चौथो रामपुर तथा व्यापार मेलाको तयारी तिब्र, ३२ उपसमिति गठन गरि तयारी
स्थानीय उत्पादन प्राथमिकता दिईने
पाल्पा ।
रामपुर उद्योग वाणिज्य संघले चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको लागि ३२ वटा उपसमिति गठन गरि तयारीलाई तिब्र बनाएको छ ।
संघको कार्यालयमा शनिबार पत्रकारसँग छलफल गर्दै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले महोत्सब सफल पार्न सञ्चारकर्मीको भुमिका महत्वपुर्ण हुने भन्दै प्रचारप्रसारलाई तिब्र बनाउन र आबश्यक सल्लाह सुझाब माग्नुभयो ।

आगामी माघ १५ गतेदेखि २७ गते सम्म हुने चौथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेलाको लागि भएका तयारी र अब तयारीलाई अन्तिम रुप दिने गरि सबै उपसमिति अघि बढेको अध्यक्ष ढकालले बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघले गरेको बिगतको महोत्सबले रामपुरको पहिचान गराएको बताउदै उहाँले चौथो संस्करणको महोत्सबमा ठुला लगानीलाई भित्त्रयाउन केन्द्रित रहने बताउनुभयो । कालीगण्डकी उपत्यका कृषि र पर्यटनलाई जोड नदिई यस क्षेत्रको विकास नहुने भन्दै ढकालले कोभिड महामारीबाट बजार चलायमान गराउन यस अघिको महोत्सब केन्दिैत भएकोमा अब कालीगण्डकी करिडोरले विकासमा खाका कोरेकोले अब लगानीमैत्री उपत्यका बनाउन महोत्सब केन्द्रित हुने बताउनुभयो ।
कालीगण्डकीबेशी एक उपत्यका भएकोले यसको समग्र विकासमा सबै जुट्नुपर्ने आबश्यकता रहेको बताउदै उहाँले उपत्यकाको कृषि, स्थानीय उत्पादन, घरेलुु तथा कुटिर उद्योग, पर्यटन प्रवद्र्धन, बिभिन्न समुदायको कला संस्कृतिको प्रबद्र्धन, संघको निर्माणाधिन भवन पूर्णता सहित रामपुर उपत्यकाको संभावना र आबश्यकताका बिच लगानी गर्ने वातावरण बनाउन मेला फलदायी हुने बताउनुभयो ।
चितवनको रामपुर जानिरहेकोलाई पाल्पाको रामपुर चिनाउने काम प्रथम महोत्सबले गरेको हो । बिस्तारै दोस्रो महोत्सबले यहाँको पहिचान बढाउदै लग्यो ढकालले भन्नुभयो–०७६ देखि सिथिल बनेको कोरोनाकालपछि ०७९ मा तेस्रो महोत्सवले यसभेगको बजार र व्यापारीलाई चलायमान गराउन सफल भएको थियो ।
मेलामा रामपुर सहित कालीगण्डकी बेशी क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसारका लागि फोटो प्रद्र्धशनी, सो स्थलमा रंगरोगन, कला संस्कृति बचाइराख्न बिभिन्न स्थानीय मौलिक गीतनाच, हस्तकला, पोषाक सहितको झाँकी, जातिय संस्कृति अनुसारको परिकार, कृषि जन्य उत्पादनको बजारिकरणमा जोड दिइएको छ ।आयोजकले मेलामा स्थानीय उत्पादन, र संघका सदस्य तथा स्थानीय व्यापारी व्यवसायीलाई स्टलमा सहुलियत दिनेछ ।
रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा रामतुलसी माविको खेल मैदानमा हुने मेलामा हुने महोत्सबमा खुल्ला क्लव स्तरीय भलिबल प्रतियोगिता, प्याराग्लाईडिङ्ग, लोकदोहोरी प्रतियोगिता, चौथो रामपुर आइडल सहितका कार्यक्रम हुनेछ । यसपटक अण्डर वाटर फिस टनेलको व्यवस्था हुने जानकारी दिनुभयो ।
मेला व्यवस्थित बनाउन संघका पदाधिकारी सदस्यहरुलाई जिम्मेवारी तोकेर ३२ वटा उपसमिति गठन गरिएको छ । साम्सद र पालिका प्रमुख सल्लाहकार सहित ५२ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । यसपटकको मेला अझ व्यवस्थित र मितव्ययी ढंगबाट चलाउने गरि तयारी भइरहेको छ । मेलाबाट ४ देखि ५ करोड कारोबार गर्ने लक्ष्य संघले लिएको छ ।

रामपुर उद्योग वाणिज्य संघका प्रेस संयोजक बासुदेव ढकालको अध्यक्षतामा सञ्चारकर्मीसँग भएको अन्तरक्रियामा सहभागीहरुलाई नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासंघका निवर्तमान महासचिव कृष्ण प्रसाद पौडेलले गर्नु भएको थियो । संघले महोत्सबको दिन नजिकिदै जादा विभिन्न समिति उपसमिति तथा सरोकारवालासँग चरणबद्ध छलफल तथा अन्तरक्रिया गर्दै आएको छ ।