा हुने सुगन्ध र उन्मुकता अरु चिजमा खोजेर पाइदैन् । नेपाललाई फूलको थुङगा संग तुलना गर्दा पनि खासै फरक पर्दैन । नेपाल शुन्दर छ यसमा कुनै शंका छैन् । किनभने प्रकृतिको अनुपम बरदान प्राप्त मुलुक हो नेपाल । हिमाल पहाड र तराई तीन थरि भौगोलिक बनावट रहेको हाम्रो देशमा हरेक थरि बिबिधताका बावजुद पनि आपसी आत्मियता जुन छ, त्यो बास्तवमै गर्व गर्न लायक छ ।

मैले २०५१ सालमा सेवा प्रवेश गरे पश्चात तालीम सहित २७ बर्ष ६ महिना नेपालको बिभिन्न जिल्लाहरुमा फरकफरक दर्जागत भूमिकामा सेवारत रहे भने २ बर्ष ६ महिना संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ अफ्रिकी मुलुक दक्षिण सुडान र युरोपियन मुलुक कोसोभोमा कार्यरत रहें । सोही अबसरमा युरोप र अफ्रिका लगायतका मुलुकहरु घुम्ने मौका पनि मिल्यो तर नेपाल जस्तो सुन्दर कुनै मुलुक पनि लागेन । मेरो तीस बर्ष जागिरको असिम उत्तरार्धमा मैले नेपालको अत्यन्तै रमणीय र अनौठो भौगोलिक वनावट भएको पबित्र धाम मुक्तिनाथ र दामोदर कुण्डको पावनभूमी हिमाल पारिको जिल्ला मुस्ताङको प्रहरी प्रमुखको जिम्मेवारि प्राप्त गरेको थिएं । २०८१ सालको भाद्र १६ गते तीस बर्ष सेवा अबधी पुरा गरि म अनिवार्य अबकासमा जानु पर्ने नै थियो । २०८० सालको भाद्र १५ गते मेरो सरुवा मुस्ताङ प्रहरी प्रमुखको रुपमा भएको थियो । त्यसको ठ्याक्कै १० दिन पछि अर्थात २०८० सालको भदौ महिनाको २५ गते मैले आफ्नो जिम्मेवारी जोमसोम स्थित कार्यालयमा पुगि सुरुवात गरेको थिएं । पोखरा देखि जोमसोम समित एयरलाइन्सबाट हवाई मार्गको प्रयोग गरि १८ मिनेटमा जोमसोम बिमानस्थलमा ओर्लिंदा म म भर्खर तालीम सकेर नयां कार्यक्षेत्रमा प्रवेश गर्दाको जत्तिकै मनमा प्रफुल्लताले घेरिएको थिएं म । जागिरको उत्तराद्धमा हुंदै गर्दा पनि म मा न त कुनै किसिमको थकान थियो ?, न त हिमाली जिल्लामा जानु पर्यो भन्ने नैरास्यता नै ? एक बर्ष जिल्ला प्रहरी प्रमुखको रुपमा बिताउंदा आफूलाई यस पावन भूमिमा रहेर जनताको सुरक्षा र शान्त बातावरणको निर्माण गर्ने काममा कटिबद्ध बनाउन सकेकोमा आफूलाई अत्यन्त भाग्यमानी पनि महशुश गरेको थिएं ।
दिनहरु बितिरहेका थिए ।

जिल्लामा कुनै अप्रिय घटनाहरु भएका पनि थिनन । सबै सुरक्षा निकायहरु बीचमा अनोन्याश्रित सम्बन्ध बरकरार थियो । प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष समन्वयमा जिल्लामा शान्ति सुब्यबस्था बनाउने कार्य अत्यन्त प्रभावकारी थियो । अघिल्लो बर्ष भन्दा घअपराधिक, सामाजिक लगायतका घटनाहरुमा उल्लेख्य कमी आएको थियो । सुरक्षा लगायतका सबै सुचकहरु सकारात्मक थिए । यसको अलावा स्थानीय सरकार र र नागरिकहरु संगको समन्वयको कारण एउटा पारिबारिक बातावरणमा काम गर्ने मेसो मिलेको थियो ।

