तानसेनकाे श्रीनगर सांस्कृतिक डबली संचालन
पाल्पा ।
तानसेनकाे श्रीनगर सांस्कृतिक डबली संचालनमा आएकाे छ । लुम्विनी प्रदेश सरकारकाे झण्डै ७ कराेड लगानीमा बनेकाे डबली बुधबारदेखि संचालनमा आएकाे हाे ।
डबली संचालन भएकाे घाेषणा तानसेन नगरपालिकाका प्रमुख सन्ताेषलाल श्रेष्ठले गर्नुभयाे । साे अवसरका उहाँले डबली संचालनले तानसेनमा पर्यटक प्रबर्द्धन गर्न सहयाेग पुग्ने विश्वास व्यक्त गर्नुभयाे । २०७६ सालदेखि निर्माण भएकाे डबली तीन वर्षअघि सम्पन्न भएकाे थियाे । डबली बनेपछि ढिला गरी प्रदेश सरकारले तानसेन नपालाई हस्तान्तरण गरेकाे थियाे । तानसेन नगरपालिकाले डबली संचालनमा लागि निजी क्षेत्र तथा संघसंस्थाका लागि प्रस्ताव पेश गर्न भनेपनि कसैले पनि डबली चलाउन रुचि देखाएका थिएनन् ।

१५ महिनापछि नगरपालिका आफैँले डबली संचालन गरेकाे नगर उपप्रमुख प्रतीक्षा सिंजालीगाहाले बताउनुभयाे । डबलीमा पाल्पाका विभिन्न जातजातिका नाच तथा सांस्कृतिक पहिचान झल्कने प्रस्तुती देखाएर पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएकाे छ । सांस्कृतिक डबली निरन्तर संचालन गर्न निजी क्षेत्रसँग सहकार्य गरिने नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बचाउनुभयाे ।