रेसुंगामा नगरप्रमुख पन्थी र वडाध्यक्षबीच बैठक, संकल्प अक्षरस पालनामा जोड
गुल्मी ।
गुल्मीको रेसुंगा नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख र वडाअध्यक्षहरु बीच बैठक बसेको छ ।
नगरप्रमुख खिलध्वज पन्थी र नगरका १४ वटै वडाका वडाअध्यक्षहरु बीच पन्थीकै कार्यकक्षमा बैठक बसेको हो । बैठकमा पन्थीले आफुहरुले तय गरेको ‘सबल स्थानीय सरकारःसमुन्नत रेसुंगा नगर’ भन्ने नारालाई साकार पार्ने गरी विकास गर्न सबै वडाअध्यक्षहरुलाई निर्देशन दिनुभएको छ। ‘हामी रेसुंगा नगरपालिकालाई सुन्दर र समुन्नत नगरपालिका बनाउने गरि आएका छौं’-यसमा दत्तचित्त हुनुहोला उहाँले भन्नुभयो ।
‘इन्द्रेणीको सात रङ्ग जस्तै विकासका सात सूचकले श्रृङ्गार्न चाहन्छौं ।’ संकल्प पत्रमा जनता समक्ष गरेका संकल्पहरुलाई अक्षरस पालना गर्ने अठोट गरेको स्मरण गर्दै जनता समक्ष गरेका वाचा पूरा गरेरै छाड्ने र यसमा सबै लग्न उहाँले अनुरोध गर्नुभयो।

रेसुङ्गाका उपप्रमुख अमृतादेवी कुँवर, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडाअध्यक्षहरु सहितको संयुक्त बैठकमा मुस्कान सहितको सेवा पुर्याउन निर्देशन दिनुभयो । कुनै पनि आग्रह-पूर्वाग्रह नराखी काम गर्नुपर्ने बताउँदै धेरै सुन्ने थोरै बोल्ने उल्लेख गर्नुभयो । उहाँले आफ्नो कार्यअवधिमा असल जनप्रतिनिधिको चरित्र धारण गरी उदाहरणीय रुपमा प्रस्तुत हुने बताउनुभयो ।
सोही अवसरमा नगरप्रमुख पन्थीले रेसुंगा नगरपालिकाका १४ वटै वडालाई रेसुंगा सर्किट निर्माण गरि पर्यटन पूर्वाधारमा लगानी बढाउने समेत बताउनुभएको छ । कार्यभार समाल्दै नगरप्रमुख पन्थीले रेसुंगा क्षेत्रलाई हिल स्टेशनको रुपमा विकास गर्ने उल्लेख गर्नुभयो ।
उहाँले ग्रीनसिटी तथा स्मार्ट सिटिको अवधारणालाई मूर्तरुप दिने समेत बताउनुभयो । ग्रीनसिटि तथा स्मार्ट सिटिको अवधारणलाई मूर्त रुप दिनका लागि शहरलाई स्वच्छ र हराभरा बनाउन फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने बताउँनुभयो । उहाँले हाल निर्माणधिन भौतिक पूर्वाधारका योजना सम्पन्न गर्दै वडा कार्यालय जोड्ने सडक क्रमशः कालोपत्रे गर्ने बताउनुभयो ।
बैठकमा नवनिर्वाचित वडाअध्यक्षहरुले आ–आफ्नो वडाको वस्तुस्थितिको बारेमा जानकारी गराउनुभएको थियो । सबैले शिक्षालाई प्राथमिकता साथ उठाएका थिए। साथै विपन्न परिवारलाई स्वाथ्य बीमामा जोड्नुपर्ने, विद्युतका पोलहरुलाई व्यवस्थित गर्नुपर्ने लगायतका महत्वपूर्ण विषयमा आ-आफ्नो वडाको वस्तुस्थितिका विषयमा जानकारी गराएका थिए ।