मुस्ताङ बसाईको एक बर्षे कार्यकालमा मुस्ताङमा शान्ति सुरक्षा कायम गर्ने सवालको अलावा मुस्ताङलाई पर्यटनको बिकाशमा सघाउ पुर्याउने हेतुले धेरै मैले लेख रचनाहरु लेखि नेपालको प्रतिष्ठित पत्रिका तथा अनलाइनहरुमा समेत प्रकाशन गर्ने काम गरेको थिएं । म त्यहांको भूगोलसंग यति लोभिएको थएं की जहां गयो त्यही थचक्क भुईंमा बसेर त्यहांको भूगोलको बारेमा लेख्न मन लाग्थ्यो । तर त्यो सबै गर्न सम्भव हुने कुरा पनि भएन् ।

मुस्ताङको मुख्य समस्या भनेको पर्यटकहरु पैदल यात्राको क्रममा बाटो बिराई हराउदा प्रहरीद्धारा गरिने पर्यटकहरुको खोजतलास र उद्धार नै हो । मेरो बसाईको क्रममा पनि करिब आधा दर्जन यस्ता घटनाहरुकोहरुको सामना गर्नु परेको थियो । खास गरि यस्तो समस्या मनाङ बाट पैदल यात्राको क्रममा थोरङला पास हुदै मुक्तिनाथ झर्ने र डोल्पाको सीमाना हुंदै घमि माथि ढाकमार, मराङ र लोमान्थाङ, तथा कागबेनी आउने पर्यटकहरुमा बढि हुने गर्दछ । हिमाल तथा उच्च हिमाली भेगको यात्रा सुरु गरेपछि एक दिनमा टुङगिने बिषय पनि होइन र हता हतार गरेर टुङग्याउन पनि सकिदैंन । यसमा हप्तौ अथवा केहि दिन लाग्ने हुन सक्छ । यात्राको सुरुवात गर्दा राम्रो मौसम भएता पनि उच्च हिमाली भूगोलमा कति बेला मौसम प्रतिकुल बन्छ पत्तो नै हुंदैन् । यदि मौसम बिग्रिएर अचानक हिउ परेको अबस्थामा पैदल मार्ग हिउंले पुरिन जाने र बाटो पत्ता नलाग्दा पर्यटकहरु हराउने समस्या अधिक हुने गर्दछ ।

मुस्ताङ प्रमुख रहेकै अबस्थामा एक पटक डोल्पा हुंदै आएका २ जना बिदेशी नागरिक र २ जना नेपाली भरिया लोघेकर दामोदर कुण्ड गाउंपालिकाको ढाकमार माथि खोंचमा एक हप्ता देखि हराएकोमा निजहरुको मोबाइलको अन्तिम टावर लोकेशनको आधारमा हेलिकोप्टर द्धारा गरिएको उद्धार कार्यमा म आफै खटिएको थिएं । पर्यटकको लागि अर्को रुट भनेको थोरङला पास हो । थोरङला पास हुदै आएका धेरै पर्यटकहरुले बाटो बिराएका कारण धेरै पटक प्रहरीले उद्धार गर्नु परेको थियो । मुक्तिनाथमा रहेको इलाका प्रहरी कार्यालयका तत्कालीन प्रहरी सहायक निरीक्षक गिरु प्रसाद पौडेल नेतृत्वको टोलीले स्थानीय मानिसहरुको सहयोगमा साहसिक रुपले पटक पटक हिउमा फसेका तथा बाटो बिराई हराएका पर्यटकहरुको उद्धार गरेको थियो । मेरो जागिर अबधिमा त्यति साहसिक प्रहरी मैले देखेको थिइन् । अरुलाई चार घण्टा लाग्ने थोरङलाको उकालो उनी दुई घण्टा मै पार गरि भञ्ज्याङमा पुग्ने गर्दथे । अर्कोतिर हिमाली भेकमा फसेका यात्रुहरुको उद्धार कार्य त्यत्तिकै कठीन हुने गर्दछ । किनभने उद्धारकर्ताहरु यदि उच्च हिमाली भौगोलिक बनावट भएको भूभागमा अभ्यस्त भएनन भने लेक लाग्ने सम्भावना हुन्छ र अर्को दुर्घटना निम्तिने जोखीम पनि हुन्छ ।

साउनको महिनाको १२ गते, बर्षाको मौसम भएको कारण बाहिर सिमसिम पानी परेको थियो । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा हामी सुरक्षा निकायका सबै प्रमुखहरु र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मुस्ताङका प्रमुख समेत उपस्थित भई जिल्लामा हुन सक्ने बन्यजन्तुको चोरी निकासीलाई प्रभावकारी नियन्त्रण गर्ने सवालमा जिल्ला स्थित सुरक्षा निकाय र अन्नपूर्ण संरक्षण क्षेत्रको भूमिकाको बिषयमा छलफलमा थियौं । छलफल पश्चात जिल्ला स्थित सबै सुरक्षा निकायहरु सकृयतापुर्वक अबैध कार्य नियन्त्रणमा प्रभावकारी रुपमा परिचालन हुने एक सुत्रीय निर्णयमा पूर्ण सहमति जनायौं ।

“सर, हामीले धेरै पटक थोरङलामा फसेका स्वदेशी तथा बिदेशी पर्यटकहरुको उद्धार गर्यौं, स्थानीय प्रहरी हरेक पटक उद्धार कार्यमा सरिक भएको छ, थोरङलाको भूगोलको बारेमा हामी अनभिज्ञ छौं, एकपटक हामी सबै सुरक्षा निकायका प्रमुखहरु र अन्नपूर्ण संरक्षण क्षेत्रको प्रमुख समेत त्यहां पुग्न सकेको खण्डमा स्थानीय प्रहरीहरुको मनोबलमा पनि प्रभाव पर्ने, हामीलाई पनि हाम्रो जिम्मेवारीमा रहेको ईलाकाको भूगोलको बारेमा जानकारी हुने, भोलिका दिनमा कुनै पैदल यात्रु तथा बिदेशी पर्यटक हराएको अबस्थामा हामीलाई योजना बनाई उद्धार कार्यमा खटिन सजिलो पनि हुने”, मैले सहज प्रस्ताव गरे ।
मेरो प्रस्ताबमा सबै सहमत हुनु भयो ।

तत्काल प्रमुख जिल्ला अधिकारीले ईलाका प्रहरी कार्यालयका प्रमुखलाई फोन गरि उक्त इलाकाको मौसमको बारेमा जानकारी माग गर्नुभयो । उनीले फोन मार्फत नै साउनको १८ गते सुक्रवार मौसम सफा हुने गुगलले देखाएको छ, त्यो दिन यात्रा गर्दा ठिक हुन्छ भन्ने उत्तर दिए । फोन हुंदै गर्दा कति छिटो गुगल हेर्न भ्याएछन भन्ने मलाई लाग्यो ।

थोरङलाको यात्रा गर्दा पैदल बिहान हिडेर बेलुका फर्किन गार्हो पर्ने र उकालो चढ्दा पैदल नभई घोडामा जादा फर्किन सजिलो हुने हामीले निष्कर्ष निकाल्यौं । हामीलाई जम्माजम्मी ७ वटा घोडा आबस्यक पर्ने देखियो । मैले तत्काले मुक्तिनाथमा होटेल ब्यवसाय गर्ने कर्मा दाजुलाई फोन गरि सो बिषयमा प्राताव राखें । उहांले ३ वटा घोडाहरु तत्कालै ब्यवस्थापन गर्नु भयो । बांकी ४ वटा घोडाहरु ब्यबस्थापनको जिम्मा एक्याप प्रमुख प्रमोदराज रेग्मीलाई दिई साउन १८ गते नै समुन्द्र सतह देखि ५४१६ मिटर उचाईमा छिमेकी हिमाली जिल्ला मनाङको सीमानामा रहेको बिश्वको सबै भन्दा अग्लो स्थानको भञ्ज्याङ थोरङला पासको यात्रा गर्ने निधो सहित ब्यबस्थापनमा प्रयाप्त समय रहेको हुंदा समयमै त्यसलाई मुर्तरुप दिने गरि हामी छुट्टियौं ।

थोरङला यात्रा भन्ने बित्तिकै हामीले केबल मनाङको रुट मात्र सम्झन्छौं । हाम्रो यात्राको प्रमुख उद्धेश्य मुस्ताङ तर्फबाट पनि थोरङला पुग्न सकिन्छ र पास छिचोलेर मनाङ, लमजुङ हुंदै फर्किन पनि सकिन्छ भन्ने जानकारी दिनु थियो । जसले गर्दा मुस्ताङको पर्यटन बिकासमा समेत सहज टेवा पुग्छ भन्ने हाम्रो ठम्याई पनि थियो । खास गरि शरद यामको सुरुवातसँगै मनाङ देखि थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल नै हुने गर्दछ । थोराङ्ला र तिलिचो ताल घुम्न आउने मुख्य याम शरद र वसन्त ऋतु नै हो । पहिले पहिले पथप्रर्दशक र भरिया लिएर अधिकांश विदेशी पर्यटकहरु मात्र थोरङलामा आउने गर्दथे । पछिल्लो समय नेपालीहरुको रोजाइमा पनि यो परेको छ । तर हामीले बर्षा ऋतुको मध्य सिजनमा थोरङला पुग्ने निधो गरेका थियौं ।
थोरङ्ला ला भनेको तिब्बती भाषामा पास हो । शाब्दिक रुपमा यात्राको उच्च बिन्दु हो । खास गरि दसैँ तिहारको बिदामा थोराङ्ला पास पैदल यात्राका लागि देशका विभिन्न ठाउँबाट कर्मचारी, व्यापारी, विद्यार्थीहरुको टोली आउने क्रम बढेको छ । मनमोहक हिमशृङ्खला, विविधतायुक्त भूगोल, स्थानीय संस्कृति, रहनहसन, धार्मिक तथा वस्तुकला अवलोकन गर्न पाइने भएकोले पनि आन्तरिक पर्यटकको घुइचो यता लाग्ने गरेको हो । थोरङलाको मुस्ताङ तर्फको फेदी मुक्तिनाथ मन्दिरमा त यो समयमा दर्शनार्थीहरुको भीड थामि नसक्नु नै हुन्छ । केहि केहि त थोरङला यात्राको क्रममा नै मुक्तिनाथ मन्दिर दर्शन गर्ने तालिका बनाई आउने गरेका छन् ।
अन्नपूर्ण सर्किटमा थोरङला सबैभन्दा उच्च स्थान भएकाले जोखिमपूर्ण पनि छ । चामेदेखि पाँच दिनको यात्रा गरेर थोराङ्ला हुँदै मुस्ताङको मुक्तिनाथ झर्न सकिन्छ । उता लामो अवधिको पदयात्रा गर्न चाहनेले लमजुङको बेशीसहरदेखि पनि यात्रा सुरु गर्ने गरेका छन् । माथिल्लो मनाङदेखि करिब चार घण्टाको पैदलयात्रा गरेर चार हजार ३६ मिटर उचाइको याकखर्क पुगिन्छ । याकखर्कदेखि सात दशमलब तीन किलोमिटर यात्रा गरेपछि समुन्द्री सतहदेखि चार हजार चार सय ५० मिटर उचाइमा रहेको थोराङ्ला फेदीमा पुगिन्छ । थोराङ्ला फेदीदेखि चारदेखि पाँच घण्टा यात्रा गरेपछि चार हजार आठ सय छ मिटर उचाइको थोराङ्ला हाइक्यापमा पुगिन्छ । त्यहां बास बसेर दिउँसो हावाहुरी चल्ने र मौसम खराब हुने भएकाले बिहानै थोराङ्ला पुग्नका लागि राति नै यात्रा गर्नु उपयुक्त हुन्छ । तर मुस्ताङ तर्फबाट थोरङला यात्रा अत्यन्त सहज छ । मुक्तिनाथ मन्दिर भन्दा माथि फेदी सम्म गाडि नै पुग्दछ । फेदीबाट पैदल यात्रा सुरु गर्दा करिब ५ घण्टामा बिस्तारै हिड्दा पनि सहजै थोरङला पुग्न सकिन्छ ।

थोरङलाको हाम्रो यात्रा मुस्ताङ तर्फबाट नै थियो । हाम्रो गन्तब्य मुस्ताङ तर्फको भूभाग हुंदै मनाङ र मुस्ताङ जिल्लाको सीमानामा रहेको थोरङला पास सम्म यात्रा गर्ने थियो । सोही योजना बमोजिम नै हामी तयारीमा लागेका थियौं । समय बित्न के बेर लाग्थ्यो र ? दिन बितेको पत्तै भएन् । हेर्दा हेर्दै साउन १८ गते पानि आइपुग्यो । अघिल्लो राती पटक्कै निद्रा लागेन । भोलि बिहानै उठ्नु छ भनेर बेलुका छिट्टै सुत्दा पनि मनमा अनेक थरि यात्रारुपी कल्पना आउने हुंदा बिस्तारामा धेरै पटक कोल्टे फेर्नु पर्यो । राती सेन्ट्रीले बेला बेलामा लगाउने अलर्टको आबाज धेरै पटक मेरो कानमा गुञ्जियो । बिहान मोबाइलमा अलार्मको घण्टि बजेको कारण बिउंझिदा मात्र केहि समय त निद्रा परेछ कि भन्ने लाग्यो ।

मोबाइलमा घण्टि बज्दै गर्दा सिडियो साबले फोन गर्नु भयो “टाइममा नै हिड्नु पर्छ है सर” “म फ्रेस हुंदै छु सर भन्दै म फटाफट नित्यकर्म तथा आफ्नो तयारीमा लागें । समयमै सबै तयारि सकिवरि प्रजिअ सर, राष्ट्रीय अनुसन्धान प्रमुख, सप्रनाउ, एक्याप प्रमुख, म र सहायक प्रजिअ सहित अन्य केहि साथिहरु समेत ५ बजे नै गाडी द्दारा जोमसोम बाट मुक्तिनाथ मन्दिर भन्दा माथि पट्टी रहेको थोरङला फेदी तर्फ हानियौं ।
करिब सवा घण्टाको गाडीको यात्रा पश्चात हामी करिब ४२०० मिटर उचाईमा रहेको थोरङला फेदीमा पुग्यौं । फेदीमा केहि होटेलहरु पनि रहेछन । बाटो बिग्रिएको कारण होटेल सम्म गाडि पुग्न सकेन । हामीले गाडी होटेल भन्दा अलि तल नै रोक्नु पर्यो । गुगलमा मौसम सफा रहने बताएको भए तापनि वरिपरिको पहाड तथा भूगोल ढाकिने गरि बाक्लो कुहिरो लागेको र मसिनो गरि सीमसीम पानी समेत परेको थियो । हामी हतार हतार होटेलमा पुग्यौ । श्वास बढेर सास्ती ? मैले प्रश्नबाचक नजरले ईप्रका प्रमुखको अनुहार हेरें । सायद उनले कुरा बुझेछन क्यारे, ” एकछिन हो सर मौमस बिग्रने, बिहानी उज्यालो हुनासाथ बादल हराएर जान्छ र पानी पनि रोकिन्छ, यहांको मौसम सधै यस्तै हुन्छ” मानौ मौसमबिद नै उनै हुन जस्तो गरि उनले आफ्नो भनाई टुङग्याए ।
हामीले फेरि घोडा ब्यवस्थापनको जिम्मामा खटिनु भएको प्रमोद जी लाई हेर्यौं, उहां पनि तत्कालै खल्तीबाट फोन निकालेर घोडावालालाई फोन गर्न सुरु गर्नु भयो ।
“नजिकै आइसक्यौं सर” भनेर उताबाट फोनमा भनेको हामीले पनि प्रष्टै सुन्यौं ।

नभन्दै तल अलि तल घोडाहरुको लश्कर लिएर दुई जना मानिसहरु उकालो निस्कदै गरेको देख्यौं । बिहानीको उज्यालोले आफ्नो पंख फिजाउदै थियो । करिब आधा घण्टा जतिमा सात वटा घोडाहरु लिएर दुई जना घोड सवारीहरु आइपुगे । पैदल हिड्नेमा इप्रका प्रमुख लगायतका साथिहरु हुनुहुन्थ्यो ।
“हामीहरु फर्स्ट टिसपमा हजुरहरुलाई पर्खन्छौं सर” भन्दै उहांहरुले यात्रा सुरु गरि सक्नु भएको थियो । यात्राको लागि आबस्यक पर्ने सबै कुराहरुको चांजोपांजो मिलाउंदा बिहानको साढे सात बजिसकेको थियो । अघि इप्रका प्रमुखले भने जस्तै सांच्चै कुहिरो हटेर वारिपरिको पहाड छर्लङै देखिने भयो । पानी पर्न पनि छाड्यो । थोरङ पिक टाउको माथि ठोकिन्छ कि जस्तो गरि उभिएको थियो । हामी ठ्याक्कै सात बजेर चालिस मिनेटमा फेदीबाट घोडामा यात्रा आरम्भ गर्यौं, एउटा असीम आनन्दको अनुभुति मनमा लिएर ।

बाटो खासै थिएन, जताततै ढुङग्यान, घोडालाई बाटो पनि नचाहिने रहेछ । हुनत सधै त्यहि बाटो हिडेको कारणले गर्दा पनि होला । अगाडीको घोडामा सिडियो साब हुनुहुन्थ्यो । उहाको घोडालाई अन्य घोडाले भेट्टाउन सकेका थिएनन् । म पहिलो पटक घोडामा यात्रा गरेको थिएं । मनमा एक खालको डर पनि थियो । घोडाले कतै खसाल्ने पो हो की ? भन्ने मनमा खुल्दुली चाही हुंदो रहेछ । अरु केहि साथिहरु पनि पहिलो पटक घोडा चढ्नु भएको रहेछ । अरुहरु पनि म जस्तै सिकारु रहेको हुंदा मनोबल अलिक बढेर आयो । बिच बिचमा रोकिदै हामी करिब पचास मिनेट जतिको यात्रामा फस्ट टि सपमा पुग्यौं ।
अघि हिड्नु भएको साथिहरु पांच मिनेट अगाडि नै त्यहां पुग्नु भएको रहेछ । निलो टिनको छानो हालेर मानिसले आराम गर्न मिल्ने गरि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मुस्ताङले पर्यटकहरुको बस्ने सुबिधाको लागि टहरो निर्माण गरेको रहेछ । त्यहां हामी एक छिन सुस्तायौं । घोडाहरु पनि लगातार हिड्न नसक्ने रहेछन् । हामीले झोलामा बोकेर ल्याएका पानी, कोक लगायतका खानेकुराहरु एक आपसमा साटफेर गरेर खायौं । सायद त्यो स्थान समुन्द्र सतह देखि ४५०० मिटर जति उचाईमा हुनु पर्छ ।

करिब आधा घण्टाको बसाई पश्चात हामीले यात्रा पुन सुचारु गर्यौं । अलि माथि पुगे पछि बाटो देखिन थाल्यो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाई कार्यालयले प्रत्येक बर्ष गोरेटो बाटो र घोडेटो बाटो मर्मत गर्दो रहेछ । तर बेला बेलामा पर्ने हिंउ र पानीले गर्दा माथिबाट गेग्रयान झरेर बाटो प्रत्येक बर्ष हिड्न नमिल्ने गरि मासिंदो रहेछ ।
सिडियो साब चढेको घोडा गाइड जस्तो रहेछ । उकालो हिड्दै गर्दा अरु घोडाले उछिन्न खोज्यो भने पनि मरि गए अरु घोडालाई अगाडि जान दिंदो रहेनछ । सहायक सर चढेको घोडा हिडन नसकेको हो वा उहां अलिक मोटो भएर हो अलिक तल सबै भन्दा पछाडि थियो । म बीचमा थिएं । सहायक सरलाई मैले जिस्काउंदै भने,”के हो सहायक सर हजुरको घोडा त अगाडी आउनै खोज्दैन त ?” उहांको सधै हांसेर उत्तर दिने बानि “घोडाले पनि दर्जा चिन्दो रहेछ सर, अगाडि जानै खोज्दैन” एकछिन हांसोको फोहरा छुट्यो ।

करिब १ घण्टाको यात्रा पश्चात हामी सेकेन्ड टि सपमा पुग्यौं । त्यहां पनि केहि बेर रोकियौं । पानी लगायतका खानेकुराहरु फेरि खायौं । बाटोमा मनाङको बाटो हुंदै मुस्ताङ तर्फ झर्दै गरेका धेरै बिदेशी तथा आन्तरिक पर्यटकहरु हातमा लठ्ठीको सहारमा बिस्तारै ओरालओ झर्दै गरेको भेट्यौं, बिदेशी पर्यटकहरु दक्षिण कोरियाका रहेछन । सबैको अनुहारमा प्रसस्तै खुशि देखिन्थ्यो । हामी उनीहरुको खुशि देखेर अवाक भयौं । हाम्रो देशका भूभागहरुले बिदेशी नागरिक (पर्यटक) हरुलाई खुशि बनाउन सकेकोमा नेपाल आमा प्रति हामी पनि कृतघ्न भयौं ।
मौसममा कुनै फेरबदल थिएन । तर वरिपरिको वातावरण त्यति चहकिलो भने थिएन् । गिरु पौडेलले हामीलाई सूचित गर्दै थिए ” सर अघिको जस्तो मौसम चहकिलो छैन, यस्तो हुंदा बादल लाग्न सक्ने सम्भावना रहन्छ है सर ”

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाई मुस्ताङ र स्थानीय मानिसहरु, पर्यटन ब्यवसायीहरु र जनप्रतिनिधिहरु समेतको सहभागितामा टिनको छानो सहितको दुईबटा टहरा त्यहां पनि निर्माण गरिएको रहेछ । जुन ठाउंलाई सेकेन्ड टि सप भनिदो रहेछ । हामी करिब २० मिनेट जति त्यहां रोकिएर अनगिन्ति फोटाहरु खिच्यौं । टाउको माथि पुर्व र पश्चिममा दुइवटा अग्ला चुचुराहरु, बास्तवमै रमणीय स्थान थियो । तर त्यति अग्ला हिमालहरुमा पनि हिउं थिएन । आइसको पत्र जमेर ठुलो ढिक्का झुण्डिएको भने हामीले देख्यौं । आफूलाई प्रकृति संग थप आनन्दित बनाउंदै हामी करिब १० बजेतिर दायां तर्फ ६,१४४ मिटर उचाई अर्थात २०,१६० फिट उचाईको थोरङ पिक हिमाल र वायां तर्फ ६,४८२ मिटर उचाईको याक्वा काग्ङ पिकको भञ्न्ज्याङ अर्थात मनाङ र मुस्ताङ जिल्लाको सीमाना समुन्द्र सतह देखि ५,४१६ मिटर उचाईमा रहेको थोरङला पासमा पुग्यौं ।

थोरङला पास साच्चै अद्भूत र रमणीय स्थान रहेछ । पासको छेउमा मनाङ तर्फ साना साना आकारका करिब ६ वटा हिमालबाट बग्दै आएको निलो पानी जमेर बनेका तालहरु देख्यौं । तालको नामाकरण भने भएको रहेनछ । कहिं कतै ती तालहरुको बारेमा हामीले पढ्न पाएनौ । कति शुन्दर दृश्य, हामीले केहि बेर आराम गरेर अघाउन्ज्याल फोटो लियौं । थोरङला पासमा फोन नलाग्ने रहेछ । पुर्व र पश्चिममा रहेका दुई वटा पीकको काखमा थोरङला थियो । हामीले एउटा अति नै शुन्दर ठाउंमा आफूलाई उभ्याएका थियौं । मनाङ तर्फको भञ्न्ज्याङ बाट चिसो सिरेठो चल्दो रहेछ । नाक र कान नै झर्ला जस्तो । टोपी र स्क्रबले आंखा मात्र अलिअलि देखिने गरि अनुहार पुरै छोप्यौ हामीले । बर्षा ऋतु भएता पनि हिमाली भूभागको यात्रा गर्दा शरीरमा चिसो पस्यो भने बिरामी पर्न सकिन्छ भन्ने हिसबाले हामी तयारी साथ नै यात्रामा निस्केका थियौं ।
हामी चढेर आएका घोडाहरु लिएर पथ प्रदर्शकको रुपमा आएका घोडाका मालिकहरु घोडा लिएर ओरालो लागि सकेका थिए । हामीलाई थोरङला पास पुर्याउने मात्र शर्त तथा सम्झौता थियो उहांहरुको । हामीले आफूलाई क्यामेरामा कैद गर्दै गर्दा अचानक मौसममा गडबढी भयो । दुई मिनेट अगाडि सम्म खुल्ला रहेको वरिपरिको हिमाली वातावरण पुरै बादलले ढाकियो । कहांबाट आयो त्यो बादल हामी अचम्ममा पर्यौं ।
“अव झरौं सर, ढिलो नगरौं, पानी पर्न सक्छ,” प्रमोद जी ले कुरा राख्नु भयो । साच्चै त्यहां बसेर अर्थ पनि थिएन, किनभने वरिपरि बादलले ढाकिएको कारण फोटो खिच्ने कुरा पनि भएन । हामीले साथमा बोकेर ल्याएको लठ्ठी टेक्दै ओरालो यात्रा सुरु गर्यौं । ओरालो यात्रा गर्दै गर्दा आफ्नो शरीरलाई अड्याउन पनि गार्हो हुने कुनै ठाउंमा । लठ्ठीको भरमा पुरा शरीर छोड्नु पर्ने ।

म गिरु पौडेल र निर्मल भाई अगाडी लाग्यौं, पानी सिमसिम पर्न सुरु गरि सकेको थियो । हामीले छाता ओड्नु पर्ने अबस्था बन्यो । अरु सरहरु पनि क्रमश हाम्रो पछाडी ओरालो यात्रामा सहभागि हुनु भयो । मैले दुबै खुट्टाको घोडामा निक्याप लगाएको थिएं, किनभने हिमाली भूभागमा ओरालो यात्रा गर्दा घुंडा दुख्छ भन्ने मलाई राम्रो ज्ञान थियो । हामी करिब एक घण्टा चालिस मिनेटमा तल फेदीमा पुग्यौं । हामी पुगेको चालिस मिनेट पछि सिडियो साब सहित २ जना आइपुग्नु भयो । ओरालो यात्रामा पनि सहायक सर निकै पछाडि हुनुहुन्थ्यो । हामी फेदीमा पुगेको दुई घण्टा पछि उहां हामीलाई भेट्टाउन आइपुग्नु भयो । अनुहार प्राय जसोको थकानले गर्दा हेरि नसक्नु थियो । सहायक सर थकानले गर्दा बोल्न पनि सक्नु भएको थिएन ।
“तल गाडि भएको ठाउं सम्म पुग्नको लागि स्ट्रेचर मगाउं सहायक सर ?” माहोल रोमान्टिक बनाउने मैले उहांलाई उद्धेश्यले सोधे । उत्तरमा मसिनो तर थकित मुस्कान मात्र, बोलि पनि निस्केन मुखबाट । उहांको अबस्था देख्दा अत्यन्तै दया लागेर आयो ।
हाम्रो शरीरमा जे जस्तो थकान भएको भए तापनि हामी हाम्रो जिम्मेवार इलाकामा रहेको एउटा कठिन भूगोलसंग साक्षात्कार भएका थियौं । नेपालको उच्च हिमाली भूभागमा रहेको बिश्व प्रसिद्ध स्थान थोरङला पास पुग्ने मौका प्राप्त भएकोमा हामी मनमा खुशीले गदगद थियौं । शारीरिक अबस्थालाई केहि हद सम्म भए पनि सामान्य बनाउने प्रयास गर्दै हामीले केहि बेर सोहि स्थानमै थकान मेट्यौं ।

अघि सम्म थकित देखिने सरहरुको अनुहार अहिले हेर्न लायक बनिसकेको थियो । झोलामा बचेखुचेका खानेकुराहरु सबै सक्यौं हामीले । होटेलबाट तल गाडि भएको स्थान सम्म झर्नलाई पनि करिब २० मिनेट हिड्नु थियो, त्यसैले हिडेर हामी गाडी सम्म पुग्यौ । गाडिमा तल झर्दै गर्दा थोरङला यात्राको क्रममा भएका अबिष्मरणीय कुराहरुको बारेमा गफ गर्दै बेलुका ४ बजे जोमसोम पुग्यौं ।
“पाण्डे सर तोरीको तेलले खुट्टा तथा घुंडा मालिस गरेर सुत्न नभुल्नु होला है” छुटिने बेलामा प्रमोद जी ले भन्नु भएको त्यो बाक्य अहिले पनि मेरो मानसपटलमा ताजै छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com